• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo

नामिबियाले दिएको लक्ष्य अष्ट्रेलियाले १० ओभरमै भेट्टायो



एजेन्सी । टी–२० विश्वकप २०२४ को अभ्यास खेलमा मंगलबार अष्ट्रेलियाले नामिबियालाई ७ विकेटले पराजित गरेको छ । त्यस्तै, बंगलादेश र आयोजक अमेरिकाबीचको खेल भने खराब मौसमका कारण रद्द भएको छ ।

पोर्ट अफ स्पेनमा भएको खेलमा अष्ट्रेलियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ९ विकेट गुमाएर ११९ रन बनाएको थियो । अष्ट्रेलियाले १० ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

अष्ट्रेलियाका लागि डेभिड वार्नर (५४ रन), जसले आईपीएल २०२४ मा खराब फर्मसँग संघर्ष गरिरहेका थिए, उनले एक अविजित अर्धशतक बनाए । अष्ट्रेलियाले अब दोस्रो अभ्यास खेल वेस्ट इन्डिजसँग मे ३० मा खेल्नेछ ।

एक समय नामिबियाको ७५ रनमा अस्ट्रेलियाले ७ खेलाडीलाई प्याभिलियन पठाएको थियो । त्यसपछि ८ नम्बरमा ब्याटिङ गर्न आएका विकेटकिपर ब्याट्सम्यान जेन ग्रीनले ३८ रनको इनिङ खेल्दै नामिबियालाई एक सय रनभन्दा माथि पुर्याएका थिए ।

जेन ग्रीनसँगै नम्बर ९ ब्याट्सम्यान मालन क्रुगर (१८) र १० नम्बर ब्याट्सम्यान देविज भिजे (१२) ले योगदान दिए । अष्ट्रेलियाका लागि एडम जाम्पाले सर्वाधिक ३ विकेट लिए । जोस हेजलवुडले २ विकेट लिए । टिम डेभिड र नाथन एलिसले एक–एक विकेट लिए । क्रुजर र भिजे रन आउट भए ।

१२० रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले राम्रो सुरुवात गरेको थियो । कप्तान मिचेल मार्स र डेभिड वार्नरले पहिलो विकेटका लागि ३९ रनको साझेदारी गरे । मिचेल मार्स १८ रन बनाएर आउट भए भने जोस इंग्लिस ५ रन बनाएर आउट भए । यसपछि वार्नर र टिम डेभिडले ४६ रनको साझेदारी गर्दै आफ्नो टोलीलाई जितको नजिक पुर्याएका थिए ।

डेभिड (२३) आउट भएपछि वार्नर र म्याथ्यु वेड (१२) ले आफ्नो टोलीलाई जित दिलाए । वार्नरले २० बलमा आफ्नो अर्धशतक पूरा गरे ।

यस वर्षको टी–२० विश्वकप जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । जुन २९ सम्म चल्ने प्रतियोगिता अष्ट्रेलियाले जुन ६ मा ओमानसँग आफ्नो पहिलो खेल खेल्नेछ । जुन ८ मा टोलीले इंग्ल्याण्डसँग खेल्नेछ भने जुन १२ र १६ मा नामिबिया र स्कटल्याण्डसँग खेल्नेछ ।