काठमाडौं । महर्षि धनञ्जयगोत्री समाज नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको दोस्रो स्थापना दिवस तथा धनञ्जय गोत्रीय राष्ट्रिय भेलाले धनञ्जयगोत्रीहरुको इतिहास उत्पत्ती आदिका विषयमा थप खोज तथा अनुसन्धान अगाडि बढाउने निर्णय गरेको छ ।
भेलामा नेपालमा धनञ्जय गोत्रका ४५ धरहरु रहेको र भारतका विभिन्न स्थानमा ५४ थर रहेको जानकारी दिदै हाल सो समाजमा १९ थरका प्रतिनिधि सहभागी रहेको र अन्य थरका व्यक्तिलाई पनि क्रमशः अवद्ध गर्दै लगिने जानकारी गराइयो ।
सहभागीहरुले विभिन्न पेशा वा बासस्थान आदिका कारण एउटै गोत्रभित्र धेरै थरहरु भए पनि आफ्ना आदिम पुर्खाहरु एउटै परिवारबाट आएका भएकाले त्यसको बारेमा खोज र अनुसन्धान गरी नयाँ पुस्ताहरुलाई ज्ञानहस्तान्तरण गर्नु पर्ने कुरामा जोड दिएका थिए ।
समाजका सयोजक नेपाल सरकारका पूर्व सचिव युवराज भुषालको सभापत्विमा सम्पन्न भेलाले समाजलाई आगमी दिनमा कसरी थप व्यबस्थित र चुस्त बनाउने भन्ने विषयमा कार्ययोजना पारित गर्दै वर्षमा कम्तिमा एक पटक बन्धुहरुको भेला आयोजना गर्ने निर्णय गरेको छ ।
देशका विभिन्न जिल्लाबाट आउनु भएका प्रतिनिधिहरुले धनञ्जय गोत्र भित्रका विभिन्न थरसँग सम्बिन्धित समाजका प्रतिनिधिहरुले कतिपयको बंशावली तयार भई सकेको र केहीको तयारीको क्रममा रहेको जानकारी गराएका थिए । सो अवसरमा महर्षि धनञ्जय गोत्रीय बंशको चिनारी नामक पुस्तकको विमोचन गरिएको थियो ।