१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट

स्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार

स्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार
अ अ+ अ-

फुङ्लिङ । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण गर्ने चर्चा चलेको वर्षौं भए पनि निर्माण सुरु नभएपछि यो परियोजना स्थानीयको एजेण्डा बन्न पुगेको छ । मन्दिरको ऐतिहासिकतासँग जोडेर यहाँका केही स्थानीयले केबलकार निर्माणमा अवरोध गरेपछि यहाँका राजनीतिक दल, स्थानीय सरकार, जनप्रतिनिधि, नागरिक समाज तथा ताप्लेजुङ र वरपरका विभिन्न संघसंस्थाले निर्माण तत्कालै थाल्न दबाब सिर्जना गर्न थालेका हुन् ।

केबलकार निर्माण सुरु गर्नुपर्ने मागगर्दै पछिल्लो समय जिल्लाका राजनीतिक दल र जनप्रतिनिधिहरु जनमत निर्माण गर्न लागिपरेका छन् । साथै यहाँको नागरिक समाजले केबलकार निर्माणका लागि दबाब दिँदै ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा जनप्रदर्शनसमेत गरेको छ । निर्माणको काम चाँडै सुरु गर्न दबाब सिर्जना गर्र्दै नागरिक समाजका तर्फबाट पाँच सय एक सदस्यीय दबाब समूह पनि निर्माण गरिएको छ ।

उता स्थानीयहरुकै पहलमा पदम चेञ्जी मावो लिम्बु संयोजक र प्रकाश मादेन लिम्बु सहसंयोजक रहेको केबलकार निर्माण सहयोग समिति गठन गरी नागरिक समाजका तर्फबाट पनि निर्माणको काम चाँडै सुरु गर्न दबाब दिन थालिएको छ । केबलकार निर्माणपश्चात् जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुने, रोजगारी सिर्जना हुने तथा स्थानीय उत्पादनले बजार पाइ जिल्लाको अर्थतन्त्र चलायमान हुने भएकाले यस बृहत् परियोजनालाई जिल्लामा स्वागत गर्नुपर्ने भन्दै यहाँका प्राय: सबै राजनीतिक दल तथा निजी क्षेत्रका सङ्घसंस्था आ–आफ्ना बैठक तथा विज्ञप्तिमार्फत आह्वान गरिरहेका छन् ।

ताप्लेजुङका निजी क्षेत्रका व्यावसायिक संघसंस्थाहरु नेपाल उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी सङ्घ र निर्माण व्यवसायी सङ्घ ताप्लेजुङले सयुक्त प्रेस विज्ञप्ति प्रकाशित गर्दै पाथीभरामा केबलकार निर्माण गर्न सबैले सहजीकरण गर्नुपर्ने धारणा सार्वजनिक गरिसकेका छन् ।

प्रेस विज्ञप्ति उल्लेख गरिएको छ, “विगत केही वर्षदेखि पाथीभरा मुकुम्लुङको धार्मिक पर्यटनका कारणले पनि ताप्लेजुङको अर्थतन्त्र चलायमान हुन थालेको हामीले प्रत्यक्षरुपमा अनुभूत गरेका छौँ, त्यसैले निर्माणको काम जतिसक्दो चाँडो अघि बढाउनुपर्छ ।” अहिले पाथीभरा मुकुम्लुङमा बर्सेनि करिब तीन लाखभन्दा बढी भक्तजन आउने गरेका छन् । यहाँ केबलकार निर्माण गर्न सकिएमा यहाँ बर्सेनि १२ लाखभन्दा बढी पर्यटक आउने अनुमान गरिएको छ ।

जिल्लाको पर्यटन प्रवर्द्धनमा अझ फराकिलो आयाम थप हुने, थप नयाँ पर्यटकीय क्षेत्रहरुको विकास र प्रवर्द्धनमा सहयोगी हुने निश्चित रहेको निजी क्षेत्रले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् । यस्ता गौरवको योजनामा सबै पक्ष जिम्मेवार भई सहजीकरण गर्नुपर्ने र शान्ति सुरक्षाको प्रत्याभूतिसहित वार्ता तथा संवादको माध्यमबाट राज्यको तर्फबाट लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने निजी क्षेत्रको बुझाइ छ ।

त्यसैगरी जिल्ला समन्वय समितिले पनि केबलकार निर्माण सहजीकरण समिति गठन गरी परियोजना सहजीकरण समिति गठन गरेको छ । सो समितिको पटक–पटक बसेको बैठकले केबलकार तत्काल निर्माण अगाडि बढाउन पनि माग गरिरहेको छ । साथै सो निर्णयको छायाँकपीसहित गत फागुन ४ गते जिल्ला समन्वय समिति ताप्लेजुङले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेश र कोशी प्रदेशको आन्तिरिक मामिला तथा कानुन मन्त्रालयमा दर्ता गराइसकेको छ ।

निजी तथा सरकारी लगानी भित्र्याई जिल्लालाई समृद्ध बनाउन सबै जिल्लावासी एक भएर लाग्न आश्यक रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टी(एमाले) ताप्लेजुङले प्रेस विज्ञप्ति सार्वजनिक गरी विकासका परियोजनालाई निर्वाधरुपमा सञ्चालन गर्न तथा यसका लागि शान्तिसुरक्षा कायम गर्न समेत माग गरेको छ ।

यही वैशाख २५ गते नेपाल कम्यनिष्ट पार्टी (माओवादी केन्द्र) ताप्लेजुङले पाथीभरामा केबलकार बन्नु उपयुक्त रहेको धारणा सार्वजनिक गरेको छ । माओवादी केन्द्रले पाथीभरामा केबलकार बन्ने विषयमा विवाद गर्नु नहुने बताइसकेको छ । निर्माणका क्रममा रहेको केबलकारले पाथीभरा मन्दिरलाई कुनै असर नपर्ने तथा तीर्थयात्रीलाई सहजता हुने भएकाले केबलकार निर्माणका लागि आफ्नो पार्टीको समर्थन रहेको माओवादी केन्द्र ताप्लेजुङका संंयोजक विष्णुकुमार लिम्बु र सचिव सागरमणि गौतमद्वारा हस्ताक्षरित वक्तव्यमा उल्लेख  छ ।

ताप्लेजुङमा केबलकार निर्माण हुनु जिल्लावासीको समृद्धि र यहाँको पहिचानसँग जोडिएको भन्दै पाथीभराको मुख्य पूजाधामबाट एक किलोमिटर तलै केबलकार निर्माण गर्दा कुनै समस्या नरहेको याक्थुङ चुम्लुङ नेपालका अध्यक्ष पदम चेन्जी माबो र सचिव पेली माबोहाङले गत चैत १७ गते आफ्ना धारणा सावर्जनिक गर्नुभएको थियो ।

त्यस्तै स्थानीयको प्रत्यक्ष सहभागिता, रोजगारीमा प्राथमिकताका साथै स्थानीयवासीको शेयर लगानी जस्ता विषय सुनिश्चित गरेर केबलकार कम्पनीले निर्माण अगाडि बढाउनुपर्ने पनि याक्थुङ चुम्लुङ नेपाल झापाले जनाएको छ ।

गत चैत १६ गते पाँचथर उद्योग वाणिज्य सङ्घले केवलकार निर्माण पक्षमा ऐक्यबद्धता जनाएको छ । सो सङ्घले केबलकारजस्तो बृहत् आयोजनालाई स्थानीयले स्वागत गरेर जिल्लामा भित्र्याउनुपर्नेमा जोड दिएको छ ।

निर्माण सुरु भएपछि त्यसको १३ महिनाभित्रै परियोजना सम्पन्न गर्ने भन्दै निर्माण कम्पनीले प्रशासनिक तथा अन्य कामहरु सकेको भए पनि निर्माण प्रक्रियाबारे केही स्थानीयले विरोध गरेका कारण केबलकार परियोजना अघि बढ्न सकेको छैन ।

पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकाल भने आफूहरु निर्माणको सुरुआतको पर्खाइमा रहेको र अब छिट्टै सुरु हुने बताउनुभयो । “अहिले पाथीभरामा केबलकार निर्माण गर्न सहज वातावरण बन्दै गएको छ । स्थानीय जनताले पनि निकै लामो समय भयो, हामीलाई केबलकार सपनामात्र हुने भयो निर्माणको काम थालिहाल्नुपर्यो भनेर दबाब नै दिनुभएको छ, त्यसैले निर्माणको काम छिट्टै नै सुरु गर्नेछौँ”, अध्यक्ष ढकालले भन्नुभया, “हामीसँग अनुभव छ, हामीले विभिन्न ठाउँमा केबलकार सञ्चालन गरेका पनि छौँ, त्यसैले निर्माण सुरु गर्यौँ भने हामीले पहिले भनेजस्तै १३ महिनामै सम्पन्न गरिसक्नेछौँ ।”

स्थानीयलाई रोजगारीसँगै यहाँको आर्थिक गतिविधि, पर्यटन विकासलगायतमा परियोजनाले ठूलो सहयोग पुग्ने भएकाले स्थानीयले उठाएका मागबारे बसेर समझदारी गर्न सकिने उहाँको भनाइ थियो ।

कम्पनीले स्थानीयलाई पनि शेयर प्राप्त दिने ढाँचामा यसको विकास गरिरहेको छ । यसबाट सिङ्गो प्रदेश सरकार, स्थानीय सरकार र नागरिकलाई प्रत्यक्ष लाभ हुने मोडलबाट केबलकार निर्माण गर्न लागिएको कम्पनीले जनाएको छ ।

कम्पनीका इञ्जिनियर विजय पौडेलका अनुसार काफ्लेपाटी डढेले छेउ मुख्य स्टेसन रहने केबलकारको डिजाइनअनुसार त्यहाँबाट करिब दुई हजार सात सय मिटर उचाइमा रहेको पाथीभरा क्षेत्रसम्म पुग्न सकिनेछ । मन्दिर आसपास कुनै संरचना नरहने र अहिलेको पदमार्ग हुँदै पाथीभरा मन्दिर प्रवेशद्वारबाटै तीर्थालु तथा दर्शनार्थी जान सकिने गरी केबलकार निर्माणको डिजाइन तयार भएको पौडेलले बताउनुभयो ।

मुख्य स्टेसनबाट १० मिनेटमा केबलकारको अन्तिम स्टेसन पुग्न सकिने कम्पनीले जनाएको छ । केबलकारका लागि १३ वटा टावर निर्माण हुने पौडेलले बताउनुभयो । सो केबलकारमा ४५ वटा गोन्डुला रहने कम्पनीले जनाएको छ । केबलकार परियोजनाको विरोध गरिरहेको मुक्कुमलुङ संयुक्त सङ्घर्ष समितिले भने केबलकार निर्माण गर्न नहुने बताउँदै आएको छ ।

समितिका संयोजक लिङ्खिमले लिम्बु समुदायको आस्था र ऐतिहासिकताको ख्याल गरेरमात्र परियोजना अघि बढाउनुपर्ने बताउनुहुन्छ । तर निर्माण कम्पनीले भने स्थानीयसँग बसेर सबै विषयमा छलफल गरी सहमतिका साथ अघि बढ्न सकिने बताउँदै आएको छ ।

काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्म केवलकार निर्माणका लागि सरकारले अनुमति दिएको छ । पाथीभरा मन्दिर तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको छ । केबलकार निर्माण गर्न रु चार अर्बभन्दा बढी लाग्ने कम्पनीले जनाएको छ । रासस