१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट

भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा

भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा
अ अ+ अ-

ढोरपाटन । बागलुङको उच्च पहाडी क्षेत्रमा पर्ने रमुवा गाउँ आलुखेतीका लागि प्रख्यात छ । गलकोट नगरपालिका–१० मा पर्ने यस गाउँमा आलु र भाँगोबाहेक अन्य बाली निकै कम लाग्ने भएकाले गाउँका सबै आलुखेतीमा व्यस्त छन् ।

आलुखेतीबाटै उक्त गाउँका स्थानीयले जीविकोपार्जन गर्दै आएका छन् । भौगोलिक विकटताका कारण आलु बजारसम्म पुर्याउन पनि समस्या छ । उत्पादन भएको आलुलाई बजारीकरण गर्न सडक स्तरोन्नति हुनुपर्ने स्थानीयको माग छ । आलु र भाँगो एकै ठाउँमा उत्पादन गर्न सकिने हुँदा किसानले बढी लाभ लिएका छन् । दुर्गम गाउँ भए पनि रमुवामा २०६५ मा स्थानीयको लगानीमा सडक निर्माण भएको थियो । उक्त सडक हालसम्म पनि स्तरोन्नति हुनसकेको छैन । बजार क्षेत्रमा रासायनिक मल प्रयोग गरी उन्नत जातका आलुको उत्पादन हुने गरे पनि रमुवाका किसानले रैथाने जातका आलुखेतीमा प्राङ्गारिक मल प्रयोग गर्दै आएका छन् । पशुपालन र आलुखेती यहाँका स्थानीयको मुख्य पेसा हो । प्राङ्गारिक मलका कारण एकै परिवारले वार्षिक तीन हजारदेखि पाँच हजार क्विन्टलसम्म आलु उत्पादन गर्छन् ।

रमुवामा हरेक वर्ष ४० देखि ५० हजार क्विन्टल आलु उत्पादन हुने गरेको छ । यो गाउँमा करिब एक सय ३० परिवार स्थायी रूपमा बसोबास गर्दै आएका छन् । त्यसमध्ये अधिकांशले भेडाबाख्रा र गाईभैँसीपालन गर्ने हुँदा मलको कुनै समस्या छैन । गाउँमा खाद्यबाली उत्पादन कम हुँदा वर्षभरि खान पुग्दैन । त्यसले गर्दा भाँगो र आलुसँग चामल साटेर गुजारा चलाउनुपर्ने स्थिति छ । पालिकाको केन्द्र गलकोटसम्म पुग्ने सडक स्तरोन्नति भए आलु बजारीकरणमा कुनै समस्या नहुने गलकोट नगरपालिका–१० रमुवाका स्थानीयसमेत रहनुभएका पूर्वअध्यक्ष तिलक घर्तीमगरले बताउनुभयो ।

रमुवामा उत्पादन हुने आलु गलकोट, बागलुङ, पोखरा, काठमाडौँ, चितवनलगायतका ठाउँमा पुग्ने गर्छ । वर्षौँ पहिलेदेखि नै यहाँका नागरिक आलुखेतीमा लाग्दै आएका हुन् । समुद्री सतहबाट दुई हजार दुई सय मिटरभन्दा माथिको उचाइमा रहेको रमुवामा धान, गहुँ भने उत्पादन हुँदैन । प्रविधिको विकास भए पनि आफूहरूले परम्परागत रूपमा प्राङ्गारिक आलु उत्पादन गर्ने स्थानीय दिव्या रानाले बताउनुभयो । हरेक वर्ष एकै परिवार ५० देखि १०० मुरीसम्म आलु फलाउने उहाँले बताउनुभयो । आलु फल्ने समयमा कुनै पनि रोगको प्रकोप नदेखिए हरेक वर्ष उत्पादन वृद्धि हुने राना बताउनुहुन्छ । आलुखेतीबाटै परिवारको लालनपाल, पढाइलेखाइदेखि जीविका चलाउने गरेको उहाँले सुनाउनुभयो ।

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले रमुवालाई आलु पकेट क्षेत्र घोषणा गरेर उत्पादन वृद्धिमा लागेको राससलाई बताउनुभयो । यहाँका किसानलाई आलुखेतीतर्फ अझ प्रोत्साहन गर्न कृषिसम्बन्धी तालिम, आवश्यक प्राविधिक सहयोग गर्दै आएको उहाँले बतानुभयो । अब नगरपालिकाले उत्पादनका आधारमा किसानलाई अनुदान दिने नीति रहेको उहाँले जानकारी दिनुभयो । हाल सडक कच्ची भए पनि किसानलाई बजारसम्म आलु पुर्‍याउन समस्या नभएको बताउँदै उहाँले उत्पादित आलुले बजार नपाए पालिकाले नै जिम्मा लिने स्पष्ट गर्नुभयो । किसानलाई प्रविधिसँग जोडेर उत्पादन बढाउनेतर्फ पालिका लागेको उहाँले बताउनुभयो । आलुलाई ‘ब्राण्डिङ’ गर्ने पालिकाको योजना पनि उहाँले सुनाउनुभयो ।

प्रवक्ता भण्डारीले भन्नुभयो, “रमुवा आलु उत्पादनका लागि उर्वर भूमि हो, पछिल्लो समय विषादी प्रयोग गरेको आलु बजारमा आइरहेको बेला यहाँका किसानले त्यस्तो मल प्रयोग नगरी उत्पादन गर्छन्, जैविक आलुको बजार पनि राम्रो छ, किसानले बजार पाएन भनेर गुनासो गर्नुभएको छैन, उहाँहरूले उत्पादन गरेको आलु बिक्री नभए नगरपालिकाले त्यसको जिम्मा लिन्छ र किसानलाई उचित मूल्यको व्यवस्था गर्छ, सिङ्गो गाउँ नै आलुखेतीमा लाग्दा उत्पादन हरेक वर्ष बढेको छ, नगरपालिकाले समय–समयमा किसानलाई प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।” रासस