१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिस कोर स्वयंसेवकको २०९औँ समूहद्वारा शपथ ग्रहण



अ+ अ-

काठमाडौँ – पिस कोरका २२ स्वयंसेवकहरूले नेपालमा आफ्नो दुई वर्षीय सेवाको प्रारम्भमा आज अमेरिकी राजदूत डिन आर. थम्पसन र पिस कोर-नेपालका देशीय निर्देशक ट्रोइ कफ्रथबाट शपथ ग्रहण गरेका छन् ।

यससँगै यी नयाँ स्वयंसेवकहरू नेपालमा काम गरिसकेका झन्डै ४ हजार पिस कोर स्वयंसेवकहरूको सङ्ख्यामा जोडिएका छन् । सन् १९६२ यता नेपाल आएका अमेरिकी स्वयंसेवकहरूको यो २०९औँ समूह हो । नेपाली र अमेरिकी सरकारबिच सन् १९६२ मा नेपालमा पिस कोर कार्यक्रमको स्थापना गर्ने सहमतिमा हस्ताक्षर भएको थियो ।

कार्यक्रममा बोल्दै राजदूत थम्पसनले भन्नुभयो, “सन् १९६१ मा पिस कोर कार्यक्रमको स्थापना हुँदा राष्ट्रपति केनेडीले भन्नुभएको थियो, ‘स्वयंसेवक पुरुष र महिलाहरूले आफूलाई खटाइएको देशका नागरिकहरूसँगै काम गर्नेछन् र उनीहरूसँगै बस्नेछन् अनि उनीहरूले गरेकै काम गर्नेछन्, उनीहरूले खाएकै खाना खानेछन्, उनीहरूले बोलेकै भाषा बोल्नेछन् भन्ने अपेक्षा गरिन्छ ।’  यो कुरा त्यस बेला पनि सत्य थियो र अहिले पनि उस्तै छ । पिस कोरका स्वयंसेवकहरू नेपाली आतिथेय परिवारसँग बस्छन्, उनीहरू र समुदायका अन्य सदस्यसँगै खाना खान्छन्, नेपाली भाषा सिक्छन् र प्रयोग गर्छन् अनि तलबको साटो थोरै भत्तामा काम गर्छन् ।”

गत माघ महिनामा नेपाल आइपुगेका यी २२ जना पिस कोर स्वयंसेवकले आफ्नो सेवाको तयारी स्वरूप काभ्रे जिल्लामा ११ हप्‍ता लामो सघन भाषिक, अन्तरसांस्कृतिक तथा प्राविधिक प्रशिक्षण पूरा गरेका छन् ।

स्वयंसेवकहरूलाई गण्डकी तथा बागमती प्रदेशका पाँच जिल्लामा खटाइएको छ, जहाँ उनीहरूले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँगको समन्वयमा सरकारी विद्यालयहरूमा अङ्ग्रेजी पढाउनुका साथै खाद्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी परियोजनाहरूमा काम गर्नेछन् । यस नयाँ समूहसँगै नेपालका सात जिल्लामा कार्यरत पिस कोर स्वयंसेवकहरूको सङ्ख्या ४० पुगेको छ ।