२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाममा ‘अन्तु पर्यटन महोत्सव’



अ+ अ-

इलाम । स्थानीय उत्पादन र मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले इलामको सूर्योदय नगरपालिका–४ स्थित श्रीअन्तुमा पर्यटन महोत्सव हुने भएको छ । नयाँ वर्षका अवसरमा यही चैत २८ गतेदेखि आगामी वैशाख १ सम्म ‘अन्तु पर्यटन महोत्सव–२०८१’ को आयोजना हुने भएको हो ।

“हाम्रा रैथाने उत्पादन र मौलिक संस्कृतिको प्रदर्शन गरेर आगन्तुक पर्यटकलाई चिनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो”, उपप्रमुख एवं महोत्सव मूल आयोजक समितिका संयोजक दुर्गाकुमार बरालले भन्नुभयो, “कलाकारहरुको सांस्कृतिक प्रस्तुतिका साथै विभिन्न जातजातिका मौलिक नृत्य, झाँकी प्रदर्शन हुन्छन् । स्थानीय तथा मौलिक खाद्य परिकारसहित स्थानीय हस्तकलाको स्टल राख्नेछौँ ।”

महोत्सवमा यम बराल, भूपेन्द्र राई, पुजन प्रधान, गणेश पराजुली, यशोदा पराजुली, फुटी शेर्पा, रवि रिमाललगायत कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । लागुपदार्थ दुव्र्यसनी, मदिरा तथा सुर्तीजन्य वस्तुको नियमन, नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी सन्देशमूलक सचेतना कार्यक्रम पनि गरिने बरालले बताउनुभयो ।

“युवाशक्ति लागुपदार्थको सेवन र दुव्र्यसनीमा फस्दै गएका छन् । मदिरा तथा सुर्तीजन्य वस्तुको नियमन र नियन्त्रणमा चुनौती थपिँदैछ”, बरालले भन्नुभयो, “यस्ता कुराको नियन्त्रण सन्देशमूलक सचेतनाबाट मात्र सम्भव छ । सचेतनामा लागि र्‍याली आयोजना गर्नेछौँ । महोत्सवको उद्देश्य स्थानीय कला, संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै युवालाई कुलतमा फस्नबाट रोक्नु पनि हो ।”

महोत्सवका अवसरमा ‘दोस्रो सूर्योदय आइडलको ग्रान्ड फिनाले’ समेत गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले बताउनुभयो । “प्रतियोगितामा अन्तिम आठ प्रतियोगी हुनुहुन्छ”, उहाँले भन्नुभयो, “उहाँहरुको प्रस्तुति तथा विजेता घोषणा कार्यक्रम महोत्सवमै गर्नेछौँ ।”

चैत २८ गते बृहत् नगर सरसफाइ कार्यक्रम राखिएको भन्दै अन्तु परिसरलाई सुन्दर बनाउँदै पर्यटकको आकर्षक केन्द्रका रुपमा प्रवर्द्धन गरिने भट्टराईले बताउनुभयो । “चैत ३० गते सूर्योदय आइडलको प्रस्तुति, विभिन्न खाद्यपरिकारका स्टल, साँझमा दिपावली र डिजे सेसनका कार्यक्रम रहेका छन्”, उहाँले भन्नुभयो ।

नयाँ वर्षको पहिलो दिन बिहानै पर्यटकलाई सूर्योदयको दृश्यावलोकन गराएर शुभकामना आदानप्रदान गर्नुका साथै कार्यक्रमको उद्घाटन गर्ने आयोजकको तयारी छ । “स्टलहरु राखिएकै हुन्छन् । पर्यटकले अवलोकन तथा किनमेल गर्छन्, फोटो खिच्ने भिडियो बनाउने गर्छन् । सांस्कृतिक कार्यक्रममा सहभागी भएर यहाँको कला, संस्कृतिलाई नजिकबाट बुझ्नेछन्” नगरपालिकाका प्रवक्ता ख्यामबहादुर भुजेलले भन्नुभयो, “समापनको दिन सूर्योदय आइडल विजेता घोषणा तथा पुरस्कार वितरण गर्नेछौँ । कलाकारको प्रस्तुतिमा आगामी वैशाख १ गते अन्तु सङ्गीतमय बन्नेछ ।”

महोत्सव आयोजना गर्न रू १० लाख खर्च हुने अनुमान आयोजकले गरेको छ । महोत्सव अधिभर करिब दश हजार पर्यटक भित्रिने अपेक्षा राखिएको प्रवक्ता भुजेलले बताउनुभयो ।

शुक्रबार र शनिबार अन्तुमा पर्यटक सङ्ख्या अन्य दिनको तुलनामा बढी हुने गरेको छ । नयाँ वर्षको अवसर परेर महोत्सव गर्दा दशौँ हजार पर्यटकलाई यहाँको रैथाने उत्पादन, कला, संस्कृति र सभ्यता चिनाउन सकिन्छ”, नगरपालिकाका योजना अधिकृत खेम राईले भन्नुभयो, “रू दश लाखमा महोत्सव सकिने अनुमान गरेका छौँ । करिब १० हजार पर्यटक महोत्सवमा सहभागी हुने अपेक्षा लिएका छौँ ।” रासस