हुनत यो रक्तचाप (प्रेसर) बढ्ने नै बेला हो । प्रधानमन्त्री केपी ओली ६९ वर्ष पुग्नुभयो अनि माधव नेपाल ६८ । सामान्यतया साठी काटेपछि प्रेसर जचाएकै राम्रो । त्यसैले यो उमेरमा खासमा प्रेसर नै बढी जचाउने पनि गरिन्छ ।
तर अहिले उमेरले होइन, उहाँहरुको प्रेसको कारण अर्कै छ । राजनीतिको प्रेसर । सायद यसैकारण उहाँहरुलाई झर्काे लाग्ने, चिटचिटाहट हुने, बढी बोल्ने, बोल्न नदिने या अरु केही भएको होला, हुन सक्छ ।
यतिखेरको राजनीतिक पारो भने अदालतका पछिल्ला दुई फैसलाले निकै बढाएको छ । सायद हिजोभन्दा आज र भोलिभन्दा पर्सी यो बढ्दैछ । झण्डै तीन वर्षदेखि एउटै रहेको नेकपा अहिले आआफ्नै गुँडमा फर्किएको छ । त्यस समयदेखिका सारा पार्टी र सरकारका गठबन्धनहरु सबै छिन्नभिन्न भएका छन् । अनि प्रेसर नबढेर के गरोस् त ?
तर यो तस्विर भने प्रेसर बढेका बेला नलिएको पनि हुनसक्छ । अनि यो अहिलेको पनि होइन । कतैबाट प्राप्त भएको । विषय वा प्रसंगले अर्काे अर्थ नलागेमा हामीले उहाँहरुको शरीर यतिबेला प्रेसर बढेर पक्का पनि तातेको होला भन्ने अनुमान गरेर यहाँ राखेका हौँ ।
यसको अर्काे कुनै मक्सद होइन । तस्विरमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्माा ओलीले एमालेका वरिष्ठ नेता माधव नेपालको प्रेसर लिँदै हुनुहुन्छ । त्यस समय प्रेसर बढे नबढेको स्वास्थ्य जाँच रिपोर्ट भने यहाँ प्रस्तुत गर्न सकेनौँ । तर तस्बिर भने हामीलाई निकै आकर्षक लागेर यहाँ प्रस्तुत गरेका छौँ ।
अहिलेको समय र परिस्थिति हेर्दा प्रेसर चाहिं माधव नेपाललाई नै बढेको अनुमान गर्न सकिन्छ । त्यसैले यो तस्विरको सान्दर्भिकता मनन गरेर यहाँ प्रस्तुत गरेका छौँ ।











