४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

चिसो बढेसँगै सगरमाथा क्षेत्रमा घटे पर्यटक

चिसो बढेसँगै सगरमाथा क्षेत्रमा घटे पर्यटक
अ+ अ-

सल्लेरी । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङका फुडोमा शेर्पालाई यस वर्षको हिउँद निकै सुनसान लागेको छ । विगत वर्षका चिसो मौसममा पर्यटकको चहलपहल सामान्य भएकामा यस वर्षको हिउँद सुनसानजस्तै बनेको उहाँको अनुभव छ । उहाँले भन्नुभयो, “पोहोर त पुसमै पनि अहिलेभन्दा अलि बढी पर्यटक आएका थिए, यस वर्षको हिउँदमा त धेरै आएनन्, खै किन हो यहाँ यस वर्ष खासै रमाइलो छैन ।”

सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चे सोलुखुम्बुको तथ्याङ्कअनुसार यस वर्षको गत पुसमा सगरमाथा क्षेत्र भ्रमण गर्नेको सङ्ख्या ३० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको पुसमा एक हजार नौ सय २० जना सगरमाथा क्षेत्र भ्रमणका लागि खुम्बु पुगेका थिए । यस वर्ष एक हजार तीन सय २९ जनाले मात्रै सगरमाथा क्षेत्रको भ्रमण गरेका निकुञ्जको कार्यालयका सूचना अधिकारी संरक्षण अधिकृत मनोजकुमार मण्डलले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष पुसमा चार सय ५५ जना नेपाली र एक हजार चार सय ६५ विदेशी नागरिक भ्रमणका लागि खुम्बु पुगेका थिए । यस वर्षको सोही अवधिमा एक सय २० नेपाली र एक हजार दुई सय नौ विदेशी खुम्बु पुगेका कार्यालयको तथ्याङ्क छ ।

विदेशी तथा स्वदेशी पर्यटकको अत्यधिक चाप हुने सर्वोच्च शिखर सगरमाथा अवस्थित सोलुखुम्बुको खुम्बुक्षेत्र चिसो बढेसँगै एक्लिएको छ । यस क्षेत्रमा यतिखेर चिसो अत्यधिक रहेकाले पर्यटक आवागमन न्यून भएसँगै सुनसान बनेको निकुञ्जले जनाएको छ । यहाँ वर्षको छ महिना पर्यटकीय याम हुने र छ महिना बेमौसम हुने गर्दछ । गत फागुन १५ देखि जेठ १५ गतेसम्म र असोज, कात्तिक, मङ्सिरलाई मुख्य पर्यटकीय याम मानिन्छ भने त्यसबाहेकका समयलाई बेमौसम मानिन्छ । याममा दैनिक नौ सयदेखि एक हजारसम्म पर्यटक प्रवेश हुने खुम्बु क्षेत्रमा अहिले मुस्किलले पाँच–सातजना पर्यटकमात्रै भ्रमणका लागि आउने गरेको निकुञ्ज कार्यालय नाम्चे सोलुखुम्बुका सूचना अधिकारी मण्डलले जानकारी दिनुभयो ।

विदेशी तथा स्वदेशी पर्यटकको आर्कषण अधिक हुँदा भ्याइनभ्याई हुने यहाँका पर्यटन व्यवसायीसमेत यतिखेर फुर्सदिला बनेको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का अध्यक्ष लक्ष्मण अधिकारीले बताउनुभयो । यसका कारण पर्यटकीयस्थलका होटल पसलमा ताला लागेको नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । स्थानीय बासिन्दासमेत चिसो छल्न अन्यन्त्र जाँदा खुम्बु सुनसान बनेको उहाँको भनाइ छ । उच्च हिमाली क्षेत्र खुम्बुका नागरिकको मुख्य आम्दानीको स्रोत भनेकै पर्यटन व्यवसाय हो । यहाँ अन्य अन्नबाली उब्जाउ नहुने भएकाले सिजनमा पर्यटन व्यवसाय गर्ने र अफसिजनमा घुमफिर तथा रमाइलो गर्ने यहाँका नागरिकको बाध्यता हो ।

इलाका प्रशासन कार्यालय नाम्चेका प्रमुख सुजनकुमारी बर्देवाका अनुसार सिजनमा पर्यटकले भरिभराउ हुने लुक्ला, नाम्चे, खुम्जुङलगायतका क्षेत्र पनि चिसो सुरु भएसँगै प्रायः सुनसान छन् । यो समयमा आफ्नो कार्यालयमा सेवाग्र्राही नगन्य मात्रामा आउने गरेको उहाँको भनाइ छ । यहाँ प्रायःजसो चिसो भइरहन्छ । अरु समयमा भन्दा पुस, माघमा झन् धेरै चिसो हुनेहुँदा यहाँका मानिस जाडो छल्न बेँसी झर्ने गर्दछन् । मानिस चिसो छल्न मङ्सिर पहिलो साताबाटै काठमाडौँ, भारतको बोधगयालगायत नेपालका विभिन्न क्षेत्रमा जाने गरेको खुम्जुङ माध्यमिक विद्यालयका शिक्षक तिलक विश्वकर्माले बताउनुभयो । खुम्बुमा मङ्सिरदेखि सुरु भएको अत्यधिक चिसो करिब फागुनसम्म जारी रहने भएकाले चिसो छल्नका लागि उनीहरू बाहिर जाने गरेका हुन् ।

गोरक्सेप, लबुचे, गोक्यो, छुकुङ, जोङ्ला, ठाङ्नाक एवं थामेलगायतका बासिन्दाले पर्यटन सिजन सकिनासाथ कात्तिक अन्तिम सातातिरबाटै खुम्बु छाडिसकेका छन् भने त्यसभन्दा तलका बस्ती खुम्जुङ, नाम्चे, लुक्लालगायतका स्थानीय मङ््सिरको पहिलो सातातिर बाहिर जाने गरेको लुक्लाका अमृत मगरले बताउनुभयो । यहाँका बासिन्दा जाडो छल्न धेरैजसो राजधानी काठमाडौँ जाने गरेका छन् । स्थानीय फुरी शेर्पाका अनुसार लुक्ला, नाम्चेलगायतका लज सञ्चालकले घरधनी बाहिर जाँदा काम गर्ने मानिसलाई घर जिम्मा लगाएर जाने गरेका छन् भने माथिल्लो क्षेत्रका धेरैजसो होटल व्यवसायीले घरमा ताल्चा नै लगाएर अन्यत्र जाने गरेका छन् ।

तेन्जिङ हिलारी विमानस्थल लुक्लाबाट सिधै काठमाडौँसम्म हवाई जहाजको सुविधा भएकाले यस क्षेत्रका अधिकांश स्थानीय बासिन्दाको पहिलो रोजाइ काठमाडौँ भएको स्थानीय उमा बराइलीले बताउनुभयो । भौगोलिक विकटता एवं उच्च हिमाली क्षेत्र भएकाले पनि यस भेगका बासिन्दालाई बाह्रै महिना समस्यामा पिरोलिएर बाँच्नुपरेको छ । झनै जाडो महिनामा त यस भेगमा बस्न निकै कठिन रहेको स्थानीयवासी बताउँछन् । यहाँ मुस्किलले वर्षमा छ महिनामात्र यस भेगमा मानिस बसोबास गर्ने गर्छन् । यतिखेर नाम्चे क्षेत्रमै तापक्रम घटेर माइनस १२ डिग्रीसम्म पुग्ने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मण्डलले बताउनुभयो ।

निकुञ्जका कर्मचारीलाई फुर्सद !

सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चे सोलुखुम्बुका कर्मचारीलाई यतिखेर फुर्सद मिलेको छ । पर्यकीय याममा एकैपटक धेरै पर्यटक निकुञ्ज क्षेत्र प्रवेश गर्दा ‘इन्ट्री’ गराउन भ्याइनभ्याई हुने कर्मचारीलाई यतिखेर भने फुर्सद मिलेको निकुञ्जका सूचना अधिकारी मण्डलले बताउनुभयो । उहाँका अनुसार मुख्य याममा दैनिक नौ सयजनासम्म स्वदेशी तथा विदेशी भ्रमणकर्ता निकुञ्ज प्रवेश गर्दा बिहान उज्यालो भएदेखि राति अबेरसम्म इन्ट्री गराउनमा व्यस्त हुने जाँचचौकीका कर्मचारीलाई अहिले फुर्सद मिलेको छ । अहिले दैनिक मुस्किलले पाँच–सात जनासम्म पर्यटक आउने गरेको उहाँको भनाइ छ ।

याममा धेरै पर्यटक आउने भएकाले जाँचचौकीका कर्मचारीको खानेबस्ने ठेगान नै नहुने गर्छ भने अहिले कार्यालयको नियमित कामसँगै चिसोमा घाम तापेर समय बिताउने गरेको उहाँले बताउनुभयो । सगरमाथा राष्ट्रिय निकुञ्जमा मुख्य कार्यालय नाम्चेबाहेक १० चौकी छन् । जसमा दुईवटा रेञ्जपोष्ट रहेको कार्यालयले जनाएको छ ।

विसं २०३२ मा स्थापना भएको निकुञ्ज एक हजार एक सय ४८ वर्गकिमी क्षेत्रफलमा फैलिएको छ । निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरा रहेका छन् । निकुञ्जभित्रको गोक्यो र सम्वद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको छ । सन् १९७९ देखि यस राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदासूचीमा समावेश गरिएको हो । सगरमाथा क्षेत्र विशेषगरी हिमाल आरोहण र अवलोकन, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनका लागि धेरैको रोजाइमा पर्ने गरेको निकुञ्जको कार्यालयले जनाएको छ ।

चिसोका कारण धेरैजसो खुम्बुबासीले सगरमाथा क्षेत्र छाडिसक्दा यहाँ कार्यरत कर्मचारी भने कार्यक्षेत्रमै रहेका छन् । स्थानीयवासी तथा पर्यटन व्यवसायी चिसो छल्न अन्यत्र जाने गरे पनि कर्मचारी भने त्यहीँ बस्न बाध्य छन् । नाम्चे क्षेत्रमा अहिले निकुञ्जका कर्मचारी, प्रहरीलगायतका व्यक्ति छन् । उनीहरू पनि धेरै समय आगो तापेरै बिताउने गरेको इलाका प्रशासन कार्यालय नाम्चेका प्रमुख शाखा अधिकृत बर्देवाको भनाइ छ ।

चिसोले पाइपमै पानी जम्दा तातो पानी तताएर पाइपमा खन्याएपछि मात्रै धारामा पानी आउने गरेको कर्मचारी बताउँछन् । सुवास विश्वकर्मा /रासस