२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा निर्वाचन: कुन प्रदेशमा कति प्रकारका मतपत्र ?



अ+ अ-

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सातै प्रदेशमा आवश्यक मतपत्र पठाएको छ ।

निर्वाचनको लागि स्वीकृत गरेको मतपत्रको डिजाइन तथा मापदण्ड बमोजिमका सबै मतपत्रहरु छपाई गरी सातै प्रदेशका निर्वाचन अधिकृतहरुको कार्यालयमा पठाईएको आयोगले जनाएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा मतदान हुने कानूनी व्यवस्था अनुसार प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रहरु छपाई भएका छन् ।

प्रदेशगत रूपमा रहेका निर्वाचक मण्डलका सदस्यको सङ्ख्या तथा निर्वाचन हुने पद सङ्ख्यालाई आधार मानेर आयोगले कोशी प्रदेशमा हुने दुई पदको निर्वाचनका लागि चार प्रकारका ९२० मतपत्र, मधेस प्रदेशमा हुने दुई पदको निर्वाचनका लागि चार प्रकारका ९४० मतपत्र, बागमती प्रदेशमा निर्वाचन हुने चार पदका लागि आठ प्रकारका १हजार ७६० मतपत्र र गण्डकी प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्रहरू पठाएको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिए ।

त्यसैगरी लुम्बिनी प्रदेशमा हुने दुई पदको निर्वाचनका लागि चार प्रकारका ७४० मतपत्र, कर्णाली प्रदेशमा हुने तीन पदको निर्वाचनका लागि ६ प्रकारका ७५० मतपत्र र सुदूरपश्चिम प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्रहरू रहेको छ ।

आगामी २०८० फाल्गुन २० गते देखि रिक्त हुने १९ राष्ट्रिय सभा सदस्य पदका लागि माघ ११ गते निर्वाचन हुँदैछ । उक्त निर्वाचनको मतदानका लागि ३८ प्रकारका कूल ६ हजार ९१० मतपत्रहरू छापेको छ ।