११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेह्रथुमको पर्यटकीय क्षेत्र तीनजुरे हिउँले सेताम्ये



अ+ अ-

म्याङलुङ (तेह्रथुम): लामो समयपछि हल्का वर्षा भएसँगै तेह्रथुम, सङ्खुवासभा, ताप्लेजुङको सङ्गमस्थल तीनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्रमा हिउँ परेको छ । गुराँसको राजधानी भनेर परिचित सो पर्यटकीय क्षेत्रमा गत भदौदेखि वर्षा नभएको बताइएको छ । सो क्षेत्रमा मङ्गलबार साँझ वर्षा भएसँगै हिउँ परेको हो ।

तीनजुरेडाँडा, फेदी, पाथीभरा मन्दिर परिसर, मङ्गलबारे र गुफा पोखरी हिउँले सेताम्ये भएका छन् । गुराँसका जङ्गल र नागीहरू हिउँले ढाकिँदा देखिने मनमोहक दृश्य हेर्न बर्सेनि यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक आउने गर्छन् । यस क्षेत्रबाट मौसम खुलेको समयमा कञ्चनजङ्गा, मकालु र कुम्भकर्ण हिमाल देख्न सकिन्छ भने यी क्षेत्रका पाँचपाखरी, खोपिङ पोखरी, गुफापोखरीमा ती हिमालका प्रतिविम्ब देखिन्छन् ।

हिउँ परेसँगै हेर्न आउने पर्यटकले फोनमार्फत होटल ‘बुकिङ’ गरिरहेको तेह्रथुम लालीगुराँस नगरपालिका–१ टुटे देउरालीका होटल व्यवसायी श्री कार्कीले बताउनुभयो । उहाँले अहिले होटल व्यवस्थापनमा भ्याइनभ्याइ भएको जानकारी दिनुभयो । उहाँका अनुसार हिउँ पर्ने याममा झापा, मोरङ, सुनसरी र भारतका बिहार, सिक्किम, पश्चिम बङ्गाल र दिल्लीबाट पर्यटक आउने गर्छन् । गतवर्ष हिउँ नपर्दा यो क्षेत्रमा कम गुराँस फुलेको जनाइएको छ ।
तेह्रथुमको लालीगुराँस नगरपालिका वसन्तपुरमा बनेको चोत्लुङ उद्यान, आरआर गार्डेन, पाथिभरा मन्दिर, मङ्गलबारेबाट माथि पाथिभरा मन्दिरसम्मको फुट ट्रयाक अवलोकन गर्न र हेर्न बर्सेनि हजारौँ पर्यटक आउने गर्छन् । विशेषगरी हिउँ पर्ने र गुराँस फुल्ने याममा धेरै पर्यटक आउने गरेको वसन्तपुरका होटल व्यवसायी प्रकाश श्रेष्ठले बताउनुभयो ।

वसन्तपुरबाट छ किलोमिटर आरआर गार्डेनको माथिल्लो द्वारसम्म पक्की र त्यहाँबाट ग्राभेल सडक रहेको छ । तीनजुरे क्षेत्रमा पर्ने आरआर गार्डेन, रक गार्डेन, पाथिभरा मन्दिर, मङ्गलबारे, पाँचपोखरीलगायतका पर्यटकीय क्षेत्र हुन् । लामो समयपछि पानी पर्दा किसानलाई समेत राहत मिलेको लालीगुराँस नगरपालिका –१ का किसान भरतसिं गुरुङले बताउनुभयो ।

तीनजुरे क्षेत्रको पाँचपोखरी छेउमा गुराँसको उद्यान निर्माण गर्न लागिरहेको लालीगुँरास नगरपालिकाका प्रमुख अर्जुन मावोहाङले बताउनुभयो । पाँचपोखरी छेउमा गुराँसको पार्क बनाउन ठेक्का लागिसकेको र तीनजुरे सामुदायिक वनले गुराँसका बिरुवा रोपिरहेको उहाँको भनाइ छ ।

नगरपालिकाको समन्वयमा विभिन्न दाताको सहयोगमा वसन्तपुरमा निर्मित चोत्लुङ उद्यानमा दैनिक चार–पाँच सय पर्यटक घुम्न आउने गरेको पनि नगरप्रमुख मावोहाङले बताउनुभयो । चोत्लुङ उद्यानमा बनेका पुराना घर, ढिकी, जाँतो, कुवा र सङ्कलन गरेर राखिएका पुराना सामग्रीको सङ्ग्रहालय हेरेर पर्यटक मोहित हुने गरेका छन् ।