२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाइ



अ+ अ-

त्रिवेणी (नवलपरासी): प्रसिद्ध धार्मिकस्थल वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल निर्माण भए पनि अझै सञ्चालनमा आउन सकेको छैन । वाल्मीकि आश्रम भारतीय बाटो हुँदै जानुपर्ने बाध्यता हटाउन नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको थियो । विसं २०७९ साउनमा पुल निर्माण सम्पन्न भए पनि १८ महिना बितिसक्दासमेत पुल सञ्चालन गर्ने कुनै तरखर देखिँदैन ।

रु पाँच करोड ८७ लाखको लागतमा चार सय ७९ मिटर लम्बाइको पुल निर्माण गरिएको हो । विसं २०७० असारमा सम्झौता भएर पुल निर्माणको काम अघि बढेको थियो । त्यसको नौ वर्षपछि पुल निर्माण सम्पन्न भएको थियो । वाल्मीकि आश्रम चितवनको माडीमा पर्ने भए पनि नवलपुरको त्रिवेणीबाट भारतीय भूमि हुँदै जानुपर्ने बाध्यता रहेको छ । यही बाध्यतालाई हटाउन त्रिवेणीस्थित नारायणी नदीमा पुल निर्माण गरिएको हो । तर पुल निर्माण सम्पन्न भएको यतिका समय बित्दासमेत अझै सञ्चालनमा आउन सकेको छैन ।

वाल्मीकि आश्रम हाल त्रिवेणी ब्यारेजबाट करिब आठ किलोमिटर भारतीय बाटो प्रयोग गरी पुग्न सकिन्छ । प्रसिद्ध धार्मिक क्षेत्र भए पनि यहाँ पुग्न सहज छैन । झोलुङ्गे पुल निर्माण सम्पन्न भए पनि अर्को छेउमा तारबार गरी बन्द गरिएको विनयी त्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष नुरेन्द्र शाहले बताउनुभयो । पुलबाट वाल्मीकि आश्रम पुग्न नसकिए पनि पुल अवलोकनका लागि भने आन्तरिक पर्यटक आउने गरेको उहाँको भनाइ छ । पुलमा आउने तस्बिर खिच्ने, घुमफिर गर्नेको पुल क्षेत्रमा भीड लाग्ने गरेको वडाध्यक्ष शाहले बताउनुभयो ।

त्रिवेणीस्थित झोलुङ्गे पुल तरेपछि वाल्मीकि आश्रमसम्म पुग्न करिब एक हजार सात सय मिटर बाटो निर्माण गर्नुपर्ने छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा निर्माण गर्नुपर्ने बाटो नबन्दा पुल सञ्चालनमा आउन नसकेको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो । बाटो बनाउने विषयमा पटक–पटक निकुञ्जसहित सरोकारवालासँग छलफल चले पनि कुनै प्रगति हुन नसकेको उहाँको भनाइ छ ।

“बैठकमा पुल सञ्चालन गर्ने, बाटो बनाउने भन्ने सबैको राय मिल्छ, नबनाउने भन्ने कसैको कुरा हुन्न तर कामको प्रगति भएको छैन”, उहाँले भन्नुभयो । सरोकारवाला मन्त्रालयबीच आवश्यक समन्वय नहुँदा कतिपय काम अघि बढ्न नसकेको उहाँको भनाइ छ । “वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल चलाउने, बाटो बनाउने भनेर पालिकाले नै पटक–पटक  समन्वय गर्यो, तर उस्तै छ”, अध्यक्ष गिरीले भन्नुभयो, “हामीकहाँ अन्तर मन्त्रालयको समन्वयको कमीले समेत विकास निर्माणमा समस्या हुने गरेको छ ।”

नारायणी नदीपारि वाल्मीकि आश्रम र वारि प्रसिद्ध धार्मिकस्थल त्रिवेणीधाम रहेको छ । दुई धार्मिकस्थललाई जोड्ने महत्त्वपूर्ण मानिएको पुल सञ्चालनमा आउने हो भने पर्यटकको थप आगमन बढ्ने त्रिवेणी गजेन्द्रमोक्षधाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्दे्रश्वर भुसालले बताउनुभयो । पुल सञ्चालनमा आए वाल्मीकि आश्रम आउने पर्यटक सहजै त्रिवेणीधाम र त्रिवेणीधाममा आएका पर्यटक सहजै वाल्मीकि आश्रम पुग्न सक्ने उहाँको भनाइ छ  । दुवै धार्मिक क्षेत्रको विकासका लागि झोलुङ्गे पुलले सहयोग पुर्याउने भएकाले यसको सञ्चालनमा सरोकारवाला पक्षले जोड दिनुपर्ने उहाँको भनाइ छ । रासस