काठमाडौं । बरहथवामा प्रहरीले चलाएको गोली लागेर जयशंकर साहको आज दु :खद निधन भएको छ ।
बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई लिएर राजनीतिक दलबीच भएको विवाद विरोध प्रदर्शनमा परिणत हुँदा बरहथवा–६ का तिनै ३० वर्षीय छात्र जयशङ्करको मृत्यु भयो । विरोध प्रदर्शनलाई नियन्त्रण लिन भन्दै प्रहरीले चलाएको गोली लागेर साहको मृत्यु भएको थियो ।
बंगलादेशमा उनीसँगै एमबीबीएसमा अध्ययनरत साथी अनिल सिंहले पठाएको अडियोमा सिंहले जयशंकर एक क्षमतावान र मिलनसार विद्यार्थी रहेको बताएका छन् ।
उनी भन्छन्, बुबाको उपचारका लागि नेपाल जान्छु भन्दै बरहथवा आएका साहले बुबालाई पनि बचाउन सकेनन् । बुबाको उपचारको क्रममा मृत्यु भएपछि विदा लिएर आमासँगै केही समय बस्ने योजनामा थिए उनी । आज प्रहरीको गोली लागेर ज्यान गएको खबर सुन्दा हामी सबै स्तब्ध भएका छौं ।
सिह हाल स्थानीय सर्लाही होटलका सञ्चालक तथा कुखुरा दानाको हलसेल बिक्रेता हुन् । बंगलादेशबाट एमबीबीएस अध्ययन गरेका उनलाई बुबा बंगाली राम साहले आफू बिरामी भएपछि व्यवसाय हेर्न भनेर बोलाएका थिए । तीनवर्ष अघि बंगाली रामको निधन भएपछि व्यापार व्यवसाय उनले नै सम्हाल्दै आएका थिए ।
सहपाठी सिंहले आक्रोश पोख्दै प्रश्न गरेका छन्, अब हाम्रो साथी कहिल्यै नफर्किने गरी हामीबीच बाट विदा भयो । यो देशमा आज सरकारले एउटा चिकित्सकको हत्या गरेको मात्र होइन धेरैको स्वदेश प्रतिको सपना मारेको छ । आखिर के गर्न खोजेको हो सरकारले ? विद्यार्थी युवालाई ताकि ताकि सरकारले किन गोली चलाइरहेको छ ?
बरहथवा नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, बहुजन र जनमत पार्टीले प्रदर्शन गर्दा स्थिति तनावपूर्ण बनेको थियो ।
बरहथवामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।