१२ श्रावण २०८३, मंगलवार
,
Latest
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई काम गरेर देखाउन कांग्रेस महामन्त्री थापाको आग्रह



अ+ अ-

कटारी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रश्न सोध्ने बेला भएको बताउनुभएको छ । नेपाली कांग्रेस उदयपुरको प्रथम जिल्ला सम्मेलनलाई आज कटारीमा सम्बोधन गर्दै उहाँले एक वर्षभित्रमा प्रधानमन्त्रीले भनेको जस्तो काम किन गर्न सकिएन भनेर सोध्ने बेला आएको बताउनुभयो ।

पुस १० गते प्रधानमन्त्रीले सम्बोधन गर्ने बताएको भन्दै कांग्रेस नेता थापाले आगामी माघ १० गतेसम्म एकपटक पनि कतै केही नबोली काम गर्ने प्रतिबद्धता जनाउन आग्रह गर्नुभयो । “माघ १० गतेसम्म केही उद्घाटन गर्दिन, शिलान्यास गर्दिन, केही बोल्दिन बिहानदेखि बेलुकासम्म काम गर्छु भन्नुभएको छ”, महामन्त्री थापाले भन्नुभयो, “हामीलाई बोल्ने मात्रै मान्छे होइन काम गर्ने मान्छे चाहिएको छ ।”

विसं २०६० देखि आन्दोलन सफल होला, संविधान बन्दा देशमा केही होला भनेर पर्खिएका जनता अहिलेसम्म निराश रहेको नेता थापाको भनाइ थियो । “त्यसैले हामीले अब कामको परिणाम देखाउनुपर्छ”, थापाले भन्नुभयो, “२०८४ को चुनाव हारिएला भन्ने होइन, चुनाव हारे पनि केही हुन्न, तर जनतालाई कामको परिणाम देखाउन कांग्रेसले केही गर्नुपर्छ ।” भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने कांग्रेसको दायित्व रहेको उहाँले बताउनुभयो ।

कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्गदेम्बेले कांग्रेसले देशलाई अप्ठ्यारो पर्दा भरोसा दिनुपर्ने बताउनुभयो । गणतन्त्र, सङ्घीयता, समावेशिता, लोकतन्त्रमाथि कुदृष्टि राख्नेप्रति सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।

नेतृ डिला सङ्ग्रौलाले तीन तहमा कांग्रेस सरकारमा रहेकाले कांग्रेसले जनताको अधिकार दिन सक्यो की सकेन भन्ने विषयमा छलफल गर्नुपर्ने बताउनुभयो । जिल्ला सभापति हिमाल कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रम पश्चात बन्दसत्रमा सङ्गठनका बारेमा थप छलफल गरिने सम्मेलन आयोजक समितिका संयोजक राजेशचन्द्र श्रेष्ठले बताउनुभयो । रासस