२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री यादवको अभिव्यक्ति प्रति आयोगको आपत्ति,उत्तेजनापूर्ण अभिव्यक्ति नदिन सचेत गरायो



अ+ अ-

काठमाडौ । राष्ट्रिय मानव अधिकार आयोगले हिंसाजन्य अभिव्यक्ति दिनु भएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव संग जानकारी लिएको छ । आयोगले मन्त्री यादबलाई बोलाएर जानकारी लिएको हो ।

गत माघ ५ गते समाजवादी युवा संघले रौतहटको गौरमा आयोजना गरेको सभामा मन्त्री यादवले दिएको अभिव्यक्ति एवम् यसबाट सिर्जित अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउदै आयोगमा बोलाएर जानकारी लिएको हो ।  मन्त्री यादवले श्रद्धाञ्जली सभामा आफूले दिएको अभिव्यक्ति अनियन्त्रित र असन्तुलित हुन पुगे पनि कसैप्रति लक्षित र पूर्वाग्रही नरहेको, हिंसा तथा मुठभेड गर्ने आफ्नो मनसाय नरहेको र यस्ता अभिव्यक्ति आफूबाट भविष्यमा नदोहोरिनेमा सचेत रहेको जानकारी गराउनुभएको थियो ।

आयोगका अध्यक्ष तथा सदस्यहरुले राज्यको मन्त्री जस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले हिंसालाई बढावा दिने र सामाजिक सद्भावमा खलल् पुर्याउने खालका उत्तेजनापूर्ण र अनियन्त्रित अभिव्यक्ति दिन नहुने, राजनीतिक प्रतिस्पर्धालाई स्वस्थ र हिंसारहित बनाउनुपर्ने र भविष्यमा त्यस प्रकारका अभिव्यक्ति नदोहोर्याउन मन्त्री यादवलाई निर्देशन दिनुभयो । 

अभिव्यक्ति स्वतन्त्रता नागरिकको मौलिक अधिकार भए पनि त्यो अनियन्त्रित र सीमाविहिन हुन नसक्ने, आफ्नो अधिकारको प्रयोग गर्दा अरुको मर्यादामा चोट् पुग्न सक्नेतर्फ सचेत रहनुपर्ने र जिम्मेवार पदमा रहेका व्यक्तिहरुले अभिव्यक्ति दिँदा मानव अधिकारको मूल्य मान्यतालाई आत्मसात् गर्दै सामाजिक सद्भाव, शान्ति सुरक्षा र अमन चयन खल्बलिने खालका अभिव्यक्ति भविष्यमा नदिन आयोगले मन्त्री यादवलाई आग्रह गरेको आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलले जानकारी दिनुभयो ।