काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शुक्रवारबाट तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिकता बचाउ अभियानसहित यूवालाई सडकमा उतारेका प्रसाईंले शुक्रवारबाट तीनकुनेमा प्रदर्शन गर्ने भएका हुन् ।
प्रसाईंले नेकपा एमाले निकट युवा संघले प्रदर्शन गरेको स्थान तीनकुनेमा प्रदर्शन गर्ने भएका हुन् । उनले आफू नेतृत्वको आन्दोलन सुरुवातमात्रै भएको भन्दै निरन्तर जारी रहने चेतावनी दिए ।
प्रसाईंले पहिलो दिन बिहीबार बल्खुमा गरेको कार्यक्रममा युवा सङ्घका कार्यकर्ता र प्रहरीसँग पटक पटक झडप भएको थियो । प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा केही प्रदर्शनकारी घाईतेसमेत भएका थिए । स्थिति असामान्य भएपछि नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र पानीको फोहोराको समेत प्रयोग गरेको थियो ।
दसैँको अष्टमीको दिन पनि नेपालीहरू विदेशमा श्रम गर्न जान बाध्य भएको बताउदै प्रसाईंले उनीहरुलाई देशमा फर्काएर पुरानो नेपाल बनाउने बताए । उनले भने , ‘हामीले रुँदै झोला बोकेर दसैको अष्टमीको दिन देश छोड्नु परेको छ । म यसको अन्त्य गर्न चाहन्छु । म त्यसै बोलेको होइन, मभित्र ठुलो पीडा छ । म मर्न तयार छु । म भाग्न तयार छैन । तपाईँहरुका छोराछोरीलाई यो देशमा फर्काएर यो देशलाई फेरि पुरानो नेपाल बनाउनु छ ।’
उनले संघीयता नचाहिने भन्दै आफूहरूले सुरु गरेको आन्दोलन जनव्रिदोह भएको जिकिर गरे । नेपालमा विद्रोहको विरुवा रोपिएको र नेताहरूलाई जहाँ भेट्यो त्यही ठेगान लगाउने बताउदै उनले सिंहदरबार र संसद् भवनका साथै पुरै काठमाडौँ कब्जा गर्ने धम्की दिए ।