२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

झोलुङ्गे पुलको समेत सामान चोरी



अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीस्थित वनहरा नदीले भत्काएको झोलुङ्गे पुलका सामान चोरी हुन थालेका छन् । पुलका डेग, तारजाली, नटबोल्ट, लठ्ठालगायतका सामानको संरक्षण हुन नसक्दा चोरी हुन थालेका हुन् । पुलका सामान चोरी हुनबाट जोगाउनका लागि कुनै पनि निकायले अहिलेसम्म चासो देखाएका छैनन् ।

गत वर्षको भदौमा नदीमा आएको बाढीले रु तीन करोडको लागतमा बनेको झोलुङ्गे पुलको दक्षिणतर्फको पिलर भत्काउँदा पुल नदीमा खसेको थियो । नदीमा खसेको पुलको आधा सामान खोलेर वडा कार्यालयमा राखिएको छ । पुलको आधा सामान नदीमै खसेको अवस्थामा रहेको छ । खसेको पुलका सामान नदीमै अलपत्र अवस्थामा रहँदा चोरी हुने क्रम बढेको स्थानीय बासिन्दा मङ्गलप्रसाद चौधरीले बताउनुभयो ।

“दिउँसै पुलका नटबोल्ट खोलेर चोरेर लैजान थालेका छन्, लठ्ठा फलामे आरीले काटेर लगेका छन्”, उहाँले भन्नुभयो, “सामान चोरी हुनबाट जोगाउनका लागि कुनै पनि निकायको ध्यान पुग्न सकेको छैन ।”

“पुलका सामान चोरी हुन थालेकाले जोगाउनका लागि पहल गर्नका लागि नगरप्रमुखसँग सम्पर्क गरी कुरा राख्दा वडा कार्यालयलाई देखाउने गरेका छन्”, स्थानीय रति रानाले भन्नुभयो– “आधा सामान चोरी भइसकेका छन् ।” वडाध्यक्ष नवलसिंह राना नदीमा खसेको पुलका सामान जोगाउनका लागि खोलेर सुरक्षित ठाउँमा राख्नुको विकल्प नरहेको बताउनुहुन्छ ।

“वडा कार्यालयकै पहलमा पुलको दक्षिणी क्षेत्रतर्फको भाग मजदुर लगाएर खोलेर सुरक्षित राखेका छौँ”, उहाँले भन्नुभयो, “पुल खोल्ने कार्यमा संलग्न मजदुरलाई अहिलेसम्म ज्याला भुक्तानी हुनसकेको छैन, ज्यालाका लागि नगरपालिकामा लेखी पठाए पनि रकम आउन सकेको छैन ।” उहाँका अनुसार पुलको आधाभन्दा बढी भाग नदीमै खसेको अवस्थामा छ । पुलका सामान खोल्न रु रुतीन लाख रकम लाग्ने रानाले बताउनुभयो । पुल निर्माण भएको एक वर्ष नपुग्दै बाढीले भत्काएपछि स्थानीय बासिन्दा नदीमा अस्थायी काठेपुल निर्माण गरी ओहरदोहर गर्दै आएका छन् । अस्थायी काठेपुल तरेबापत स्थानीयले स्थानीय विपद् समितिलाई शुल्कसमेत बुझाउने गरेका छन् । रासस