८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

रक्सी खाएपछि किन नेपालीहरू फरर अंग्रेजी बोल्छन्, यस्तो छ तथ्य !

रक्सी खाएपछि किन नेपालीहरू फरर अंग्रेजी बोल्छन्, यस्तो छ तथ्य !
प्रतीकात्मक तस्बिर
अ अ+ अ-

एजेन्सी । ‘जब रक्सी भित्र छिर्छ, नेपालीहरुको अंग्रेजी बाहिर आउँछ’ भन्ने भनाइ हामी सबैले सुनेका छौं। कतिपय अवस्थामा अलि-अलि अंग्रेजी बोल्न जानेको मान्छे नसामा धाराप्रवाह बोलेको सुनेका पनि छौं।

हामी ठान्छौं, रक्सीको सुरमा अंग्रेजी बोल्ने वा बोल्न खोज्ने मान्छेले नाटक गरेका हुन्। के साँच्चै नाटक गरेका हुन् ? वा, यसरी अंग्रेजी बोल्नुको पछाडि कुनै वैज्ञानिक कारण पनि छ ? हामीले लामो समयदेखि ‘मिथ’ बनाउँदै आएको रक्सी र अंग्रेजी भाषाबीचको यो सम्बन्ध हालै एक वैज्ञानिक अनुसन्धानले पुष्टि गरेको छ।

उक्त अनुसन्धानले भन्छ, ‘मान्छेले कुनै नयाँ भाषा सिकिरहेको छ भने सामान्य अवस्थामा भन्दा रक्सीको हल्का नसामा बढी धाराप्रवाह बोल्नसक्छ।’ यसको मतलब सामाजिक जमघट वा बीच बाटैमा रक्सीले मातेर अंग्रेजी बोल्नेहरू सामान्य नै रहेछन्। उनीहरूले त्यसो गर्नुमा वैज्ञानिक आधार रहेछ।

के हो त त्यो वैज्ञानिक आधार ?

मान्छेले कुनै पनि नयाँ काम तबसम्म गर्न सक्दैन, जबसम्म संकोच मान्छ। अनुसन्धानकर्ताका अनुसार सीमित परिमाणमा खाएको रक्सीले मान्छेको संकोच कम गराउँछ। संकोच कम भएपछि नयाँ काम गर्दा मनमा उत्पन्न हुने हड्बडाहट र हिच्किचाहटलाई सजिलै जित्न सकिन्छ। यो त मानसिक अवस्थाको कुरा भयो। यति मात्र कारणले फर्रर अंग्रेजी बोल्न सकिने होइन। यसमा रक्सीले मान्छेको शारीरिक अवस्थामा ल्याउने परिवर्तन पनि जिम्मेवार छ।

रक्सीको नसाले सबभन्दा पहिला हाम्रो मस्तिष्कको सोच्ने वा विश्लेषण गर्ने प्रणाली कमजोर बनाइदिन्छ। यसले हाम्रो स्मरणशक्तिमा मात्र होइन, सतर्क वा चनाखो रहने क्षमतामा पनि नकारात्मक असर पुर्याउँछ। सोच्ने शक्ति र चनाखो रहने क्षमतामा एकैचोटि रक्सीले प्रहार गरेपछि मान्छेको आत्मविश्वास ह्वात्तै बढ्छ। उ आफूलाई क्षमताभन्दा बढी आँक्न थाल्छ। र, यही अवस्थाले अंग्रेजी बोलाइ धाराप्रवाह हुन्छ। रक्सी र भाषासँग जोडिएको यो वैज्ञानिक निष्कर्ष बेलायती तथा डच अनुसन्धानकर्ताहरूको हो।

‘जर्नल अफ साइकोफर्माकोलोजी’ मा प्रकाशित शोधपत्रमा उनीहरूले रक्सी खाएको मान्छे कसरी र किन दोस्रो भाषा (मातृभाषाबाहेक अन्य) बोल्न सक्षम हुन्छ भनी वैज्ञानिक जवाफ दिएका छन्।

‘थोरै रक्सी खाएको मान्छे आफूले भर्खर सिक्दै गरेको दोस्रो भाषा बढी आत्मविश्वासका साथ धाराप्रवाह बोल्न सक्षम हुन्छ,’ ती अनुसन्धानकर्तालाई उद्धृत गर्दै टाइम पत्रिका लेख्छ, ‘उनीहरू आफैंलाई भने रक्सी खाएको बेला धाराप्रवाह बोल्दैछु भन्ने हेक्का नहुन सक्छ।’

टाइम पत्रिकाका अनुसार यो अध्ययनमा नेदरल्यान्डस्थित म्यासत्रिहित विश्वविद्यालयका ५० जना जर्मनभाषी विद्यार्थी सामेल थिए। उनीहरू सबै बेलाबेला रक्सी पिउँथे। उक्त विश्वविद्यालयमा डच भाषामा पढाइ हुन्थ्यो। ती विद्यार्थी यही भाषा सिक्दै थिए र भर्खर-भर्खरै भाषा परीक्षा पास गरेका थिए।

अध्ययन क्रममा प्रत्येकलाई एक डच अन्तर्वार्ताकारसँग दुई मिनेट कुराकानी गर्न लगाइएको थियो। कुराकानी सुरु हुनुअघि ती ५० जनामध्ये आधालाई पानी पिउन दिइयो भने बाँकी आधालाई मदिराजन्य पेय। मदिराको परिमाण व्यक्तिको तौलअनुसार फरक थियो। जस्तो, ६८ किलोको व्यक्तिलाई एक बोतलभन्दा बढी बियर खुवाइएको थियो।

डच अन्तर्वार्ताकारले सबै विद्यार्थीसँग पालैपालो कुराकानी गरे। कुराकानी डच भाषामै भयो। उनीहरूको सबै वार्ता रेकर्ड गरिएको थियो। विद्यार्थीहरूले बोलेको कत्तिको सही छ भनी जाँच्ने जिम्मा दुई स्थानीय डचभाषीलाई दिइयो। को पानी पिएर आएको छ र कसले रक्सी पिएको छ भन्ने ती दुई जनालाई थाहा थिएन। सहभागी विद्यार्थीलाई पनि आफूले कत्तिको धाराप्रवाह र शुद्ध बोल्न सकेँ भनेर स्वमूल्यांकन गर्न लगाइएको थियो।

विद्यार्थीहरूले स्वमूल्यांकन क्रममा दिएको अंक हेर्दा मदिराको प्रभाव देखिएन। रक्सी खाएर अन्तर्वार्ता दिन बसेका विद्यार्थीसमेत आफ्नो कुराकानीबाट सन्तुष्ट वा खुसी थिएनन्। उनीहरूले आफ्नो भाषाज्ञानलाई त्यही स्तरमा राखे, जुन स्तरमा पानी पिएर अन्तर्वार्ता दिन बसेकाले राखेका थिए।

कुराकानीको रेकर्ड सुन्दा भने रक्सी पिएर अन्तर्वार्ता दिएकाहरूको भाषा सुध्रिएको बुझिन्थ्यो। रेकर्ड सुनेर मूल्यांकन गर्न बसेकाले पनि यही निष्कर्ष निकाले।उनीहरूका अनुसार रक्सी खाएकाहरूले बोलेको डचभाषा पानी पिउनेको भन्दा बढी धाराप्रवाह र शुद्ध थियो। शब्दको उच्चारण मातृभाषी रैथानेले झैं सही ढंगमा गरेका थिए। तर, व्याकरण प्रयोग, शब्द भण्डार र आफ्नो कुरा कति सशक्त ढंगले राख्न सक्छ भन्ने आधारमा दुवै समूह लगभग समान थिए।

यसबाट अनुसन्धानकर्ता के निष्कर्षमा पुगे भने, हल्का मदिरा सेवनले मान्छेको आत्मविश्वास बढाइदिँदो रहेछ। यस्तोमा कोही नयाँ भाषा सिकिरहेको छ भने ऊ बिनासंकोच शुद्धसँग बोल्न सक्दो रहेछ।

अनुसन्धानमा सहभागी विद्यार्थीहरूले धेरै रक्सी नखाउन् भन्ने ख्याल राखिएको थियो। रक्सीको मात्रा बढी भए त्यसले पार्ने प्रभाव नकारात्मक हुन्छ भन्ने अनुसन्धानकर्ताको आकलन थियो। उनीहरूले आफ्नो शोधपत्रमा लेखेका पनि छन्, ‘थोरै रक्सीले धाराप्रवाह बोल्ने क्षमता बढाएजस्तै धेरै पिउँदा उल्टो प्रभाव पर्न सक्छ। धेरै रक्सीले मस्तिष्कलाई पूरै नियन्त्रणमा लिन सक्ने हुँदा मान्छेले जानेको शब्द पनि सही ढंगले उच्चारण गर्न नसक्ने, बोली लर्बराउने र आत्मविश्वास गुम्ने खतरा हुन्छ।’

विश्लेषकहरूले यो अध्ययनमा एउटा समस्या औंल्याएका छन्। यसमा सहभागीहरूलाई आफूले खाएको पेय पानी हो कि मदिरा भन्ने ज्ञान थियो। त्यसैले, उनीहरूको बोलाइ रक्सीको प्रभावले नै सुध्रिएको हो कि त्यसमा मानसिक कारण पनि जिम्मेवार छ भनी प्रस्ट भन्न नसकिने विश्लेषक बताउँछन्। यसलाई अझ स्पष्ट पार्न अर्को चरणको अनुसन्धान हुनुपर्ने औंल्याइएको छ।

यति मात्र होइन, यो अध्ययनलाई अन्य भाषाका सन्दर्भमा पनि प्रयोग गरेर हेर्नुपर्ने केही विश्लेषकले बताएका छन्। यो निष्कर्ष जर्मनभाषी वा डच भाषा सिकिरहेकामा मात्र सही देखिन्छ कि अरू भाषाका हकमा पनि समान नतिजा देखिन्छ भनेर हेर्न अर्को समूहमा अध्ययन गर्नुपर्ने उनीहरूको भनाइ छ। रक्सी र भाषाबीच सम्बन्ध झल्काउने यो अध्ययन पहिलो भने होइन।

सन् १९७२ मा भएको यस्तै अध्ययनमा थोरै परिमाणको रक्सी सेवनले थाइभाषीहरूको अंग्रेजी उच्चारणमा सुधार देखिएको थियो। ‘यो अध्ययनले मान्छेको मानसिक अवस्था मापन गर्दैन, तर अलिकति रक्सी खाएपछि संकोच हट्ने र ऊ बिनाहिच्किचाहट नयाँ भाषा बोल्न सक्षम हुन्छ भन्ने हाम्रो निष्कर्ष हो,’ टाइम पत्रिकाका अनुसार शोधपत्रमा अनुसन्धानकर्ताले भनेका छन्, ‘यसले विदेशी भाषा बोल्न हच्किनेहरूमा भाषिक शुद्धताका साथै धाराप्रवाह बोल्ने क्षमता पनि विकास गराएको हामीले पाएका छौं।’