८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

युनेस्को रचनात्मक सहरका लागि काठमाडौँ महानगरपालिका छनोट

युनेस्को रचनात्मक सहरका लागि काठमाडौँ महानगरपालिका छनोट
अ अ+ अ-

काठमाडौँ । चलचित्र विधाबाट काठमाडौँ युनेस्कोको रचनात्मक सहर सञ्जाल (क्रियटिभ सिटीज नेटवर्क) मा जोडिएको छ ।

रचनात्मक सहरका लागि तोकिएका ७ क्षेत्रमध्ये काठमाडौँ महानगरपालिकाले चलचित्र विधा छानेको थियो । युसीसीएन (युनेस्को क्रियटिभ सिटीज नेटवर्क) मा आवद्ध हुन शिल्प तथा लोककला, संगीत, चलचित्र, साहित्य, ग्यास्ट्रोनमी (खानाका परिकार), मिडिया कला र डिजाइनमध्ये कुनै एउटा विधालाई छान्नु पर्ने प्रबन्ध थियो । यीमध्ये महानगरपालिकाले चलचित्र विधा छानेको हो ।

सञ्जालमा १ सय भन्दा धेरै देशका ३५० वटा सहरहरु आवद्ध छन् । यस पटक ५५ वटा सहर थपिएका हुन् ।

रचनात्मक सहरका सबै विधाहरु काठमाडौँसँग सम्बन्धित छन् । चलचित्र विधाबाट सबै क्षेत्र समेट्न सकिने भएकोले महानगरपालिकाले यो विधा छानेको हो ।

रचनात्मक सहरमा आवद्ध हुन निर्णय भएपछि व्यवस्थापन केन्द्र स्थापना गरेर सरोकारवालाको पहिचान गरिएको थियो । सरोकारवाला बिच परामर्श समूह निर्माण, विषय र रचनात्मक सम्पत्तिको नक्साङ्कनसहितका काम भइसकेका छन् ।

जनजीवन, भूगोल, बस्ती र सांस्कृतिक मूर्त अमूर्त सम्पदासँग जोडिएका ऐतिहासिक र पुरातात्विक रोचक कथाका कारण काठमाडौँलाई रचनात्मक सहरका रुपमा हेर्ने गरिएको छ । जात्रा पर्व, मौलिक भेषभुषा, खानपान काठमाडौँसँग जोडिएर आउने बिम्ब हुन् । सहर भन्नेवित्तिकै मनमा आउने पहिलो चित्र यही हो ।

फरक दृष्टिकोण, अर्थव्यवस्था र संस्कृति भएका भिन्न भिन्न सहरलाईलाई रचनात्मक सहरको सञ्जालमा जोडेर विकासको साझा दृष्टिकोण बनाउने रचनात्मक सहरको अवधारणा हो । एउटा रचनात्मक सहरमा समावेशी समाज, सृजनात्मक अर्थतन्त्र, मानव विकास, सामाजिक सद्भाव, प्राविधिक आविष्कार, वैज्ञानिक विकास दृष्टिकोण जस्ता विषय चलायमान हुन्छन् ।

यसबाट सहरहरुलाई अन्तरराष्ट्रिय स्तरबाट बलियो सहयोग प्राप्त हुने, विकास योजना तथा नीतिमा संस्कृति एकीकृत हुने, सांस्कृतिक र रचनात्मक उद्योगलाई बलियो बनाउने उद्देश्य राखिएको छ ।

यस बर्ष सञ्जालमा जोडिएका सहरमध्ये काठमाडौँसहित ५ वटा सहर चलचित्र विधामा छानिएका छन् । यस्तै संगीत विधामा १६ वटा, डिजाइनमा ६ वटा, शिल्प तथा लोककलामा ७ वटा, साहित्यमा १० वटा, ग्यास्ट्रोनमी (खानाका परिकार) मा ७ वटा, मिडिया कलामा ४ वटा सहर जोडिएका छन् ।

क्रियाकलाप

चलचित्र क्षेत्रको विकास र विस्तार तथा यससँग सम्बन्धित उद्योगको सञ्चालन, संरक्षण र प्रवर्धनका लागि आवश्यक पर्ने नीति, अनुसन्धान र विकासका लागि काठमाडौँ क्रिएटिभ आट्र्स काउन्सिल (केसीएसी, केएमसी) स्थापना हुनेछ । यसले सांस्कृतिक र रचनात्मक कलाअन्तर्गतका सबै कार्यक्रमहरू र गतिविधिहरू कार्यान्वयन गर्नेछ ।

उद्योगमा आवद्ध क्षेत्रगत जनशक्तिको शैक्षिक क्षमता सुधार, प्रशिक्षण, चलचित्र विषय अध्ययन हुने विद्यालय तथा विश्वविद्यालयबिच समन्वय सहकार्य गरेर स्थानीय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय चलचित्र निर्माण गर्न प्रतिभाहरुलाई प्रोत्साहन गरिने ।

चलचित्र उद्योगको विकासका लागि आवश्यक नीति तर्जुमा र वकालत गर्ने, सहरका लागि सांस्कृतिक र रचनात्मक रणनीति विकास गर्ने, अनुसन्धानकर्ताहरूका लागि वार्षिक रूपमा अनुसन्धान फेलोसिप प्रदान गर्ने, सीमान्तकृत र कमजोर समुदायसहित लक्षित वर्गलाई यसमा सहभागी हुन छात्रवृत्ति प्रदान गरिनेछ ।

चलचित्र र अन्य रचनात्मक उद्योगहरूका लागि विद्यमान पूर्वाधारलाई सुधार र स्तरोन्नति गरिनेछ । पारम्परिक वास्तुकला झल्काउने, सुन्दरता अभिवृद्धि हुने सरना निर्माण गरेर लागतप्रभावी चलचित्र निर्माणको वातावरण बनाइनेछ ।

ल्यान्डस्केप डिजाइन, विश्व सम्पदा क्षेत्रहरुको सुधार, पूर्वाधार स्तरवृद्धि, वास्तुकला संवर्धनहरू, चलचित्र निर्माणको कथा कथन र सौन्दर्यशास्त्रमा योगदान पुर्‍याउने दृश्यात्मक मनमोहक स्थानहरू उपलब्ध गराइनेछ । चलचित्र स्टूडियो, पोस्ट उत्पादन सुविधाहरू, चलचित्र विद्यालयहरु, उद्योगका विधागत सिप र सिकाइहरुलाई सञ्जालमा आवद्ध गरेर प्रवर्धन गरिनेछ ।

अभिलेख, पुस्तकालय र संग्रहालयको विकास हुनेछ । स्थानीय सांस्कृतिक र रचनात्मक उद्यमीलाई र साना र मध्यम आकारका उद्यम सञ्चालन गर्न सहयोग गरिनेछ । तथ्य तथ्याङ्क निर्माण गरिनेछ । व्यञ्जन, कला र शिल्प, हस्तकला उद्योगको प्रवर्र्धन र मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्न महोत्सव र प्रदर्शनीहरूको आयोजना गरिनेछ ।

अन्तरराष्ट्रिय स्तरका उद्यमीलाई सञ्जालमा जोड्न अन्तरराष्ट्रिय चलचित्र महोत्सव, फिल्म एक्स्पो, फिल्म समिट जस्ता सञ्चालन गरिनेछ । यसले विश्वभरका चलचित्र निर्माता, लगानीकर्ता तथा वितरकलाई सञ्जालमा जोड्नेछ । यसबाट अन्तरराष्ट्रिय साझेदारी र सहयोगका क्षेत्र विस्तार हुनेछन् । सदस्य अन्तरराष्ट्रिय नगरहरुमा विद्यार्थी, कलाकार, अनुसन्धानकर्ता र साझेदार बिच ज्ञान, सिप र अनुभव आदान प्रदानको वातावरण प्रदान गरिनेछ ।

युनेस्को क्रियटिभ सिटीज नेटवर्क (युसीसीएन) का कार्यक्रम सञ्चालनका लागि महानगरपालिकाले ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।
महानगर गौरव तथा स्वर्णिम योजना र विभागहरुले सञ्चालन गर्ने क्रियाकलापका अन्तरसम्बन्ध स्थापित गर्दै लगिनेछ ।

यो कार्यक्रम देशको पहिचान निर्माण गर्ने कार्यक्रम हो । राष्ट्रिय अर्थतन्त्र, रोजगार, उद्यमशीलतासँग सम्बन्धित कार्यक्रम हो । यसको सफलताका लागि हामी सञ्चार जगतबाट सहयोग र समर्थनको अपेक्षा गरेकाे काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जारी गर्नुभएको बिज्ञप्तिमा उल्लेख छ ।