७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन

वैकल्पिक पेसा रोज्दै मुसहर समुदाय

वैकल्पिक पेसा रोज्दै मुसहर समुदाय
अ+ अ-

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मुसहर बस्तीका १८ मुसहर परिवार वैकल्पिक पेसातर्फ लागेका छन् । नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएका उनीहरुले माछा मार्न छाडेर आर्थिक उपार्जनका लागि अन्य वैकल्पिक पेसातर्फ लागेका हुन् ।

केही वर्षअघिसम्म काँधमा जाल बोकेर नदीमा माछा मार्न जाने बमबहादुर मुसहर हिजोआज साइकलमा तरकारी बोकेर हाटबजार जाने गर्नुहुन्छ । “वैकल्पिक पेसा नखोजे त भोकै मरिन्छ । तरकारी बेचेर मनग्य कमाइ भइरहेको छ । जीविकोपार्जनमा पनि सहज हुँदै गएको छ”, उहाँले भन्नुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती छेउको सानो घर र घरनजिकैको सामूहिक प्लटमा आफैँले फलाएका स्थानीय जातका तरकारी बेच्ने बमबहादुर कहाँ ग्राहक झुम्मिने गरेका छन् । उहाँले लुँडे, खोले साग, फर्सीको मुन्टा, लोकल खुर्सानी, केरुङ साग, मकै, बोडी र ताजा निगुरो बेच्नुहुन्छ । कावासोती हाटबजारमा प्रत्येक हप्ताको सोमबार, बुधबार र शनिबार बमबहादुर साइकलमा तरकारी बोकेर हाट लाउन जाने गर्नुभएको छ ।

“नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएको हाम्रो परिवार अहिले तरकारी बेच्न हाटबजार आउने गरेका छौँ”,उहाँले भन्नुभयो, “पुगेसम्म त आफैँले उत्पादन गरेका तरकारी बेच्छु । व्यापार त गर्नै पर्छ, कहिलेकाहीँ स्थानीय उत्पादन पनि खरिद गरेर बेच्ने गरेको छु ।”

पूख्यौली पेसा सङ्कट आउन थालेपछि आफूहरू वैकल्पिक आयआर्जनको बाटोतर्फ लागेको स्थानीयवासी रमिया मुसहरले बताउभयो । “हुन त हाम्रो परम्परागत पेसा माछा मार्ने नै हो तर यो पेसामा समस्या आउन थाल्यो । नदीमा माछा पाइन छाड्यो”, उहाँले भन्नुभयो, “निकुञ्जको निगरानी पनि बढ्दै गयो । गैँडा, बाघलगायत जङ्गली जनावरको जोखिम भएकाले मुसहर समुदाय पेसा परिवर्तनतर्फ लागेका हौँ ।”

पछिल्लो समय कृषि पेसाबाटै जीविकोपार्जन गर्दै आउनु भएका स्थानीयवासी धर्मबहादुर मुसहर मछुवारी पेसाभन्दा खेतीकिसानीले परिवारमा केही खुसियाली थपिएको बताउनुभयो । उहाँका अनुसार केही मुसहर परिवारले बस्ती छेवैको खाली जग्गामा खनिएको माछा पोखरीमा रहु, नैनी, कमनलगायतका उन्नत जातका माछा पालेर थप आयआर्जन पनि गर्ने गरेका छन् ।

माझी, मुसहर र बोटे समुदायका मानिसमा चेतनाको विकास भएसँगै माछा मारेर मात्र जीवन नचल्ने देखेर अन्य पेसा अँगाल्ने क्रम बढेको स्थानीयवासी सन्तबहादुर माझीले बताउनुभयो । “माझी, मुसहर र बोटे समुदायका मानिसहरू अहिले खेतीपाती, ज्याला मजदुरी, वैदेशिक रोजगारी र कतिपय सिकर्मी/डकर्मी पेसातर्फ उन्मुख भएका छन्”, उहाँले भन्नुभयो, “पहिलेपहिले तराई क्षेत्रमा आवादी खुले पनि राज्यसँगको पहुँच नहुँदा जग्गा, जमिन जोड्ने कुराबाट वञ्चित मुसहर समुदाय कतिपय स्थानीय बस्तीका किनारमा झन्डै दुई पुस्तादेखि भूमिहीन अवस्थामै छन् ।”

नदी, खोलाको माछा र निकुञ्जको निगुरो, तामामा आश्रित यो समुदाय पेसा परिवर्तन गरेर निकुञ्जबाट बाहिर निस्कने प्रयास गरे पनि आर्थिक उत्थानमा राज्यको नजरबाट भने ओझेलमै रहेको उनीहरुको गुनासो छ । रासस