१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगञ्जमा सामाजिक सद्भाव बनाउने, कर्फ्यू खुकुलो बनाउने सर्वपक्षीय सहमति



नेपालगञ्जमा निषेधाज्ञा
अ+ अ-

बाँके: नेपालगन्जमा उत्पन्न तनाब कम गर्ने उपायको खोजी गर्न बसेको सर्वपक्षीय र सर्वदलीय बैठकले सामाजिक सद्भाव भड्काउने, धार्मिक विद्वेष फैलाउने तथा धार्मिक आस्थामा आँच आउने क्रियाकलाप गर्ने जो कोहीलाई तत्काल कारबाही गर्ने निर्णय गर्दै मंगलबारबाट जारी कर्फ्यू बिहीबारदेखि खुकुलो बनाउने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विपीन आचार्यको संयोजनमा शान्ति र सद्भाव कायम गर्न भन्दै बसेको सर्वपक्षीय बैठकले मंगलबारदेखि जारी कर्फ्यूलाई क्रमश: खुकुलो बनाएर पूर्णरुपमा हटाउन जिल्ला सुरक्षा समितिलाई आग्रह गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेयले नेपालगन्जको तनाव कम गर्ने विषयमा सबै क्षेत्रमा प्रतिनिधित्व गर्नेहरुको सामुहिक बैठकले यसको निकास खोजेको बताउनुभयो ।

बैठकमा सबै दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु, धर्मगुरु, व्यवसायिक संस्थाका प्रतिनिधि सबैको सहमतिमा सद्भाव कायम गर्न सामुहिक पहल गर्ने, बिहीबारदेखि कफ्र्यू खुकुलो बनाउने सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सो बैठकले शान्ति सुरक्षाको वर्तमान अवस्थालाई पूर्णरुपमा सामान्य अवस्थामा ल्याउने सबै पक्षले समन्वय गर्ने सहमति जनाउँदै अब उप्रान्त सद्भाव भड्किन नदिने सामुहिक प्रतिबद्धता जनाएका छन् । उनीहरुले सबै क्षेत्र, तह र तप्काको उल्लेख्य सहभागिता हुने गरी सद्भाव र्याली निकाल्ने निर्णयमा सहमतिसमेत गरेका छन् ।

बैठकमा बाँके ३ का प्रतिनिधिसभा सदस्य डा धवलसम्शेर राणा, प्रदेशसभा सदस्य कृष्णा केसी, पूर्वमन्त्री मोहम्मद इस्तियाक राई, नेपाल प्रहरीका प्रदेश प्रमुख डीआईजी उमेशराज जोशी, बाँकेस्थित राजनीतिक दलका नेता, धार्मिक संघसंस्थाका अगुवाहरुको सहभागिता रहेको थियो ।

सामाजिक सन्जालमा धार्मिक विषयमा लेखेको विषयमा विवाद बढ्दै गएपछि दुवै पक्षबीच तनाव बढ्दै गएको हो । धार्मिक विवाद बढ्दै गएपछि थव विवाद बढ्न नदिन मंगलबार दिउँसो १ बजेबाट नेपालगन्जमा लगाइएको अनिश्चितकालीन कफ्र्यू अहिले पनि कायम रहेको छ ।