५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

कृत्रिम खुट्टाको सहारामा हिँड्न पाउँदाको खुसी

कृत्रिम खुट्टाको सहारामा हिँड्न पाउँदाको खुसी
अ+ अ-

महोत्तरी । बर्दिबासमा कृत्रिम खुट्टा जडानपछि टकटक हिड्दै छिमेकको धनुषा जिल्लाको मिथिला नगरपालिका–५ ढल्केवरका ८१ वर्षीय सूर्यदेव महतोले उत्साहित हुँदै भन्नुभयोे “बौवा, आब लगैय, जे ऐखनो किछ क सकैछी (बाबु, अब लाग्दैछ, अझै केही गर्नसक्छु)।” बत्तीस वर्षअघि कुटानी पिसानी मिलको फित्तामा बेरिएर देब्रे खुट्टा गुमाउनु भएका उहाँले अब गर्‍हुङ्गो काम गर्न नसकेपनि खेतबारी हेरचाह र घर ओरपरका काम सजिलै गर्नसक्ने बताउनुभयो ।

“हेर्नुस न, केही अप्ठ्यारो छैन, सजिलै हिडीरहेछु सोमबार साँझ कृत्रिम खुट्टा जडानपछि केहीबेर हिँडेर देखाउँदै उहाँले भन्नुभयो, “अब फेरि ३२ वर्षपछि घरब्यवहारका काममा लाग्नसक्छु भन्ने विश्वास जागेको छ । ”

छिमेकि मुलुक भारतकी २५ वर्षीया कौशल्या पाण्डेलाई पनि बर्दिबासमा कृत्रिम खुट्टा जडानपछि हिँड्न पाउँदा जीवनमा के केन पाए झैँ भएको छ । “मैले कहिल्यै सोच्न सकेकी थिइन, कुनै दिन दुबै गोडा चालेर हिडौँला भनेर”, सोमबार नै बर्दिबासमा देब्रे गोडामा कृत्रिम खुट्टा जडानपछि पिता रघुवीर पाण्डेसँगै हिड्दै भेटिनुएकी उहाँले भन्नुभयो, “अब लाग्दैछ, जीवनमा धेरै कुरा गर्न पाइन्छ र सकिन्छ ।” भारतको बिहारस्थित सीतामढी जिल्लाको सोनबरसा निवासी कौशल्याले मङ्गलबार बिहान कृत्रिम खुट्टा जडानका लागि बर्दिबास आइपुग्दा यहाँ नेपालीबाट पाएको स्नेह र आत्मीयताले उच्च मनोवलका साथ केही गर्नसक्छु भन्ने आँट बोक्दै घर फर्कन लागेको बताउनुभयो ।

लाउँलाउँ खाउँखाउँको १८ वर्षे उमेरमा क्यान्सरले गाँजेर १८ वर्षअघि देब्रे गोडा काट्नुपरेका सर्लाहीको मलङ्गवा–३ का २६ वर्षीय रैजुल बैठाले कृत्रिम खुट्टा लगाएर मज्जाले हिड्न पाइएको खुशीमा आँसुबाट आँसु झार्नुभयो । “किशोर उमेरमै क्यान्सरले गाँज्यो, खुट्टा काटियो” उहाँले भन्नुभयो, “आज १८ वर्षपछि फेरि दुबै खुट्टा टेकेर हिँड्ने भएको छु ।”

महतो, पाण्डे र बैठासँगै सोमबार साँझसम्म नौ जनामा कृत्रिम खुट्टा र दुई जनामा कृत्रिम हात जडान गरिएका थिए । हात गोडा नहुँदा आफ्नो जीवन र परिवारजनका लागि बोझ बनिरहेका बेला कृत्रिम हातखुट्टा जडानले नयाँ आशा जगाएको सेवा लिनेले बताए ।

“सोमबार साँझ त खुट्टा हालियो, अहिले हेर्नोस् फटाफट हिँड्दैछु” पाँचथरदेखि खुट्टा जडानका लागि आउनुभएका सुवाङ्ग–५ का ६० वर्षीय सन्तबहादुर तामाङ्ले भन्नुभयो, “आफैँलाई बोझिलो लाग्दै आएको जीवनले फेरी नयाँ आस पलाइदियो ।” पाँच वर्ष पहिलेको सडक दुर्घटनाले दाहिने खुट्टा गुमाउनुभएका तामाङ्ले यो शिविर जीवनदायिनी बुटी भएको बताउनुभयो ।

गत आइतबार सुरु भएको कृत्रिम हातखुट्टा जडान शिविरमा नौ जनाको कृत्रिम खुट्टा र दुईजनामा कृतिम हात जडान भइसकेको आयोजक संस्था रोटरी क्लव अफ बर्दिबासले जनाएको छ । अहिलेसम्म महतो, पाण्डे, बैठा र तामाङका अतिरिक्त महोत्तरीको पिपरा–३ का ७१ वर्षीय जुवियर पासवान, बारा जिल्लाको पर्सौनी–९ का ५२ वर्षीय भोला गोसाइँ, बाराकै जितपुर सिमरा–२१ का ५५ वर्षीय दिलिपकुमार झा, महोत्तरीको औरही–८ का ३६ वर्षीय राजदेव यादव र महोत्तरीकै बर्दिबास–१ का ३२ वर्षीय प्रदीप आचार्यमा कृत्रिम खुट्टा जडान गरिएको रोटरी क्लव अध्यक्ष कृष्णप्रसाद गौतमले जानकारी दिनुभयो । त्यसैगरी सोमबार साँझसम्म धनुषाको मिथिला–२ का २३ वर्षीय रोशनकुमार महतो र महोत्तरीको औरही–६८ वर्षीय रामचन्द्र चौधरीमा पनि कृत्रिम हात जडान भइसकेको उहाँले जानकारी दिनुभयो ।

“कृतिम हातखुट्टा जडानका लागि चार बांग्लादेशी र दुई नेपालीसहित छ दक्ष प्राविधिक छन्, एक जनाको जडानमा दुई जना लाग्नुपर्ने र यो क्रम सम्पन्न हुन छ घण्टा लाग्दोरहेछ, त्यसैले दिनमा पाँचभन्दा बढीलाई सेवा दिन नसकिने रहेछ” अध्यक्ष गौतमले भन्नुभयो, “तर जति दिन लागोस्, खुट्टा जडानका लागि आउने कोही त्यसै फर्कने छैनन्, कृतिम हातभने यो शिविरमा पर्याप्त छैन, १२ जनालाईमात्र यो सेवा दिन सकिन्छ ।” अहिलेसम्म खुट्टा जडानका लागि ९० जनाको नाउँ दर्ता भएको र ती सबैलाई दर्ता क्रमअनुसार जडान मिति तोकेर बोलाइने उहाँको भनाइ थियो।

कृत्रिम हातखुट्टा जडानमा रोटरी क्लव अफ वीरगञ्जका दुई र नूतन कदम ९नयाँ खुट्टा० ट्रष्ट बाँग्लादेशका चार दक्ष प्राविधिक छन् । शिविरमा रोटरी क्लव अफ जयपुर भारतको प्रविधिमा बनेका गुणस्तरीय कृतिम हातखुट्टा प्रयोग गरिएकोे जनाइएको छ ।

शिविर आयोजनाबारे एक महिना पहिले तालिका बनाएर पत्रकार सम्मेलन गरिएपछि टाढाटाढासम्म सूचना पुगेको आयोजक क्लवको ठम्याइ छ । शिविरमा सेवाका लागि मधेश प्रदेशका जिल्लामात्र नभएर पूर्वी नेपालका सोलुखुम्बु, ताप्लेजुङ्ग, पाँचथर र पश्चिमको दाङ जिल्लाका सेवाग्राहीले नाउँ दर्ता गराएका अध्यक्ष गौतमले बताउनुभयो । यसैगरी वागमती प्रदेशका बिभिन्न जिल्ला र मित्रराष्ट्र भारतको बिभिन्न जिल्लाका बासिन्दाले पनि कृतिम हातखुट्टा जडानका लागि नाम दर्ता गराएका छन् ।

“हामीले मानवीय सेवाको यो शिविरमा जाति, क्षेत्र, भाषा, धर्म र राष्ट्रियताको सर्त राखेका छैनौ, संसारका जहाँसुकैका जोसुकै होउन्, हामीले सेवा गर्न पाउँ भनेका छौँ” अध्यक्ष गौतमले भन्नुभयो, “शिविरमा प्राप्त भइरहेको समर्थन र सहयोगले उत्साह थपेको छ ।”

आयोजक रोटरी क्लवले यसअघि १० दिन शिविर चलाइने भनेपनि सेवाग्राहीको बढ्दो सङ्ख्याले अब सम्पर्कमा आएका सबैलाई सेवा दिनेगरी दिन थपिने स्पष्ट पारेको छ । शिविरमा बंगलादेशी चार प्राविधिक पनि यहाँको आत्मीय ब्यवहार र हेलमेलबाट उत्साही छन् । नूतन कदम ट्रष्टका प्राविधिक टोली प्रमुख नजमुल हशनले नेपालीसँगको हेलमेल र आत्मीय ब्यवहारले बढीभन्दा बढी काम गर्न ऊर्जा प्राप्त भइरहेको बताउनुभयो । रासस