५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

अर्थदेखि कलाकार जोगाउने चुनौतीका बीच बालनलाई निरन्तरता

अर्थदेखि कलाकार जोगाउने चुनौतीका बीच बालनलाई निरन्तरता
अ+ अ-

गण्डकी । आधुनिकताका नाममा प्राचीन मौलिक संस्कृतिहरू हराउँदै गएको अवस्थामा पोखरा महानगरपालिका–३२ स्थित राधाकृष्ण सांस्कृतिक समूहले भने पौराणिक संस्कृतिमा आधारित बालनलाई निरन्तरता दिँदै आएको छ ।

नयाँ वाद्यवादनका साथै डिस्को डान्समा नयाँ पुस्ता झुम्मिन थालेको अवस्थामा हजुरबुबादेखि नाति पुस्तासम्मका सबै व्यक्तिहरूको सक्रियतामा बालनलाई निरन्तरता दिन खोजिएको हो ।

श्रीकृष्ण जन्माष्टमी र रामनवमीजस्ता विशेष धार्मिक पर्वमा कृष्ण चरित्र, श्रीराम चरित्र आदिमा आधारित कलाकारले देखाउने बालनहरू पछिल्ला पुस्तामा हराइसकेको राधाकृष्ण सांस्कृतिक समूहका अध्यक्ष सञ्जय ढकालले बताउनुभयो ।
आधुनिकताका नाममा पछिल्लो समयमा प्राचीनकालदेखि सञ्चालन हुँदै आएका यस्ता मौलिक संस्कृति संरक्षणको अभावमा समाजबाटै हराउने हो कि भन्ने चिन्ता बढेको उहाँको भनाइ थियोे । नयाँ पुस्तामा जाग्दै आएको आधुनिक संस्कृतिप्रतिको मोहका साथै प्राचीन संस्कृतिप्रतिको बेवास्ताले यी संस्कृतिहरू सङ्कटमा पर्दै गएको अवस्थामा यस समूहले बालनलाई निरन्तरता दिँदै आएको अध्यक्ष ढकालले उल्लेख गर्नुभयो।

समूहले पहिला कृष्णबालन देखाउन सुरु गरे पनि पछिल्ला समयमा भगवान् रामचन्द्रको लीलामा आधारित बालन देखाउँदै आएको छ ।

अर्थ व्यवस्थापनका साथै कलाकार जोगाउने विषयले बालनको निरन्तरताका लागि समस्या पर्ने गरेको बताउँदै उहाँले एउटा बालनको तयारीका लागि झन्डै रु १५ लाख आवश्यक पर्ने जानकारी गराउनुभयो । “श्रीराम चरित्रमा आधारित बालन सञ्चालन गर्न करिब ४०/५० कलाकार आवश्यक पर्छ”, अध्यक्ष ढकालले भन्नुभयो, “एक पटकमा बालन देखाउन करिब रु चार लाखसम्मको शृङ्गारका समान आवश्यक पर्दछ भने त्यही रुपमा वाद्यवादनका सामान आवश्यक पर्दछन् ।”

पछिल्लो पुस्ताका युवा प्राचीन संस्कृतिमा आधारित अभिनय गर्न नचाहने र आर्थिक स्रोतको दीर्घकालीन व्यवस्थापनको चुनौतीसँगै बालनलाई निरन्तरता दिन समस्या पर्ने गरेको समूहका सचिव पुष्पराज शर्मा पौडेलले जानकारी दिनुभयो ।

यस समूहले २०७२ सालमा कृष्णबालन सुरु गरेको बताउँदै उहाँले त्यसका लागि ७०/८० जनासम्म कलाकार लाग्ने भएकाले त्यसलाई निरन्तरता दिन नसकिएपछि श्रीराम चरित्रमा आधारित बालन सुरु गरिएको उहाँको भनाइ थियोे ।

“कलाकारकै जोहो गर्न नसकेपछि हामीले ठूलो सङ्ख्यामा कलाकार चाहिने कृष्णबालन छोडेर त्यसभन्दा केही कम कलाकार लाग्ने श्रीराम चरित्रमा आधारित बालन देखाउन लागेका हौँ”, सचिव पौडेलले  भन्नुभयो, “बालन सञ्चालनका लागि दीर्घकालीन आर्थिक स्रोत नभएका कारण पनि मुस्किल पर्ने गरेको हो ।” कृष्णबालनमा कलाकार सङ्ख्याको एक तिहाइ महिला कलाकार आवश्यक पर्दछ । कृष्णबालनमा गोपिनीहरूको सङ्ख्या धेरै चाहिने हुन्छ भने श्रीराम चरित्रमा आधारित बालनमा बाँदरका सेना तयार गर्न धेरै कलाकार आवश्यक पर्दछ ।

पौराणिक समयमा भारद्वाज ऋषिले आफ्नो आश्रममा प्रवेश गर्दा कृष्णलीलामा आधारित बालन खेल्न बालनेलाई निमन्त्रणा गरेको स्मरण गर्दै यो नाच नाच्ने चलन सुरु भएको विश्वास छ । श्रीकृष्णका मातापिताको जन्मदेखि कृष्णजन्म हुँदै कंश बधसम्मका घटनाक्रमलाई बालने कलाकारले जीवन्त चित्रण गर्दछन् । कृष्णबालनका लागि लगभग चार घण्टा समयावधि लाग्ने कलाकारहरू बताउँछन् । देवीदेवताको गुणगानमा आधारित बालन पृथ्वीको सृष्टिकालदेखिका भगवान्का लीला र अवतारको वर्णनमा आधारित हुँदै आएको संस्कृतिका रुपमा लिइन्छ । गीता, महाभारत, रामचरित्र, कृष्णचरित्र र भगवान्का दस अवतारलाई लिएर बालन सञ्चालन गर्ने प्रचलन छ ।

समूहलाई दीर्घकालीन बालन सञ्चालनका लागि राज्यका तर्फबाट कुनै सहयोग प्राप्त नभएको अवस्थामा समाजसेवी झलकप्रसाद खनालले व्यक्तिगतरुपमा बालन सञ्चालनका लागि रु तीन लाखको अक्षयकोष स्थापना गरिदिएका कारण त्यसबाट केही राहत पुगेको उहाँले जानकारी दिनुभयो । खनालले समूहका लागि साउन्ड सिस्टमको पनि सहयोग गर्नुभएको छ ।

समूहको मागअनुसार समय समयमा भजनकीर्तन प्रस्तुत गरी केही आर्थिक स्रोत जुटाएर कार्यक्रमहरू सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

एक पटक बालन देखाउनका लागि करिब एक महिनासम्मको अभ्यास गर्नुपर्दछ । त्यसैले समयको व्यवस्थापन पनि यसमा महत्वपूर्ण मानिएको छ । सुरुमा बालन सञ्चालन गर्न आवश्यक गरगहना, शृङ्गार सामग्री खरिदका साथै बालने कलाकार तयार गर्न तालिम अपरिहार्य हुने राधाकृष्ण सांस्कृतिक समूहका संस्थापक अध्यक्ष एवम् राष्ट्रिय लोक भजन चुड्का प्रतिष्ठान नेपालका केन्द्रीय उपाध्यक्ष भुलाप्रसाद भण्डारीले बताउनुभयो ।

आर्थिक अभावसँगै तालिमप्राप्त कलाकारमध्ये ज्येष्ठ नागरिक अशक्त हुनु, युवा वैदेशिक रोजगारीमा र महिला कलाकार विवाह भएर जानेलगायत कारण कलाकार जोगाउन चुनौतीपूर्ण बनेको उहाँको भनाइ थियो । पछिल्ला समयमा प्राचीन मौलिक संस्कृतियुक्त बालनहरू पाल्पा, गोरखा, बाग्लुङ, लम्जुङ, तनहुँ, स्याङ्जालागयतका जिल्लामा पनि देखाउन थालिएको बताउँदै भण्डारीले देशका अन्य भूभागमा पनि बालन जगेर्ना गर्न खोजिएको जानकारीमा आएको बताउनुभयो ।

संस्कृतिको जगेर्नाका लागि प्रतियोगिता

राधाकृष्ण सांस्कृतिक समूहले प्राचीन संस्कृतिको जगेर्ना  गर्ने उद्देश्यले प्रत्येक वर्षको श्रीकृष्ण जन्माष्टमीका अवसरमा श्रीकृष्ण जन्माष्टमी महोत्सव तथा खुल्ला भजन चुड्का प्रतियोेगिता गर्दै आएको छ । संस्था स्थापनाको १२ वर्ष पुगेको जानकारी गराउँदै अध्यक्ष ढकालले यस वर्ष आठौँ संस्करणको महोत्सव, प्रतियोगितासँगै झाँकी प्रदर्शन गर्न लागिएको जानकारी दिनुभयो ।

प्रतियोगिताका लागि विभिन्न २४ वटा समूह सम्पर्कमा आइसकेको बताउँदै उहाँले कालीका गन्धर्व समाजको नचरी, नेपाल पुनमगर समाजको सोरठी, गगन नेवा: खलको लाखे नाचजस्ता विभिन्न झाँकी प्रदर्शन गर्न लागिएको जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमश: रु चार हजार पाँच सय, रु तीन हजार पाँच सय, रु दुईहजार पाँचसय र रु एक हजार पाँचसय पुरस्कार प्रदान गरिने जनाइएको छ । बर्सेनि गर्दै आएको यस प्रतियोगिताले प्राचीन मौलिक संस्कृतिको जगेर्नामा टेवा पुगेको अध्यक्ष ढकालले बताउनुभयो । रासस