काठमाडौं । केही दिनअघि ‘महिला स्वास्थ्य’ विषयक छलफलमा मलाई वक्ताका लागि आग्रह गरियो । नेपालका थुप्रै जिल्लाका विद्यार्थी, सामाजिक कार्यकर्ता, राजनीतिकर्मी तथा गैरसरकारी संस्थाका प्रतिनिधिमाझ विचार राख्ने मौका पाउँदा म दंग थिएँ ।
छलफलको सुरवात मै मैले सहभागीहरूलाई सोधें, ‘महिला स्वास्थ्य भन्नाले के बुझ्नुहुन्छ ?’ सबैको लिखित जवाफ आयो- प्रजनन स्वास्थ्य, परिवार नियोजन, महिनावारी, सुत्केरी, पिसाब चुहिने, पाठेघर क्यान्सर, कुपोषण आदि ।
अनि ‘पुरुष स्वास्थ्य भन्नेबित्तिकै मनमा जे आउँछ, त्यही लेख्नुस्’ भनेर आग्रह गरे । सबैले लेख्नुभयो- मोटोपन, फोक्सोको क्यान्सर, मधुमेह, उच्च रक्तचाप, टाउको दुख्ने, पक्षाघात आदि । त्यसपछि मैले प्रश्न गरें, ‘के महिलालाई यी समस्या हुँदैनन् रु’ सबैको एउटै जवाफ आयो, ‘हुन्छ नि, किन नहुनु ?’
महिलाका स्वास्थ्य समस्यालाई हामी प्रजनन स्वास्थ्य, त्यो पनि पाठेघरको समस्या, सुत्केरी र महिनावारीसँग मात्र जोडेर हेर्छौं । उनीहरूका शारीरिक, मानसिक, सामाजिक स्वास्थ्यबारे छलफलै हुन्न ।
अर्कातिर, प्रजनन स्वास्थ्यसम्बन्धी समस्या पुरुषको पनि हुन सक्छ भन्ने विचारै गरिन्न । महिलालाई मुटुको रोग, फोक्सोको क्यान्सर, पक्षाघातजस्ता पुरुषलाई हुने सम्पूर्ण समस्या हुन्छन् । महिलाको पाठेघर एउटा विशिष्ट अंग भएकाले त्यहीसँग सम्बन्धित समस्यालाई मात्र महिला स्वास्थ्य रहेको आमबुझाइ छ ।
महिला स्वास्थ्यका अनेक पक्षबारे छलफल नहुनुको कारण खोज्न सजिलो छैन । स्वास्थ्य भन्नेबित्तिकै डाक्टर, नर्स, सुई, अस्पताल, स्वास्थ्य चौकी, उपचार कक्ष मात्र हाम्रो दिमागमा आउँछ । हामी स्वास्थ्यलाई विशुद्ध चिकित्सा विज्ञान र शरीर विज्ञानको आँखाले मात्र हेर्छौं । स्वास्थ्यको सामाजिक पक्षबारे बहस प्रायः हुँदैन ।
प्रजनन स्वास्थ्यबारे नबोली ‘महिला स्वास्थ्य’ को छलफल पूर्ण हुँदैन तर यसैलाई मात्र सम्पूर्ण महिला स्वास्थ्य ठान्दा बहस अपूर्ण हुन्छ; प्रजनन स्वास्थ्यको बहस र बुझाइ पनि कमजोर हुन्छ । स्वास्थ्यको समाजशास्त्र नबुझी बहस गर्नु ससाना नानीहरूले आँखामा पट्टी बाँधेर पुच्छर, खुट्टा, सूँढ समाएर त्यसैलाई मात्र ‘हात्ती’ भन्नुजस्तै हो ।
२० वर्षअघि सुदूरपश्चिममा ‘महिला स्वास्थ्य’ शिविर राख्दा धेरैजसो महिला प्रजनन स्वास्थ्यकै समस्या लिएर आए । धेरैमा पाठेघर खस्ने समस्या थियो तर यसो हुनुको कारण डाक्टर वा अस्पताल नहुनु मात्र थिएन । कुपोषण, कामको बोझ, छोरो पाउनै पर्ने बाध्यताले पनि ‘पाठेघर खस्ने’ समस्या विकराल भएको थियो ।
अफसोस, हामीमा यस्ता सामाजिक समस्या हल गर्ने तागत थिएन । हामीले उनीहरूको उपचार त गर्यौं, शल्यक्रिया गर्न वकालत पनि गर्यौं तर जथाभावी ‘पाठेघर’ काटेर फ्याँक्ने शल्यक्रियाले महिलामा अन्य स्वास्थ्य समस्या थपिए ।
त्यति बेला ५० वर्षीय एक पुरुष आफ्ना तीन श्रीमतीसँगै शिविरमा आए र भने, ‘डाक्टर साब, मेरा यी दुई श्रीमतीबाट बच्चा भएन, तेस्रो विवाह गरेपछि एउटी छोरी छ । यी दुईको किन बच्चा भएन, हेर्दिनुस् त !’ २० वर्षकी उनकी कान्छी श्रीमती २ वर्षीया छोरी काखमा च्यापेर लजाउँदै हामीनजिक उभिएकी थिइन् । हामीले ती पुरुषलाई भन्यौं, ‘यस्तो समस्या भएपछि तपाईले पनि जाँच गराउनुपर्छ नि !’ हाम्रो कुराले ती पुरुष अलि आवेशमा आए र भने, ‘मैले किन जाँच गराउने ? हट्टाकट्टा छु, तीनवटी श्रीमती सम्हालेको छु । श्रीमतीहरू पो कमजोर छन् ।’
हामीले उनलाई सम्झाइबुझाइ जाँच गर्दा थाहा भयो- उनको शुक्रकीट त शून्य रहेछ । अनि हामीलाई धर्मसंकट पर्यो । यदि उनलाई सत्य कुरा भन्ने हो भने, कान्छी श्रीमतीको बिचल्ली हुने, नभन्नु पनि कसरी ? अनि हामी सबै मिलेर उनको परिवारलाई हानि नहुने जुक्ति निकाल्यौं र भन्यौं, ‘तपाईकी छोरी दुई वर्षकी भइन् । यो बीचमा तपाईलाई घाँटी दुखेको, हाँडे र ज्वरो आएको थियो कि, सम्झनुस् त ?’ उनले भने, ‘मलाई एक वर्षअघि हाँडे र ज्वरो आएको थियो ।’ अनि हामीले भन्यौं, ‘त्यो हाँडेका कारण तपाईको शुक्रकीट शून्य भएको छ । अब यही छोरी मात्र हो तपाईकी सन्तान ।’ यो अलि अलि झुटो त बोलेको नै हो हामीले ।











