• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

मनाङका किसानले स्याउ टिप्न थाले



फाईल फोटो

मनाङ । हिमाली जिल्ला मनाङमा किसानले स्याउ टिप्न थालेका छन् । जिल्लाको तल्लो क्षेत्रमा लगाइएका गाला, मेमा र रेड डेलिसियस प्रजातिका स्याउ टिप्न थालिएको हो । यहाँ विभिन्न स्याउमध्ये गाला, मेमा र रेड डेलिसियस, फुजी, किकु, रेड जोना, प्रिन्स र गोल्डेन प्रजातिका स्याउ उत्पादन हुँदै आएका छन् ।

मनाङमा लगाइएका विभिन्न प्रजातिमध्ये गाला, मेमा र रेड डेलिसियस स्याउ टिप्न थालिएको नासों गाउँपालिका–७ ताचैका किसान सोलबहादुर गुरुङले बताउनुभयो । “केही वर्षअघिदेखि लगाएका स्याउ अहिले फलेका हुन्, पाकेको छ, टिप्न थालेका छौँ”, उहाँले भन्नुभयो । टिपेका स्याउ प्याकेजिङ गरी सुरक्षितरुपमा बजारसम्म पुर्‍याउने गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै नासों–९ स्थित दानाक्यु एग्रो फार्ममा लगाइएको स्याउ पनि टिप्न थालिएको छ । पाँच जनाको समूहमा स्याउखेती गरेका फार्मका सञ्चालक राज गुरुङले यस समयमा पाक्ने प्रजातिको स्याउ टिप्न थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीयदेखि विभिन्न प्रजातिका विकासे स्याउ अहिले टिप्ने अवस्था भएको छ ।

त्यसैगरी किसान सङ्गीता गुरुङ तमुले स्याउ टिपेर बजारमा पुर्‍याउन प्याकेजिङको काम भइरहेको बताउनुभयो । मनाङमा उत्पादित स्याउ नेपालकै विभिन्न बजारमा खपत हुने गरेको उहाँले जानकारी दिनुभयो । “स्याउ स्वादिलो र रसिलो हुनेहुँदा स्थानीय बजारमा नै खपत हुन्छ, विदेशसम्म पुग्नै पाउदैन”, उहाँले भन्नुभयो ।

यहाँ उत्पादित स्याउ बजारसम्म सुरक्षितरुपमा सग्लै पुर्‍याउन भने कठिन छ । सडकको अवस्था व्यवस्थित नहुँदा यहाँ उत्पादित स्याउ पूरै बिक्री हुन नपाएको किसान सोलबहादुरले बताउनुभयो । “बाटोका कारणले बिक्रीका लागि ल्याइएकामध्ये आधा फाल्नुपर्ने अवस्था छ, बजारसम्म पुग्ने सडक सहज भइदिएको भए किसान खुसी हुने थिए”, उहाँले भन्नुभयो ।

कृषि ज्ञानकेन्द्रका प्रमुख राजेश्वर सिलवालले मनाङमा उत्पादित स्याउ विशेषगरी काठमाडौँ र पोखराका बजारमा खपत हुने गरेको जानकारी दिनुभयो । “लामो बाटो छ, सहज बाटो छैन, जसले गर्दा उत्पादित वस्तुको मूल्य किसानले पाउन सकेका छैनन्, बाटो सहज भएमा यहाँका किसानको आय अझ वृद्धि हुन्छ”, उहाँले भन्नुभयो । कोभिड सङ्क्रमणको समयमा यहाँका स्याउ बजारसम्म पुर्‍याउन सकस भए पनि यस वर्ष स्याउको उत्पादन बढेको उहाँले बताउनुभयो ।

यस क्षेत्रमा वर्षा नभए पनि सुक्खा पहिरो खसिरहने भएकाले स्याउ बजारसम्म पुर्‍याउन सकस रहेको छ । बाटो सहज बनाउन समय लाग्ने भएमा यहाँको स्याउ बजारसम्म पुग्न नपाउँदै कुहिन सक्ने अवस्था रहेको छ । हाल सडकअवरुद्ध भएमा तत्कालै सहज बनाउनका लागि डुम्रे–बेंसीसहर–चामे सडक आयोजना कार्यालयले विभिन्न स्थानमा स्काभेटर राखेर सहज बनाउने काम गरेको छ ।रासस