४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा

कैलालीका बाढीपीडितको सडकमा बास

कैलालीका बाढीपीडितको सडकमा बास
अ+ अ-

टीकापुर । सोमबारदेखि सुरु भएको लगातारको वर्षाले कैलालीका बाढीजन्य विपद्को जोखिममा रहेका पालिकामा नागरिकलाई समस्या भएको छ । बाढीका कारण जोखिममा रहेका पालिकाका नागरिक घरबाट विस्थापित भएका छन् । बाढीले कैलालीको भजनीमा सबैभन्दा बढी परिवार विस्थापित भएका छन् । भजनीमा बाढीका कारण दुई हजार तीन सय परिवार विस्थापित भएका नौ सय बढी परिवार सडकमा बसिरहेका पालिकाले जनाएको छ ।

टीकापुर नगरपालिकामा तीन सय १६ घर डुबानमा परेका छन् । वडा नम्बर ६ मा दुई सय २६ र ७ का ९० गरी तीन सय १६ घर डुबानमा पर्दा दुई सय ३० परिवार विस्थापित भएका छन् । उनीहरुलाई उच्च घर, उच्च सडक तथा आफन्तकामा बस्ने व्यवस्था गरिएको छ ।

जानकी गाउँपालिका–४ र ७ मा बाढीले असर गरेको छ । त्यहाँ एक सय १५ घरपरिवार विस्थापित भई उच्च घरमा बसिरहेका र उनीहरुलाई तत्कालका लागि पालिकाले सुख्खा खानाको व्यवस्था गरेको छ ।

बाढीले सबैभन्दा बढी क्षति भजनीमा गरेको छ । भजनीकी राजकुमारी चौधरीको परिवार तीन दिनदेखि हुलाकी सडकमा छ । उहाँहरु बच्चासहित सडकमा हुनुहुन्छ । सडकको बसाईं कष्टकर भएको उहाँ बताउनुहुन्छ । “तीन दिनदेखि पानीमात्र खान पाइएको छ, घरमा भएको सबै खाद्यान्न बाढीमा भिज्यो होला”, उहाँ भन्नुहुन्छ, “बोकेर ल्याउन पनि पाइएन, अब जानसक्ने अवस्था पनि छैन । यहाँ बच्चाहरु भोकले आत्तिएका छन् ।”

छविराम पोखे्रलको परिवार पनि तीन दिनदेखि सडकमा छ । गाउँ पूरै जलमग्न भएपछि पोखेरेल र उहाँका छिमेकी ज्यान जोगाउन सडकमा आएका हुन् । “बाढी गाउँ पसेपछि ज्यान जोगाउन बस्तुभाउसहित सडकमा आयौँ”, उहाँ भन्नुहुन्छ, “पहिल्यै बाढी आउनसक्छ भनेकाले भाग्न सक्यौँ, घर कुन अवस्थामा छ थाह छैन ।”

बाढी आएका कारण भजनी–३ की गीता बजगाईं साना बच्चाका आमा र गर्भवतीलाई कठिन भएकाले सहयोगीलाई सहयोग गरिदिन आग्रह गर्नुहुन्छ । “गर्भवती तथा बच्चामा आमा समस्यामा छन्”, उहाँ भन्नुहुन्छ, “पानीमात्र खाएर बच्चाले कहाँ मान्छन् ?रकम भएकाले चाउचाउ, चिउरा मगाएका छन्, बच्चाहरुले खान मानेका छैनन् ।”

वडा नं ३ कै रतरानीदेवी चौधरी बाढी आएपछि हुलाकी सडकमा बसिरहनुभएको छ । उहाँको दुई वर्षको बच्चासहित दुई बच्चा साथमा छन् । उहाँ बच्चासहित सडकमा भुइँमै बस्नुभएको छ । रतरानीदेवीलाई बच्चाले निकै सताएको छ । “भुइँमा दुई रात सुतियो, दुई बच्चा छन्, घाम, पानी र लामखुट्टेले सताए”, उहाँ भन्नुहुन्छ, “भोकभोकै, बच्चाको पीडा, सडकको बास दुई वर्षजस्तै भएको छ ।”

त्यसैगरी भजनी नगरपालिका–८ का खेमराज जैसी र उहाँका छिमेकी पनि घर छोडेर सडक र आफन्तकहाँ आश्रय लिइरहेका छन् । बाढी प्रभावित बस्तुभाउसहित सडकमा बसिरहेका छन् । काढाढिककै सपना विकको १२ जनाको परिवार पनि बाढीका कारण सडकमै छ । उहाँहरुले पानीबाहेक केही खान नपाएको सपना बताउनुहुन्छ । “सरकारले कहिले बुझ्ला हाम्रो समस्या ?”, उहाँ भन्नुहुन्छ, “हरेक वर्ष बर्खामा हाम्रो बिचल्ली हुन्छ, ठाउँ छोडेर जाने हाम्रो स्थिति छैन, हामीले कस्तो जिन्दगी पाएछौँ?”

धनसरादेवी जैसी तीन दिनदेखि आफन्तका घरमा बसिरहेका बताउनुहुन्छ । उहाँ छिमेकीले बोकेर उद्धार गरेको, पानीबाहेक केही खान नपाएको गुनासो गर्नुहुन्छ । विस्थापितमध्यकै भीमबहादुर विश्वकर्मा सडकको बास निकै कठिन भएको, खाद्यान्न बोक्न नसकिएकाले खान बस्नको समस्या भएको बताउनुहुन्छ । “म मात्र होइन, विस्थापित सबैको समस्या छ”, उहाँ भन्नुहुन्छ, “सयौँ परिवार विस्थापित छौँ, सयौँ परिवारकै अवस्था पीडादायी भएको छ ।”

भजनीका उद्धारकर्ता खेमराज पाण्डे विस्थापितमध्ये गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहलाई बढी समस्या भइरहेको बताउनुहुन्छ । “गर्भवती, सुत्केरीले खान पाउनुभएको छैन”, उहाँ भन्नुहुन्छ, “पानी सम्मको व्यवस्था भएको छ । अब पालिकाले उहाँहरुलाई सुरक्षित सेल्टरमा लैजाने तयारी हुँदैछ ।”

भजनी नगरपालिकाको स्वास्थ्य शाखाले विस्थापित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन थालेको छ । स्वास्थ्यकर्मी सुरज केसीले प्रभावित क्षेत्रमा नागरिकलाई रुघाखोकी, झाडापखाला, खुट्टा पाकेका, एलर्जीको समस्या देखिएको बताउनुभयो । “जहाँ जहाँ विस्थापित बसेका छन्, त्यहाँ हामीले शिविर स्थापना गरेर उपचार थालेका छौँ”, उहाँले भन्नुभयो, “स्वास्थ्यकर्मी औषधिसहित खटेका छौँ ।”

भजनी नगरपालिकाका प्रमुख केबल चौधरी बाढी प्रभावितलाई सहजताका लागि उद्धारसँगै, उच्च स्थानमा बसोबासको व्यवस्था मिलाउने, खाना, पानीको व्यवस्था भइरहेको बताउनुहुन्छ । “सयौँ परिवार विस्थापित भएका छन्, हरेक वर्ष बाढीले यस्तो समस्या निम्त्याउँछ”, उहाँ भन्नुहुन्छ, “सहयोगी सङ्घसंस्थाको साथ लिएर प्रभावितलाई उद्धार र राहत दिने कार्य थालेका छौँ । सबैको पीडामा हामी मलहम लगाउने कोशिसमा छौँ ।”

बाढीबाट प्रभावित तथा विस्थापितलाई टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले पनि तयारी खाना, पानीको व्यवस्था गरेका छन् । यी पालिकामा भएका विस्थापितलाई सामूहिक ‘मेस’ चलाएर खाना खाने व्यवस्थालगायतका कार्यपालिकाबाट भइरहेका बताइएको छ । रासस