२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय मिडियासमक्ष ‘बोल्ड बालेन’: भारतको हितको लागि हामी आफ्नो स्वाधीनता त्याग्न सक्दैनौं



अ+ अ-

काठमाडौँ । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ भारतमा मात्रै नभई नेपालमा पनि चर्चाको विषय बन्यो । फिल्मको संवादमा आपत्ति जनाउँदै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कुनै पनि हिन्दी फिल्म काठमाडौंमा चल्न नदिने अडान लिएपछि फिल्मलाई लिएर थुप्रै विरोध तथा मेयर शाहको समर्थन पनि भयो ।

यद्यपि, अदालतले बालेनलाई भारतीय फिल्म नरोक्न आदेश दियो । अदालतको आदेशप्रति असन्तुष्ट रहेका बालेनले राष्ट्रियताको सवालमा अदालतलाई समेत नमान्ने अडान लिए ।

यही फिल्मको विषयलाई लिएर भारतीय सञ्चारमाध्यम दैनिक भाष्करले मेयर शाहको अन्तर्वार्ता प्रकाशन गरेको छ । बालेनले नेपाल बाहिर कुनै पनि मिडिया हाउसलाई दिएको यो पहिलो अन्तर्वार्ता हो ।

बालेनले बलिउडले यसअघि पनि नेपालबारे आपत्तिजनक कुरा देखाइसकेको बताए । यति मात्र होइन, उनले पाकिस्तानलाई समेत बदनाम गरेका छन् ।

यस्तो छ अन्तर्वार्ताको पूर्णपाठः
दैनिक भास्करः के भयो कि हिन्दी चलचित्र प्रतिबन्ध लगाउनु पर्‍यो, तपाई मेयर हुनुहुन्छ, तपाईसँग त्यो निर्णय लिने शक्ति पनि छैन ?

बालेनः यो प्रश्न मलाई सहि लाग्दैन । म कसरी मेरो अधिकार क्षेत्र बाहिर गएँ, तपाईं पहिले मलाई भन्नुहोस् ।

दैनिक भास्करः नेपालको संविधान अनुसार कुनै पनि चलचित्र प्रतिबन्ध लगाउने अधिकार स्थानीय निकायलाई नभएकोले यो प्रश्न उठेको हो । यसका लागि सेन्सर बोर्ड छ । कसरी प्रतिबन्ध लगाइयो ?

बालेनः हामीले नेपालभर फिल्म रोकेका छैनौं । हामीले देशैभर कुनै पनि फिल्मलाई रोक्न सक्दैनौं, तर हाम्रो स्थानीय सरकारको मातहतमा आउने हलमा कस्तो फिल्म देखाउने, के देखाउनु उचित हो भन्ने निर्णय गर्न सक्छौं ।

दैनिक भास्करः महानगरपालिकाको काम सहरको व्यवस्थापन हेर्ने र कर उठाउने हो । चलचित्र प्रतिबन्ध लगाउने निर्णय किन गर्नुभयो ?

बालेनः संविधानको धारा ४८ मा नागरिकका कर्तव्यहरू लेखिएको छ । देशको पहिचान, स्वाधीनता र इतिहास जोगाउनु हरेक नागरिकको दायित्व हो, यो मेयरको मात्रै कर्तव्य होइन ।

आदिपुरुष रामायणमा आधारित आधिकारिक फिल्म हो । यो संसारभर चलिरहेको छ । यति ठूलो जनसङ्ख्यालाई असर गर्ने फिल्ममा अर्को देशकी विभूती सीता भारतकी भएको बताइएको छ । यो नेपालको मात्रै विरोधको विषय होइन ।

यो फिल्म संसारमा जहाँ–जहाँ चलिरहेको छ, प्रतिबन्ध लगाउनुपर्छ । नेपालमा म मेयरका हिसाबले बोल्दै छु । यसतर्फ हाम्रो सरकार, संस्कृति मन्त्रालय र सञ्चार मन्त्रालयले ध्यान दिनुपर्छ । नेपालमा मात्रै सेन्सर चलाउनुको कुनै अर्थ छैन । यसले पटक्कै फरक पार्दैन । यसरी सोच्नुहोस्, बलिउड फिल्ममा पाकिस्तानमा गोली मात्र चल्छ, बम मात्रै विस्फोट हुन्छ । त्यो देखेर श्रीलंका र नेपालका नागरिक पाकिस्तान जान डराउँछन् । पाकिस्तानमा आतंकवादीहरू मात्रै बस्छन् भन्ने मानिसहरूलाई लाग्छ । फिल्मले मात्र यस्ता धारणाहरु बनाउँछ ।

चलचित्रहरू यति शक्तिशाली हुन्छन् कि यसले मानिसहरूको सोच परिवर्तन गर्न सक्छ । यदि कुनै फिल्मले सीतालाई भारतीय भनेर वर्णन गर्छ भने, मानिसहरूले यसलाई सामान्य रूपमा लिन थाल्छन् । नेपाली नागरिकको हिसाबले यसको विरोध गर्नुपर्छ ।

हाम्रो देशमा बिकिरहेकाले सबै हिन्दी फिल्मको विरोध भयो । नेपालमा भारतको व्यापार छ । यो सहि होइन भन्न सक्ने क्षमता यहाँका नागरिकमा हुनुपर्छ । हामीले भारतको हितको लागि हामी आफ्नो स्वाधीनता त्याग्नु ? यो हुन सक्दैन । भारतमा पनि सेन्सर बोर्ड छ । उसले पनि यस्ता कुरा बन्द गर्नुपर्छ ।

भारत सरकारले यसलाई रोक्दैन भने, हामीले यस्ता कुराहरू बन्द गर्नुपर्छ । व्यापार आफ्नो ठाउँमा छ, तर त्यसका कारण हामीले नेपालको स्वतन्त्रतामा सम्झौता गर्न सक्दैनौं । यसअघि पनि यस्तो भएको थियो । चाँदनी चोक टु चाइना फिल्ममा बुद्धका बारेमा गलत कुराहरु भनिएको थियो । अनिल कपूरको फिल्म घरवाली–बाहरवाली थियो । त्यसमा पनि गलत देखियो । त्यसपछि पनि चलचित्र प्रतिबन्धित भएको थियो । भारत सरकारले आफ्नो सेन्सर बोर्डका जनतालाई यस्तो गल्ती गरे दुई देशबीचको व्यापार र सम्बन्ध बिग्रन सक्छ भन्ने कुरा बुझाउनुपर्छ ।

दैनिक भास्करः जुन संवादका कारण तपाईंले आदिपुरुषलाई प्रतिबन्ध लगाउनुभयो, त्यो फिल्ममा पनि छैन । यसलाई नेपाल सेन्सर बोर्डले हटाएको छ । यस्तो प्रतिबन्ध किन चाहियो ?

बालेनः नेपालमा फिल्म हेर्नेले संवाद हेर्न पाएनन् । यसलाई सेन्सर बोर्डले काटेको थियो । भारतको मूल प्रति यहाँ कसैले देखेका छैनन् । यो कुरा भारतीय पक्षबाट कसैले उठाएनन् । नेपाली जनताले संवाद पनि सुनेका छैनन् त्यसैले नेपाली जनताले कसरी भन्छन् ?

दैनिक भास्करः तपाई लगातार भारत विरोधी बयान दिईरहनुभएको छ, तपाईलाई यसबारे सच्याउनुपर्छ जस्तो लाग्दैन ?

बालेनः होइन, मलाई त्यस्तो लाग्दैन । आदिपुरुषका लेखक मनोज मुन्तासिरले पनि त माफी मागेनन् ।

दैनिक भास्करः एक पटक ऋतिक रोशनको बयानलाई लिएर काठमाडौंमा हिंसा भयो । धेरैले ज्यान गुमाए । पछि थाहा भयो कि ऋतिक रोशनले त्यस्तो कुनै बयान दिएका छैनन् । यस्ता विषयमा बोल्दा संवेदनशील हुनुपर्छ जस्तो लाग्दैन ?

बालेनः मैले निराधार कुरा गर्थें भने सोच्नुपर्ने हुन्छ । यो कुरा चलचित्र लेखकले पुष्टी गरेका छन् । यदि त्यो दृश्यमा यस्तो केही थिएन भने सेन्सर बोर्डले किन काटे ? यस्तो अवस्थामा मेरो भनाइको आधार छ । यसो भन्नुको अर्थ भारत विरोधी हुनु होइन । यो भारतीय जनताको विरुद्धमा हुनु पनि होइन । यसलाई ऋतिक रोशनको मामलासँग जोड्न सकिँदैन किनभने त्यसबेला हामी पूरै भारतको विरुद्धमा थियौं ।

दैनिक भास्करः पाटन उच्च अदालतले भारतीय चलचित्रमाथिको प्रतिबन्ध फुकुवा गर्न आदेश दिएपछि तपाईले न्यायपालिका र नेपाल सरकार भारतको गुलाम भएको लेख्नुभयो । के तपाईं आफूलाई तिनीहरू भन्दा माथि ठान्नुहुन्छ ?

बालेनः म आफूलाई त्यो स्तरको राजनीतिज्ञ होइन, नागरिक ठान्दछु ।

दैनिक भास्करः कुनै नागरिकले यसरी अदालतलाई चुनौती दिन सक्छ ?

बालेनः मैले चुनौती दिएको छैन । सजाय भोग्न तयार छु भनेर मैले भनेको छु । यसको मतलब म अदालतमा विश्वास गर्दिनँ भन्ने होइन । जब देश, स्वतन्त्रता र इतिहासको कुरा आउँछ, म त्यसको विरुद्धमा सहमत हुन्न ।

दैनिक भास्करः नेपाल–भारत सम्बन्धको बारेमा तपाईलाई के लाग्छ ?

बालेनः म पनि नेपाल र भारतबीच राम्रो सम्बन्ध चाहन्छु । नेपालमा पर्यटनको प्रशस्त सम्भावना छ । यहाँ भारत र चीनका पर्यटक आए भने पुग्छ । युरोपबाट पर्यटक नआए पनि राम्रो हुनेछ । त्यसैले सांस्कृतिक–धार्मिक र पर्यटनका हिसाबले सुमधुर सम्बन्ध आवश्यक छ ।

दैनिक भास्करः भारतीय संसदमा नक्साको जवाफमा तपाईले आफ्नो कार्यालयमा ग्रेटर नेपालको नक्सा राख्नुभयो । भारतले केही गरेपछि तुरुन्तै किन प्रतिक्रिया दिनुहुन्छ ?

बालेनः भारतले संसदमा राखेको नक्सालाई सांस्कृतिक नक्साको रुपमा व्याख्या गरिएको छ । हामीले बृहत्तर नेपालको नक्सालाई पनि ऐतिहासिक बताएर राखेका हौं ।

दैनिक भास्करः काठमाडौंमा हिन्दी चलचित्र प्रतिबन्धित छन् । नेपालका हिन्दी चलचित्र उद्योगीलाई प्रतिबन्ध फिर्ता लिने आश्वासन दिनुहुन्छ ?

बालेनः अदालतले प्रतिबन्ध हटाएको छ । म भन्न चाहन्छु कि नेपाल सरकारले भारत सरकार र यसको सेन्सर बोर्डलाई कुनै पनि देशको इतिहासलाई तोडमोड गर्न नदिन भन्नुपर्छ ।