७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

बागलुङमा खानी छन्, तर उत्खननको योजना छैन

बागलुङमा खानी छन्, तर उत्खननको योजना छैन
फाईल फोटो
अ+ अ-

ढोरपाटन । बागलुङ सदरमुकामबाट दूरदराजका गाउँसम्म थुप्रै खानी छन् । कतै तामाखानी, कतै फलामखानी त कतै सिसाखानी छन् । खानीबाटै जिल्लाका धेरै ठाउँको नामकरणसमेत भएका छन् । प्रशस्त मात्रामा खानी हुँदा पनि अहिलेसम्म उत्खनन हुनसकेका छैनन् । धेरै ठाउँमा तामाखानी छन् भने केही ठाउँमा फलाम र सिसाखानी रहेको स्थानीयले दाबी गर्दै आएका छन् ।

बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र तमानखोला गाउँपालिकाका विभिन्न ठाउँमा तामाखानी रहेका छन् । धातुजन्य खानीसँगै जिल्लामा प्रशस्त मात्रामा ढुङ्गाखानी पनि छन् । ढुङ्गाखानी केही स्थानमा उत्खनन हुने गरे पनि फलाम तथा तामाखानी अहिलेसम्म उत्खनन हुनसकेका छैनन् ।

चार वर्ष अगाडि सरकारले सम्भावना रहेको स्थानमा खानी सञ्चालन गर्ने घोषणा गरेपछि बागलुङ नगरपालिका–९ तित्याङमास्थित तामाखानी पुन:सञ्चालन गर्नका लागि नगरपालिकाले अध्ययन थालेको थियो । खानी विज्ञको समूहले सम्भावना औँल्याएपछि २०७६ सालमा नगरपालिकाले शुभम् ग्रुपसँगको साझेदारीमा धातुको अनुसन्धानको काम सुरु गरेको थियो । शुभम् ग्रुपले चीनको जोम्बिङ माइनिङ कम्पनीको प्राविधिक सहयोगमा मेसिन नै प्रयोग गरेर खानी परीक्षणको काम गरेको थियो । तर अहिलेसम्म त्यसको रिपोर्ट के–कस्तो आयो भन्ने यकिन भएको छैन । तमानखोला गाउँपालिका–६ नर्जाखानी गाउँभरि तामाखानी छ ।

यहाँका खानी एक सय १० वर्ष अगाडिसम्म उत्खनन गरेर स्थानीयले जीविकोपार्जन गरेको इतिहास नै छ । यहाँका छन्त्याल जातिले खानीबाट तामा निकालेवापतको कर राणा शासकलाई तिर्न नसकेपछि बन्द भएको स्थानीय ओमबहादुर छन्त्यालले बताउनुभयो । बुवा र हजुरबुवाले गाउँमै तामा उत्खनन गरी बिक्री–वितरण गरी जीवन निर्वाह गर्दै आएको उहाँले सुनाउनुभयो । बारी तथा पाखाभरि पहिले तामा निकालेका खाडल नर्जाखानी क्षेत्रमा रहेको र पहिरो जाँदा तामाका टुक्रा भेटिने गरेको छन्त्याल बताउनुहुन्छ । सरकारले तामाखानी उत्खनन गर्न सके स्थानीयसँगै राज्यको ठूलो आम्दानीको स्रोत बन्न सक्ने उहाँको भनाइ छ ।

“यो ठाउँ पूरै तामैतामाले भरिएको छ, गाउँलेले निकाल्न सक्ने अवस्था छैन, हाम्रा अग्रजले तामा निकालेका ठाउँ जहाँतहीँ भेटिन्छन्, बारीमा, वनजङ्गलमा र खनजोत गर्दा पनि तामा भेटिन्छ”, छन्त्यालले भन्नुभयो, “उत्खनन गरे स्थानीयले गाउँमै रोजगार पाउन सक्थे, रोजगारीका लागि अरुको भूमिमा भौँतारिनुपर्ने थिएन, मुलुकका लागि पनि आर्थिक विकासमा टेवा पुग्ने थियो ।”

तमानखोला गाउँपालिकाले खानी उत्खननका लागि बजेटको व्यवस्थापन गरेको छैन । खानी विभागबाटै यहाँका अध्ययन र परीक्षण गर्न थालेपछि पालिकाले आवश्यक बजेट व्यवस्थापन गर्ने अध्यक्ष जोकलाल बुढामगर बताउनुहुन्छ । तमानखोलामा मात्रै फलामखानी, तामाखानी र झल्कने ढुङ्खाखानी रहेको तथा खानीका बारेमा केन्द्र र प्रदेश सरकारसँग समन्वय गरी सञ्चालन गर्ने नीति बनाएको उहाँको भनाइ छ ।

बागलुङ नगरपालिका–९ तित्याङको तामाखानीमा चार वर्ष अगाडि आएको चिनियाँ प्राविधिक टोलीले दुई ठाउँमा सुरुङ खनेको नगर उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो । प्राविधिक टोलीले तामाखानीमा के–के काम गर्यो, परीक्षणपछि कस्तो रिपोर्ट आयो भन्ने अहिलेसम्म खानी विभागले नगरपालिकालाई जानकारी नगराएको उहाँले बताउनुभयो । खानी विभागलाई तत्काल रिपोर्ट बुझाउन माग गरिरहेको उपप्रमुख खड्का बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “आगामी वर्षका लागि नगरपालिकाले खानी उत्खनन भनेर बजेट त विनियोजन गरेको छैन, तर माथिल्लो निकायसँग सहकार्य गरेर काम गर्छौँ, केही बजेट व्यवस्थापन पनि गर्छौँ, उत्खननका लागि परीक्षण त सुरु भएको थियो, अहिले बन्द भएको छ, पहिले आएको प्राविधिक टोलीले के–के फेलापर्‍यो भन्ने सबै विवरण आएको छैन, खानी विभागलाई यहाँ भएको कामका बारेमा प्रतिवेदन माग गरेका छौँ, त्यो प्रतिवेदनमा कस्तो ‘रिजल्ट’ आउँछ, त्यसपछि अन्य काम गर्छौँ ।”

काठेखोला गाउँपालिका–३ धम्जा ओखले र वडा नं ८ लेखानीमा तामाखानी, तमानखोला गाउँपालिकाको नर्जाखानी, खुङ्खानी, ढोरपाटन नगरपालिकाको घोषाखानीमा तामाखानी रहेका छन् । गलकोटको पाण्डवखानी र दुदिलाभाटीमा तामाखानी र सुनखानी, ताराखोला गाउँपालिकामा ढुङ्गाखानी, ढोरपाटनको लुकुरवनमा फलामखानी, बागलुङ नगरपालिकाको तित्याङमा तमाखानी, जैमिनी नगरपालिकाको राङखानी, दमेकमा तामाखानी, बडिगाड गाउँपालिकाको सिसाखानीमा सिसाखानी र भीमगिठेमा फलामखानी रहेको बताइन्छ । ती सबै खानी अहिले गुमनाम छन् । खानी उत्खननतर्फ कसैको ध्यान नपुगेको स्थानीयको गुनासो छ । रासस