८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

आउनुहोस् प्लास्टिक उत्सव गरौँ

आउनुहोस् प्लास्टिक उत्सव गरौँ
पोखरा फेवातालको ड्याममा जम्मा भएको प्लास्टिक। प्लास्टिकको बोतलमा रक्सी र काठमाडौँ विष्णुमति छेउमा रिसाइल गर्न जम्मा गरिएको फोहोरमा प्लास्टिक। सबै तस्बिरः राजेश घिमिरे
अ+ अ-

राजेश घिमिरे

टोल छिमेकका स्कुलबाट निक्लेका भुराहरू प्लाष्टिकका पन्जा लगाएर बाटोघाटोमा फालिएका प्लास्टिक टिपेर प्लाष्टिककै झोलामा हाल्दै गरेको आज देख्नु भयो भने अचम्म नमान्नुहोस्। किनकी आज जुन ५ हो । विश्व वातावरण दिवस।

तल्लो तहका झोले नेतादेखि राष्ट्रपतिसम्मले आज त्यसैको शुभकामना दिएको खबर छरिएको छ। वातावरणसम्बन्धी सरकारी तथा गैरसरकारी संस्थाका कार्यक्रम दिनभरजस्तो छ। संसारभरि नै यस्तै भइरहेको छ। शक्तिशाली पेट्रोलियम र पेट्रोकेमिकल उद्योगहरूको व्यापारिक स्वार्थका अगाडि यसरी मनाइने दिवसहरू प्लास्टिक उत्सवका रूपमा सीमित हुन्छन्। प्लाष्टिकका बोतलमा कथित मिनरल वाटर र पेयपदार्थको घुटको लिदै मनाइने उत्सव।

खासमा वातावरणसम्बन्धी संयुक्त राष्ट्रसङ्घको तालुकदार अड्डा युएनइपीले आजका लागि दिएको नारा ” सोलुसन टु प्लास्टिक पोलुसन ” अर्थात “प्लाष्टिकको प्रदुषणको समाधान खोजौ ” भन्ने हो। हाम्रो सरकारले चाहिँ संयुक्त राष्ट्रसङ्घको यो मूल नारालाई स्थानीयकरण गर्दै ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नारा बनाएर वातावरण दिवस मनाउँदैछौँ।

प्लाष्टिककै नारामा वातावरण दिवस मनाउँदै गर्दा केही दिन अगाडि मात्र असफल भएको प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी र बाध्यकारी सन्धि बनाउनका लागि भएको सौदाबाजीका बारेमा चाहिँ कसैले पनि चर्चा गर्ने छैन।
प्लास्टिक प्रदूषण सम्बन्धी वार्ताका लागि संयुक्त राष्ट्रसंघीय अन्तरसरकारी वार्ता समिति (आईएनसी–२) को पेरिसमा भएको दोस्रो बैठकका क्रममा संयुक्त राष्ट्रका विज्ञहरूले नै प्लास्टिकको बढ्दो प्रदूषणप्रति चिन्ता व्यक्त गर्दै यसले वातावरण र मानव अधिकारलाई खतरामा पारेको बताएका थिए। यस्तो अवस्थामा बढ्दो जोखिमलाई सम्बोधन गर्न जति सक्दो चाँडो प्रभावकारी कदम चाल्न मानवअधिकारका विज्ञहरूले आग्रह गरेका छन् ।
खासमा धेरै दशकसम्म प्लास्टिकसम्बन्धी बुझाइ नै गलत भएको तथ्य अगाडि आइरहेको छ। प्लास्टिक नवीकरण हुन नसक्ने उत्पादन हो र जीवाश्म इन्धनको अर्को रूप हो। यो वातावरणीय प्रदूषण र जलवायु सङ्कटको लागि समान रूपमा जिम्मेवार छ। प्लास्टिकको उत्पादन चक्रको हरेक पक्ष – उत्पादनदेखि फोहोरका रूपमा फाल्दासम्म यसबाट जलवायु परिवर्तन गर्न सक्ने क्षमता हुन्छ।

दशकौँदेखि, प्लास्टिक प्रदूषणलाई फोहोरको गलत व्यवस्थापनबाट उब्जिएको समस्याको रूपमा गलत बुझिएको थियो। प्राविधिक उपायका मार्फत प्लास्टिकको समस्याको समाधान गरिने छ भनेर समस्याको कम आँकलन गरिएको थियो। विश्वमै शक्तिशाली पेट्रोलियम र पेट्रोकेमिकल उद्योगहरूले प्लास्टिक जलवायु परिवर्तनको हिस्सा होइन भनेर गरेको तर्कलाई मान्न बाध्य पारियो र त्यही तर्कका आधारमा सबैजसो देशका राष्ट्रिय कानूनहरू बनाइए। त्यसमाथि नेपालजस्तो देशमा कानुन र नियम बनाइए पनि थोरै प्लास्टिक उद्यमीको लबिङको आधारमा तिनको कार्यान्वयन नै गरिएन।

यही मानसिकताका कारण प्लास्टिक नियन्त्रणका सबै प्रयासहरू प्लास्टिक जीवनको अन्तिम बिन्दुबाट सुरु हुन्छ अर्थात सरकारहरूले ‘प्लास्टिक फोहोरको व्यवस्थापन’ गर्न कोष परिचालन गरेको छ, जबकी उत्पादन तीव्र रूपमा बढिरहेको छ। पछिल्लो शताब्दीको तुलनामा पछिल्लो १० वर्षमा धेरै प्लास्टिक उत्पादन भएको छ। हालैका दशकहरूमा प्लास्टिकको उत्पादन तीव्र गतिमा बढेको छ र आज विश्वले वार्षिक औसत ४० करोड टन प्लास्टिक फोहोर उत्पादन गरिरहेको छ।

बेगनास ताल नजिकै फोहोरको थुप्रोमा प्लास्टिक । (तस्वीरः राजेश घिमिरे)

पेरिसमा मे २९ देखि जुन २ सम्म भएको संयुक्त राष्ट्रसंघीय अन्तरसरकारी वार्ता समिति (आईएनसी–२) को दोस्रो बैठकमा प्लास्टिक प्रदूषण सम्बन्धी अन्तर्राष्ट्रिय सन्धिका लागि वार्ता भएपनि सफल हुन सकेन। एक हप्ताको गहन वार्तापछि, अन्तरसरकारी वार्ता समितिलाई वर्षको अन्त्य अघि विश्वको प्लास्टिक प्रदूषण कटौती गर्ने पहिलो मस्यौदा तयार गर्न जनादेश दिइएको थियो। १६९ देशका करिब १६५६ प्रतिनिधिहरू बीचको तनावपूर्ण वार्ताको पाँच दिन पछि, सन्धिको मस्यौदा प्रक्रियाको बाँकी प्रक्रिया नै खतरामा पर्ने सम्भावना देखिएको थियो। किनकी साउदी अरेबियाको नेतृत्वमा, तेल उत्पादक खाडी राष्ट्रहरूसहित रुस, इरान, चीन, भारत र ब्राजिलले भावी सन्धिका प्रावधानमा कुनै सहमति नभएको खण्डमा दुई तिहाइ बहुमतले अनुमोदन गर्न अनुमति दिन अस्वीकार गरेका थिए। जबकी यो पहिलो वार्ताको क्रममा मान्यता दिइएको सिद्धान्त हो। आखिरमा जुन २ मा युनेस्कोको अन्तिम पूर्ण सत्रको अन्त्यमा, उपस्थित राष्ट्रहरूले अन्तरसरकारी वार्ता समितिलाई केन्यामा नोभेम्बरमा हुने अर्को वार्ता अघि सन्धिको “पहिलो मस्यौदा” तयार गर्ने जनादेश दिए। यो वार्ताको उद्घाटनमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले प्लास्टिकको “टाइम बम” कुरा गर्दै ” हामीसँग खेर फाल्ने समय छैन।” तर सायद समय खेर गयो।

किन भयो खतरा?

प्लाष्टिकको बढ्दो मात्राले हाम्रो वातावरणलाई त असर गरिरहेकै छ। विभिन्न चरणमा प्लास्टिकले मानव अधिकार मानिने स्वस्थ वातावरण, जीवन, खाना, पानी र आश्रयलाई अनेकन तरिकाले असर गरिरहेको हुन्छ।

प्लास्टिक जीवाश्म इन्धनमा लगभग पूर्ण रूपमा निर्भर छ। यसको उत्पादनको क्रममा हानिकारक पदार्थहरू निक्लन्छ। यसमा विषाक्त रसायनहरू छन् जुन मानव स्वास्थ्य र वातावरणको लागि खतरा हो। प्रयोग पछि फालिएको प्लास्टिक फोहोरले पृथ्वीलाई दूषित गरिरहेको छ। एकल-प्रयोग प्लास्टिकको 85 प्रतिशत या त ल्यान्डफिलहरूमा फ्याँकिन्छ वा खुला वातावरणमा फ्याँकिन्छ।

विज्ञहरूका अनुसार विषाक्त पदार्थले भरिएको प्लास्टिकलाई जलाउने वा पुन: प्रयोग गर्ने जस्ता गलत समाधानहरूले खतरा झन थपिरहेको छ। माइक्रोप्लास्टिक भनिने प्लास्टिक ससाना कणहरू हाम्रो पानी, खाना र हामीले सास फेर्ने हावामा पनि छन्।

द फाइभ गेयर्स इन्स्टिच्युट नामक अमेरिकी संस्थाको नेतृत्वमा भएको एक अनुसन्धानले पृथ्वीमा प्लास्टिक प्रदूषणको मात्रा अत्यधिक भएको देखाएको छ। उक्त अनुसन्धानबाट विश्वका समुद्रको सतहमा अहिले करिब १७१ ट्रिलियन (नील) प्लास्टिकका टुक्राहरू अर्थात माइक्रोप्लास्टिक रहेको जानकारी आएको हो ।

एउटा अनुसन्धानका क्रममा वैज्ञानिकहरूले नेदरल्याण्ड्सका २२ जना मानिसको रगतको नमूनाहरूको विश्लेषण गरे। यी सबै मानिस वयस्क र स्वस्थ थिए। अनुसन्धानमा ती मध्ये १७ जनाको रगतमा माइक्रोप्लास्टिक कण भेटिएको थियो। यी नमूनाहरू मध्ये आधामा पीईटी प्लास्टिक अर्थात पोलिथिलीन टेरेफ्थालेट पाइयो। यो सामाग्री सामान्यतया पेय पदार्थको बोतल र कपडा बनाउन प्रयोग गरिन्छ।

जर्नल साइन्स अफ द टोटल इन्भाइरोन्मेन्टमा प्रकाशित एक अनुसन्धान प्रतिवेदनका अनुसार माइक्रोप्लास्टिक्सका कणहरू मानिसको फोक्सोका हरेक हिस्सामा भेटिएको छ। वैज्ञानिकहरूले शल्यचिकित्सा गरिएका १३ मध्ये ११ जनाको फोक्सोका टिस्यु (तन्तु) मा माइक्रोप्लास्टिक्सका कणहरू भेटेका थियो। यसमध्ये पोलिप्रपइलिन और पीईटी (पोलिथिलीन टेरेफ्थालेट) सबभन्दा बढी भेटिएको हो। त्यही पीईटी जसबाट पेय पदार्थको बोतल र कपडा बनाइन्छ।
यी सबै खतरा थाहा हुँदाहुँदै पनि नेपालमा प्लास्टिकको प्रयोग बढ्दो छ। प्लाष्टिकका मामिलामा हाम्रो कानुन नियम र निर्देशिकाको कार्यान्वयन साह्रै फितलो छ। कानुन, अदालतका आदेश र भाषणमा एउटा कुरा हुन्छ तर व्यवहारमा अर्कै। प्लाष्टिकको फूल प्रतिबन्ध छ तर बजारमा किन्न पाइन्छ। प्लाष्टिकका बोतलमा हालिएका रक्सी सहजै बिक्री भइरहेको छ। सरकारले २०७८/०६/१९ को नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ४० माईक्रोनभन्दा पातलो प्लास्टिक झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको थियो। तर तपाईँले पसलमा झगडा गरेर लिएको प्लास्टिक झोला त्यो भन्दा मोटो होला त?

आवरणः पोखरा फेवातालको ड्याममा जम्मा भएको प्लास्टिक। प्लास्टिकको बोतलमा रक्सी र काठमाडौँ विष्णुमति छेउमा रिसाइल गर्न जम्मा गरिएको फोहोरमा प्लास्टिक। सबै तस्बिरः राजेश घिमिरे

श्रोत: आइएनएस-स्वतन्त्र समाचार