काठमाडौँ। कानुन न्याय तथा संसदिय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले न्यायपालिकामा देखिएको अवरोध फुकाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता गरिएको बताएका छन् ।
आइतबार महाअभियोग दर्ता गर्न संसद सचिवालय पुगेका बडुले न्यायपालिकामा अवरोध फुक्न नसक्ने अवस्था आएकोले महाअभियोग दर्ता भएको बताए ।
न्यायपालिका स्वतन्त्र निकाय रहेको र यस क्षेत्रलाई स्वतन्त्र रुपमै चल्नदिनुपर्ने भन्दै प्रधानन्याधिशलाई निकास दिन आग्रह गरेपनि अवरोध फुक्न नसक्ने अवस्था आएकोले महाअभियोग दर्ता गर्नुपरेको उनको भनाई छ ।
महाअभियोग पास हुनको लागि दुई तिहाई सांसदको समर्थन चाहिने भन्दै न्यायलयको लागि सांसदहरुले समर्थन गर्नेमा आफू विश्वस्त रहेको पनि बताए । यस्तै, उनले सांसदहरुले विवेक प्रयोग गरेर समर्थन गर्न पनि आह्वान गरे ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा आइतबार विहान महाअभियोग दर्ता भएको छ ।
सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार विहान संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार सो प्रस्तावको प्रस्तावक नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङ, नेपाली कांग्रेसका डा पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का जीवनराम श्रेष्ठ र समर्थकमा नेपाली कांग्रेसका डा मीनेन्द्र रिजालसहित ९५ सांसद रहेका छन् ।