२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनधिकृतरूपमा प्रकाशन भएका पात्रोहरू नियन्त्रण गर्न गृहको परिपत्र



अ+ अ-

काठमाडौँ । अनधिकृतरूपमा प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रोको निरीक्षण अनुगमन गरी नियन्त्रण गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।

मन्त्रालयका उपसचिव भीमकान्त शर्माले जारी गरेको परिपत्रमा मन्त्रिपरिषद्ले समेत सार्वजनिक बिदाका सम्बन्धमा निर्णय लिँदा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तयार पारेको ‘डेट प्याड’ समेतलाई आधार लिने गरेको तथा पात्रो, भित्तेपात्रो र गोजीपात्रोको स्वीकृति दिने काम पनि समितिकै भएको उल्लेख छ ।

पात्रो, भित्तेपात्रो र गोजीपात्रो प्रकाशन गरी बिक्री, वितरण गराउने काम समितिको गठन आदेश, २०७७ मा उल्लेख भएकाले अनधिकृतरूपमा स्वीकृति नलिई प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रोलाई कारबाही गर्न मन्त्रालयले परिपत्र गरेको हो ।

समितिको आन्तरिक व्यवस्थापन दिग्दर्शन, २०७९ मा पञ्चाङ्ग (पात्रो), भित्तेपात्रो र गोजीपात्रो प्रकाशन गर्न चाहनेले नियमानुसार स्वीकृति लिनुपर्ने उल्लेख छ । स्वीकृति लिएर प्रकाशन भए÷नभएको स्थानीयरूपमा निरीक्षण तथा अनुगमन जिल्ला प्रशासन कार्यालयबाट हुने व्यवस्था समितिको दिग्दर्शनमा रहेको परिपत्रमा उल्लेख छ ।

सरकारले बिदा स्वीकृत गर्नुपूर्व नै स्वीकृति नलिई गलत मुहूर्त र चाडपर्व राखी प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रो बजारमा छ्याप्छ्याप्ती रहेकाले निरीक्षण एवं अनुगमन गरी सचेत गराउन र आगामी वर्षदेखि यस्ता काम कारबाही नियन्त्रण गर्न÷गराउन पनि मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।

मन्त्रालयले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको पत्राचारबमोजिम सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरिएको उपसचिव शर्माले जानकारी दिनुभयो । गृह मन्त्रालयको परिपत्रपछि अनधिकृतरूपमा प्रकाशन भइरहेका पात्रो, भित्तेपात्रो र गोजीपात्रोका कारण चाड, पर्व, तिथि, मितिका बारेमा हुने समस्या समाधान हुने विश्वास लिएको समितिले जनाएको छ । रासस