११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन

बागलुङ बरेङको पर्यटकीय क्षेत्र ‘कौडे लेक’मा पुग्न पदमार्ग

बागलुङ बरेङको पर्यटकीय क्षेत्र ‘कौडे लेक’मा पुग्न पदमार्ग
अ अ+ अ-

ढोरपाटन । सिग्दी गाउँको शिरमा छ कौडे लेक । प्राकृतिक सुन्दरताले भरिपूर्ण सो लेक ओझेलमा थियो । बरेङ बजारबाट पदमार्ग हुँदै पुग्न सकिने यस लेक दुई हजार छ सय मिटरको उचाइमा छ । बागलुङको बरेङ गाउँपालिका–२ मा पर्ने कौडे लेक बरेङ बजारबाट सिग्दी गाउँ हुँदै वनजङ्गल र भिरपहरा छिचोल्दै यहाँ पुग्न सकिन्छ । यस लेकमा दैनिकजसो सिग्दी गाउँका स्थानीय घाँस–दाउरा गर्न पुग्ने गर्छन् ।

पछिल्लो समय पदमार्ग निर्माण भएपछि आन्तरिक पर्यटकसमेत सो लेकमा पुग्न थालेका छन् । गाउँपालिकाले सिग्दी गाउँबाट करिब तीन किलोमिटर पदमार्ग निर्माण गरेको छ । पदमार्गले पर्यटक आकर्षित गर्नुका साथै स्थानीयलाई समेत सहज बनाइदिएको छ । सूर्योदय र अनेकौँ दृश्यावलोक गर्न पर्यटक यहाँ पुग्ने गरेका छन् ।

बागलुङ र गुल्मी जिल्लाको सङ्गमस्थलसमेत रहेको कौडेलाई प्रवद्र्धनका लागि बरेङ गाउँपालिकाले प्राथमिकता दिएको छ । गाउँपालिकाले पदमार्गको छेउछाउमा पर्यटक विश्रामका लागि चौपारीसमेत निर्माण गरेको छ भने वन्यजन्तुलाई खानेपानीका लागि पोखरीसमेत बनाइदिएको छ । बाइसे–चौबिसे राज्यका बेला यहाँ भुरेटाकुरे राजाले राज गरेको इतिहास छ ।

अहिले पनि यहाँ दरबारका भग्नावशेष भेटिने गरेको स्थानीयको भनाइ छ । जिल्लाकै अग्लो पहाडमध्येमा पर्ने कौडे लेकलाई पर्यटकीय गन्तव्य बनाउनका लागि सुरुका वर्षदेखि बजेट विनियोजन गरेर पूर्वाधार निर्माण गरिरहेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताउनुभयो । उहाँले अघिल्लो कार्यकालदेखि सुरु गरेको पदमार्ग निर्माणका काम सकिएको र यसको प्रचार–प्रसारलाई जोड दिने जानकारी दिनुभयो । बरेङ बजारबाट साढे दुई घन्टाको पैदलयात्रामा यहाँ पुग्न सकिन्छ ।

अध्यक्ष शर्मा भन्नुहुन्छ, “कौडे लेक ऐतिहासिक ठाउँ हो, यो क्षेत्रकै सबैभन्दा अग्लो पहाड भएको र पर्यटकीय हिसाबले निकै उत्कृष्ट भएको हुँदा गाउँपालिकाले मुख्य प्राथमिकतामा राखेर यसको विकासमा लागिरहेका छौँ, अहिलेसम्म पदमार्ग, पाखरी, बगैँचा र चौपारीलगायतका संरचना बनाएका छौँ, अझै पूर्वाधार बनाउनुपर्ने छ, रहेक वर्ष बजेट विनियोजन गरेर काम भएको छ, यस वर्ष पनि केही काम भएका छन् भने पदमार्गले गर्दा केही पर्यटक पनि आउने गरेको पाइएको छ ।”

उहाँले अहिलेसम्म पदमार्गलगायतका संरचना निर्माण गर्दा रु ८० लाखभन्दा बढी खर्च भएको जनाउँदै थप संरचना क्रमागतरूपमा बन्ने बताउनुभयो । पर्यटक भित्र्याउन प्रचार–प्रसारसँगै सिग्दीमा पुन: घरबास ९होमस्टे० सञ्चालनका लागि स्थानीयसँग सहकार्य गर्ने अध्यक्ष शर्माको भनाइ छ । सिग्दीबाट करिब तीन किलोमिटरको दूरीमा सो लेक रहेको छ ।

बरेङ गाउँपालिका–२ का स्थानीय हीरा पुनमगरले पदमार्गले पर्यटकलाई आकर्षण गरेको बताउनुभयो । पहिले कौडे लेक स्थानीयको घाँस–दाउरा गर्ने थलो भए पनि अहिले पर्यटक घुम्न आउने गरेको उहाँको भनाइ छ । पदमार्ग नहुँदा यस लेकमा बाहिरी मान्छे नपुग्ने गरेको भन्दै अहिले आन्तरिक पर्यटकको आगमन हुन थालेको उहाँ बताउनुहुन्छ ।

“पदमार्गले कौडे लेकको प्रवद्र्धन हुँदै गएको छ, पहिले स्थानीयलाई मात्रै थाहा थियो कौडे लेकको विशेषता, अहिले घुम्न आउने सबैले थाहा पाउन थाले, अग्लो पहाड यति धेरै सुन्दरताले भरिएको छ, यसले गर्दा यहाँ एकपटक घुम्न आएकाहरू पुन: अर्कोपटक आउने गरेका छन्”, उहाँले भन्नुभयो, “सिग्दी गाउँ हुँदै कौडे पुग्ने हुँदा यहाँको आयआर्जनमा पनि केही परिवर्तन आउँछ कि भन्ने अपेक्षा गरेका छौँ, अहिले बिदाको समयमा पर्यटक बढी आउने गरेका छन्, सम्बन्धित निकायले पर्यटक बढाउने खालका कार्यक्रम ल्यायो भने दैनिक यहाँ आउने बढ्नेछन् ।”

कौडे लेकबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्णलगायत पूर्वदेखि पश्चिमसम्मका अनगिन्ती हिमशृङ्खलासँगै बागलुङको अधिकांश भू–भाग तथा गुल्मी, पर्वत, पाल्पालगायतका ठाउँ र भञ्ज्याङ सहजरूपमा अवलोकन गर्न सकिन्छन् । सूर्योदय र सूर्यास्तसमेत यहाँबाट देख्न सकिन्छ ।

भैँसेखोला झरनाको प्रवद्र्धन

गाउँपालिकाले वडा नं ४ मा रहेका छहरेखोला झरना र भैँसेखोला झरनालाई व्यवस्थित बनाउन थालेको छ । यहाँसम्म पुग्ने पदमार्ग, मन्दिर र प्रतिक्षालय निर्माण गर्न थालिएको भन्दै यी दुई झरनाको विकासका लागि यस वर्ष गाउँपालिकाले रु १० लाख बजेट विनियोजन गरेर काम अगाडि बढाएको अध्यक्ष कृष्णप्रसाद शर्मा बताउनुहुन्छ । गत वर्ष पनि झरना प्रवद्र्धनका लागि रु १० लाख विनियोजन गरेर कामको सुरुआत गरेको अध्यक्ष शर्माको भनाइ छ ।

पर्यटनमार्फत बरेङमा समृद्धि हासिल गर्न सकिने हुँदा यस क्षेत्रको विकासलाई जोड दिएको अध्यक्ष शर्माको भनाइ छ । गाउँपालिकाभित्रका सत्यवती मन्दिर, कालिलेक, सद्धिथान मन्दिर, छहरेखोला, भैँसीखोला झरना, भित्रीवन, भातेपोखरालगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रमा रहेक वर्ष बजेट विनियोजन गरेर पूर्वाधार विकास गर्दै आएको उहाँको भनाइ छ ।

“यहाँका पर्यटन प्रवद्र्धनका लागि पहिलो कार्यकालदेखि नै काम गर्दै आएका थियौँ, अघिल्लो कार्यकालमा केही बजेट विनियोजन गरेर कामको थालनी गरेका थियौँ, अहिले धेरै संरचना बनेका छन्”, उहाँले भन्नुभयो । गाउँपालिकाले धार्मिक पर्यटकीयस्थलको विकाससँगै कला, संस्कृतिको समेत संरक्षणमा जुटेको अध्यक्ष शर्माको भनाइ छ ।

उहाँले बरेङ गाउँपालिका विभिन्न जातजातिको सङ्गमस्थल भएको भन्दै उनीहरूको रीतिरिवाज, परम्परा र संस्कृतिको संरक्षणका लागि आफूहरू लागेको बताउनुभयो । गाउँपालिकाले मौलिक कला संस्कृति, वेषभूषा र परम्परालाई संरक्षणका लागि यस वर्ष रु दुई लाख ५० हजार विनियोजन गरेको उहाँको भनाइ छ । रासस