१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक अस्त्रका रुपमा महाभियोगको दुरुपयोग !



अ+ अ-

काठमाडौँ । विसं २०७३ कात्तिक ३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्की विरुद्ध महाअभियोग प्रस्ताव संसद्मा दर्ता भयो । प्रमुख आयुक्त कार्कीमाथि उनले आफ्नो अधिकार क्षेत्रबाहिर गएर विभिन्न संघ संस्था र व्यक्तिविरुद्ध कारवाही गरिरहेको भन्ने आरोप लागेको थियो। उनीमाथि महाअभियोग लगाउनुपर्ने माग नागरिक समाजका तर्फबाट उठ्दै आएको थियो र महाअभियोग लगाउन नसकेको भनेर सांसदहरुको तीव्र आलोचना गरिएको थियो। 

विसं २०७४ वैशाख १७ गते तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भयो । कार्यपालिकाको क्षेत्राधिकारमाथि हस्तक्षेप, कार्यसम्पादन क्षमताको अभाव, व्यक्तिगत आशयबाट प्रभावित भई फैसला गर्ने, न्यायाधीशहरुमाथि फरक फरक व्यवहार गरेको, न्यायालयमा गुटबन्दी गर्न खोजेको भन्दै उहाँविरुद्ध अभियोग लगाइएको थियो । 

तर सुशीला कार्कीलाई महाअभियोग लगाउनुको मुख्य र तात्कालीक कारण प्रहरी महानिरीक्षक प्रकरण थियो । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध पनि संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । हाल जबरा निलम्बनमा परेका छन् । अख्तियार प्रमुख कार्की र सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश कार्कीविरुद्धका महाअभियोग प्रस्ताव पारित भने हुन सकेनन् । 

अख्तियार प्रमुख कार्कीविरुद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । यद्यपि त्यतिबेला संसद्मा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल थियो र उसको समर्थन बिना संसद्मा दुई तिहाइ मतले प्रस्ताव पारित हुनसक्ने स्थिति थिएन । पछि अख्तियार प्रमुख बन्न उनको योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतले उनलाई पदमुक्त गरेको थियो । 

त्यस्तै प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव औपचारिक रुपमा फिर्ता भएको थियो । कांग्रेस र माओवादी केन्द्रका २४९ सांसदको हस्ताक्षरसहित २०७४ वैशाख १७ गते संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। अहिले पनि जबराविरुद्धको महाअभियोग प्रस्ताव पारित हुन्छ भन्ने अवस्था छैन । संसद्मा सबैभन्दा ठूलो दल नेकपा एमालेले महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने पार्टी केन्द्रीय सचिवालयको बैठकले निर्णय गरेको छ । संसदीय दलको बैठकले यसबारे ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ । 

तर राजनीतिक दलहरुको दाउपेचमा संवैधानिक निकायका प्रमुखहरु शिकार हुनुपरेको छ । राजनीतिक दाउपेचको खेलले दल तथा सांसदहरु आफैँले अनुमोदन गरी नियुक्त गरेको संवैधानिक निकायका प्रमुखमाथि महाअभियोग लगाउनु पर्ने अवस्था किन आयो भन्ने प्रश्न उठेको छ । संविधानविद् भीमार्जुन आचार्यका अनुसार संवैधानिक निकायहरुमा नेपालका दलहरुले पटक पटक आफ्नो राजनीतिक दाउपेच र हिसाबकिताबमा खेलहरु खेल्ने गरेका छन् । 

नेपालमा जति पनि संवैधानिक निकायहरु र संविधानले परिकल्पना गरेका तीनवटा अङ्गहरु लोकतन्त्र र संविधानका महत्वपूर्ण स्तम्भ हुन् । आचार्यले संवैधानिक निकाय र तीनवटै अङ्ग स्वच्छ भए, पारदर्शी भए र सक्षम भएमात्र संविधान र लोकतन्त्रले सही ढङ्गले काम गर्न सक्ने बताउनुभयो । “अहिलेको प्रधानन्यायाधीश चोलेन्द्रसमेतलाई जोड्दाखेरी तीनवटै घटनामा तीनवटै पात्रलाई अहिलेका दल र अहिलेको संसद्ले अनुमोदन गरेर नियुक्ति गरेको थियो । आफैँले अनुमोदन गरेकोमा उसले आफैँले फेरि महाअभियोगबाट हटाउनुपर्ने अवस्था आएको छ ।”, उहाँले भन्नुभयो, “अहिले हामीले गर्ने प्रश्न के हो भने तिमीले किन खराब मान्छेलाई नियुक्ति गर्छौ ? अनि आफैँले नियुक्ति गरिसकेपछि फेरि महाअभियोगबाट हटाउनुपर्ने अवस्थाहरु किन आउँछ ?” 

लोकतन्त्रका तीन पिल्लर हुन् कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका । अरु संवैधानिक अंगहरु यी मूल अंगका सहयोगी हुन् । तर यसरी कुनै निकायका पदाधिकारीसँग असहमति राख्दैमा, अथवा भनौँ न यसरी आफ्ना विरुद्धमा मुद्दा फैसला गर्न सक्छ भन्ने त्रासमा यसरी प्रधानन्यायाधीशमाथि नै महाभियोग लगाउने हो भने त अरु सबै निकायमाथि कार्यपालकिाको छायाँ मात्र पर्न सक्छ नि । कम्तीमा लोकतान्त्रिक देशमा यस्तो नगरौँ, महाभियोगजस्तो अन्तिम अस्त्रलाई यस किसीमको राजनीतिक अस्त्र नबनाउँ ।