काठमाडौं । युरोकप फुटबल २०२० अन्तर्गत आज शनिबार ठुल्ठूला टिमहरुबीच भिडन्त हुँदैछ ।
नेपाली समय अनुसार पहिलो खेल साँझ ६.४५ बजे फ्रान्स र हंगेरीबीच खेल हुँदैछ भने ९.४५ बजे पोर्चुगल र जर्मनीबीच हुँदैछ । मध्यराति १२.४५ बजे स्पेन र पोल्याडबीच प्रतिस्पर्धा हुनेछ ।
फ्रान्स र हंगेरीको समूहमा पोर्चुगल र जर्मनी पनि छन् । यो ग्रुप अफ डेथ समूह हो । समूहमा यसअघि फ्रान्स र पोर्चुगलले खेल जितेर ३–३ अंक बनाएका छन् । यसअघि फ्रान्सले जर्मनीलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।
यस्तै पोर्चुगलले हंगेरीलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले प्रभावशाली खेल प्रदर्शन गरिरहेको छ ।
यस समूहबाट फ्रान्स, जर्मनी र पोर्चुगल तीनवटै टिम छनौट हुने सम्भावना छ ।
साथै यस समूहमा जर्मनी, फ्रान्स र पोर्चुगलमा एक से एक प्रतिभाशाली खेलाडीहरु छन् । तीनवटै टिम मजबुत फरवार्ड, डिफेन्स र गोलकिपिङका लागि चर्चित छन् । विश्वभर जर्मनी, फ्रान्स र पोर्चुगलका फ्यान जताततै छन् भने व्यक्तिगत खेलाडी मन पराउने फ्यानको लस्कर उस्तै छ ।
स्पेन भने अर्को समूहमा छ । यस समूहमा स्पेन बाहेक स्वीडेन, स्लोभाकिया र पोल्यान्ड छन् । अहिलेसम्म स्वीडेन र स्लोभाकियाले २–२ खेल खेलिसकेका छन् । अंक तालिकामा स्वीडेनले एक जित र एक बराबर गरी ४ अंक जोडेर समूहमा शीर्ष स्थानमा छ ।
स्लोभाकियाले पनि आफूले खेलेका २ खेलमध्ये एकमा जित हासिल गरी ३ अंक जोडेको छ । तर स्पेन भने एक खेल बराबरी खेलेर १ अंक बनाएर तेस्रो स्थानमा छ । स्पेन र स्वीडेनबीचको खेल बराबरीमा सकिएको थियो । पोल्यान्डले खेलेको १ खेलमा स्लोभाकियासँग हार व्यहोरेपछि कुनै अंक जोड्न सकेको छैन ।
—