८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

टपरी गाँस्ने प्रतिस्पर्धीसित विगतका सम्झना

टपरी गाँस्ने प्रतिस्पर्धीसित विगतका सम्झना
अ अ+ अ-

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवाकी ८५ वर्षीया लक्षिमादेवी महतारा बाँसको सिन्का र सालको पात बोकेर टपरी गाँस्ने प्रतिस्पर्धामा सहभागी हुन सदरमुकाम फुङलिङमा जारी औद्योगिक कृषि तथा पर्यटन मेलामा अन्य प्रतिस्पर्धीसँगै आउनुभयो ।

धार्मिकरुपमा मात्रै नभई स्वास्थ्यका लागि समेत फाइदाजनक मानिने सालको पातबाट तयार हुने टपरी हिजोआज प्रयोग हुने क्रम घट्दो छ । पछिल्लो पुस्ता यसको महत्वबारे कमै जानकार छ । बुन्ने सीप छैन । यस्तो अवस्थामा टपरी लोप हुने अवस्थामा छ । यसको ख्याल गर्दै ताप्लेजुङमा टपरी बुन्ने प्रतियोगिता आयोजना गरिएको हो ।

मेलामा बिहीबार भएको टपरी प्रतियोगितामा दुई पुरुषसहित ३८ जना सहभागी भए । घरैबाट बाँसको सिन्का र सालका पात बोकेर आएका प्रतिस्पर्धी एउटै ठाउँमा बसेर टपरी गाँस्ने प्रतिस्पर्धामा उत्रिए । प्रतिस्पर्धामा सहभागीका मनमस्तिष्क पुराना यादले भरिए । प्रतियोगितामा विष्णुमाया गिरी पहिलो तथा कुमारी मगर र देवीमाया ओझा क्रमश: दोस्रो र तेस्रो हुनुभयो ।

शारीरिक प्रतिक्रिया र अनुहारको भाव हेर्दा लाग्थ्यो उनीहरु प्रतिस्पर्धामा नभई गाउँघरमा हुने विवाह, व्रतबन्धलगायत कार्यमा भेला भएर दुनाटपरी गाँसिरहेका छन् । उनीहरुले प्रतिस्पर्धाको कुरा बिर्सिएर विगतमा गाउँघरमा भएका विवाह, व्रतबन्धजस्ता कार्यमा भेला भएर दुनाटपरी गाँसेको सम्झिदै रमाइलो अनुभूति गरे ।

“पहिलाजस्तो दुनाटपरी गाँस्ने र प्रयोग गर्ने चलन हराउँदै गयो, विभिन्न कार्य हुँदा गाउँघरका महिला दिदीबहिनी भेला भएर दुनाटपरी गाँस्ने चलन थियो, एकअर्कालाई सघाइन्थ्यो, आजकल त्यस्तो छैन, धेरै पछि यति धेरै भेला भएर टपरी गाँस्दा पुरानो याद आयो, सिक्ने सिकाउने अवसर मिल्यो, रमाइलो भयो”, प्रतिस्पर्धी भीमा थापाले भन्नुभयो । जन्मदेखि मृत्युसम्मका विभिन्न कर्मकाण्डमा चाहिने टपरी अहिलेको पुस्ताले बिर्सिएकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो । टपरी बुन्ने प्रतियोगिताले सीप आदानप्रदान भएको र यसबारे नयाँ पुस्तालाई जानकारी गराउन मद्दत पुगेको उहाँको भनाइ छ ।

हाङ्देवाकी लक्षिमा देवीले प्रतियोगितामा सहभागी हुन पाउँदा खुसी लागेको बताउनुभयो । उहाँलाई पनि पुरानै याद आयो । उमेरमा आफ्नै घरमा र थुप्रै छरछिमेक, आफन्तकहाँ विवाह, व्रतबन्ध आदि कार्यमा भेला भएर दुनाटपरी गाँसेको झलझली सम्झिएको उहाँले बताउनुभयो ।

“धेरै समय पछि यतिका धेरै जना भेला भयौँ, धेरै रमाइलो भयो”, उहाँले भन्नुभयो । प्रतियोगितामा दुई पुरुषसमेत सहभागी थिए । सहभागीमध्ये फुङलिङका ६८ वर्षीय लोचन दाहालले टपरी बुन्ने, प्रयोग गर्ने चलन हराउँदै गएकाले सीप विकासतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । विजेता बन्नेभन्दा पनि राम्रो कामको सम्मान गरौँ भनेर भाग लिएको उहाँको भनाइ थियो ।

“दुनाटपरी गाँस्ने, प्रयोग गर्ने चलन हरायो, मौलिक वस्तुको संरक्षण र परम्परागत सीपको विकास तथा विस्तार गर्नुपर्छ, अहिलेका नयाँ पुस्तालाई पनि टपरी बुन्ने सीप सिकाउने कार्यक्रम सरोकारवाला निकायले ल्याउनुपर्छ”, दाहालले भन्नुभयो ।

प्रतिस्पर्धामा भाग लिएर सीप आदानप्रदान गर्ने, नयाँ पुस्तालाई सीप सिकाउनुपर्छ, टपरी गाँस्ने, प्रयोग गर्नुपर्छ भन्नेजस्ता कुरा गरिरहेका वृद्धवृद्धामाझ युवा पुस्ताका प्रतिस्पर्धी भने कोही पनि थिएनन् । “युवा पुस्तामा टपरी बुन्ने सीप नभएर वा लजाएर पनि सहभागी नभएका होलान, टपरीको चलन नै हराएको छ”, प्रतियोगितास्थलमा भेटिनुभएका भीम गुरुङले भन्नुभयो । यस्तो प्रतियोगिताले पुराना सीप र मौलिक वस्तुको पुन:उत्थानमा सहयोग मिल्ने उहाँको भनाइ छ । मेसिन र औजारबाटभन्दा परम्परागत विधिबाटै टपरी बनाउँदा सर्वसाधारणलाई रोजगारी मिल्ने साथै स्वास्थ्यका दृष्टिले समेत फाइदा पुग्ने गुरुङ बताउनुहुन्छ ।

टपरी सालको पातलाई बाँसको सिन्काले गाँसेर थाली आकारमा बनाइएको हुन्छ । सालको पातलाई शुद्ध मानिने भएकाले यसैबाट बनेका टपरी जन्मदेखि मृत्युसम्मका संस्कारमा प्रयोग गर्ने परम्परा छ । तर पछिल्लो समय बजारमा मेसिन तथा औजारबाट बनेका टपरी पाउन थालेपछि बाँसको सिन्काले गाँसेर बनाउने चलन हराउँदै गएको छ । यसको प्रयोग गर्ने क्रम पनि घट्दो छ ।

सालको पातका टपरीलाई शुद्ध भाँडोका रुपमा लिने गरिएको छ । योसँगै केही वर्षअघिसम्म गाउँघरमा हुने विभिन्न कार्यमा खाना खाने प्रयोजनमा समेत टपरी गाँस्ने गरिन्थ्यो । क्रमश: स्टिल र प्लाष्टिकका भाँडा पाउन थालेपछि विवाह, व्रतबन्धलगायत कार्यमा टपरीको प्रयोग हुन छाडेको छ । रासस