१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन

मेची राजमार्गमा सधैँ जमिन भासिने र पहिरो खस्ने समस्या

मेची राजमार्गमा सधैँ जमिन भासिने र पहिरो खस्ने समस्या
अ अ+ अ-

पाँचथर । जमिन भासिने र पहिरो झरिरहने समस्याले पूर्वी नेपालका चार जिल्लालाई जोड्ने मेची राजमार्गमा निरन्तर बाधा हुने गरेको छ ।

दुई सय ६८ किलोमिटरको राजमार्गका दर्जनौँ स्थानमा जमिन नअडिने समस्याका कारण विशेषतः बर्खायाममा समस्या हुने गरेको छ । इलामको माई खोला क्षेत्र तथा पाँचथरको पाङ्ग्रेभीर र भारपा घ्यापेमा जमिन नअडिने समस्या राजमार्गका लागि चुनौतिपूर्ण बनेको सडक डिभिजन कार्यालय इलामका प्रमुख विदुर पोखरेलेको भनाइ छ । जमिन भासिने र पहिरो झर्ने समस्याको दीर्घकालीन समाधान तय हुन नसक्दा समस्या परेको उहाँले बताउनुभयो । जमिन भासिने र पहिरो झर्ने स्थानमा सधैँ धुलो र हिलोको समस्याले सताउने गरेको छ ।

जमिन निरन्तर भासिने ठूलो क्षेत्र रहेको इलामको माई खोलामाथिका तीन स्थानमा सडक डिभिजन कार्यालय इलामले आर्थिक वर्ष २०७१÷०७२ मा ‘रक एन्करिङ’ प्रविधिबाट सडक अड्याउने प्रयास गरेको थियो । रु छ करोडको लागतमा उक्त प्रविधिबाट सडक अड्याउने प्रयास गरिए पनि सो उपायले एक वर्षसम्म समेत काम नगरेको स्थानीयवासीको भनाइ छ । भिरालो बाटो निरन्तर भासिने हुनाले यहाँको यात्रा चुनौतिपूर्ण हुने गरेको छ ।

इलाममा माइखोला–भञ्ज्याङको छ किलोमिटर सडक निरन्तर भासिने गरेको छ । यस स्थानमा १० वर्षमा करीब तीन मिटर सडक भासिएको पाइएको छ । यो स्थान जोखिमपूर्ण देखिएपछि खुदुनाबारी–दानाबारी–राकसे–बेलासे–भञ्ज्याङ सडक वैकल्पिक मार्गका रूपमा उपयोग गर्न सकिने बनेको छ । धेरैले उक्त सडकको स्तरोन्नति गर्नुपर्नेमा जोड दिएका छन् ।

पाँचथरको हिलिहाङ गाउँपालिका वडा–७ भारपाको घ्यापेमा माइखोलामा जस्तै मेची राजमार्गको सडक भासिने समस्या छ । स्थानीयवासी राजेन्द्रप्रसाद काफ्लेका अनुसार यहाँ राजमार्ग विस्तार हुनुअघि नै जमिन भित्रबाटै सर्ने गर्थ्यो । सर्ने जमिनमै बाटो बनेपछि सडक नअडिएको काफ्लेको भनाइ छ । “सडक भन्दामुनि जमिनमा ठूलो भास छ । बर्सेनि माथिबाट जमिन सर्दै जाँदा सडक भासिन्छ”, उहाँले भन्नुभयो, “घ्यापे दीर्घकालीन समस्या बनेको छ ।”

यस स्थानमा २०४२ सालमा सडक विस्तार भई २०४३ सालदेखि सवारी साधन चल्न थालेका थिए । सडकको माथिल्लो भागमा पाइप लगाई पानी नालीमा झारेर सडक अड्याउने प्रयास गरिए पनि सफल हुन सकेको छैन । उक्त स्थानको विकल्पका लागि गोलेडाँडा घुम्तीबाट सल्लरी जोड्ने वैकल्पिक बाटो निर्माण भएको छ । यस्तै वैकल्पिक सडककै लागि मझौले घुम्ती–चिवाडाँडा हुँदै मानेडाँडा जोड्ने बाटोको ट्र्याक पनि बनेको काफ्लेको भनाइ छ । “यी दुवै सडक मर्मत सम्भार गरे चलाउन सकिन्छ”, उहाँले भन्नुभयो ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पाङ्ग्रेभीर क्षेत्रमा सडक मर्मत गरिरहेका निर्माण व्यवसायीले सडक भित्तामा रहेको चट्टान कटान गराएपछि पहिरो झर्न थाल्यो । व्यवसायीले आफूखुशी ढुङ्गा उत्खनन गर्दा झरेको पहिरोका कारण चार वर्षअघि एक साता राजमार्ग नै अवरुद्ध बनेको थियो । एक साताको प्रयासमा पहिरो पन्छाएर सडक सुचारु त भयो, तर दीर्घकालीन समस्या निम्तियो ।

पाङ्ग्रेभीरमा सडकमाथिको ठूलो भाग लच्किएर झरेको छ । तर लच्किएको सबै जमिन पहिरो बनेर बगेको छैन । वर्षा हुनासाथ ढुङ्गामाटो सडकमा झर्ने गर्दछ । सडक डिभिजन कार्यालय इलामले कङ्क्रिट पर्खाल लगाएर पहिरो रोक्न खोजे पनि ठूलो भाग लच्किएकाले पहिरो सडकमा झर्ने गरेको छ ।

पाङ्ग्रेभीरको पहिरो दीर्घकालीन समस्या बन्ने देखिएपछि सो समय फाल्गुनन्द गाउँपालिका र प्रदेश सरकारको लगानीमा गुम्बाडाँडा–निबुखोला–राँकेबजार वैकल्पिक सडक निर्माण थालिएको थियो । उक्त सडकको ट्र्याक खोल्ने काम सकिएपछि स्तरोन्नतिमा कुनै निकायले ध्यान दिएनन् । त्यसैले यो सडकमा सवारी सञ्चालन हुन सक्दैनन् । पहिरो झरेर पाङ्ग्रेभीर अवरुद्ध बने राजमार्ग नै ठप्प हुने अवस्था रहेको सडक डिभिजन कार्यालय इलामका प्रमुख पोखरेलको भनाइ छ । “यी समस्याबारे सरोकारवालाले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो ।

मेची राजमार्ग विसं २०२९ मा खाद्यान्न अनुदानमा निर्माण सुरु भएको थियो । विसं २०३३ देखि भने सरकारी बजेटमै सडक निर्माण हुन थाल्यो । ताप्लेजुङ, पाँचथर र इलामको ‘लाइफलाइन’का रूपमा रहेको सडक अहिले निकै व्यस्त हुने गरेको छ । यहाँ यात्रुवाहक सवारीका साधनको चाप दैनिकरूपमा बढिरहेको छ । यातायातको सुगमतापछि ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा धाम दर्शन गर्न दैनिक हजारौँको सङ्ख्याका तीर्थयात्रीले यो सडक प्रयोग गर्ने गर्दछन् । यस्तै खाद्यान्न, मालसामानलगायत सामग्रीको ढुवानी तथा स्थानीय कृषि उपजहरूको निकासीमा समेत यो राजमार्ग महत्त्वपूर्ण रहेको छ ।

यद्यपि जमिन नअडिने समस्याले राजमार्गमा प्रायः हैरानी बेहोर्नुपर्ने अवस्था छ । झापाको चारआलीदेखि ताप्लेजुङको फुङलिङसम्म सडकका रहेका सयौँ खाल्डाखुल्डी र अवरोधले यात्रुलाई समस्या हुने गरेको छ । राजमार्गमा निरन्तर बाधा उत्पन्न हुने भएपछि विकल्पका रूपमा निर्माणाधीन तमोर कोरिडोर सडको प्रयोग हुन थालेको छ । यद्यपि यस कोरिडोरले मेची राजमार्गजस्तै ठूलो जनघनत्वलाई समेट्न सक्ने अवस्था नहुनाले मेची राजमार्ग विकल्पविहीन सडक बनेको छ । रासस