१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिसमक्ष अहिराजको आग्रहः मिटरब्याज पीडितको समस्या यथाशीघ्र सम्बोधन गर्ने वातावरण मिलाइयोस्



अ+ अ-

काठमाडौँ । मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराजले मिटरब्याजपीडित नागरिकहरूको समस्या यथाशीघ्र सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण गराइदिन राष्ट्रपतिसमक्ष आग्रह गर्नुभएको छ ।

पूर्व प्रदेश प्रमुख अहिराजले गणतन्त्र र संघीयतालाई संस्थागत गर्न नागरिकहरूको भूमि, भावना र भविष्य अनिवार्यरूपमा सुरक्षित हुनुपर्ने बताउँदै काठमाडौँको अनसनस्थलबाटै राष्ट्रपतिसमक्ष सो आग्रह गर्नुभएको हो ।

संविधानप्रति आदर र सरकारप्रति विश्वास कायम हुन सके मात्र गणतन्त्र साझा हुन सक्ने उल्लेख गर्दै उहाँले प्रदेशभित्र देखिएका समस्याहरूमा प्रदेश सरकार गम्भीर नहुनु र पीडितहरू पनि प्रदेश सरकारमाथि अपनत्व महसुस गर्न नसक्नु चिन्ताको विषय रहेको बताउनु भएको छ ।

उहाँले भन्नुभएको छ –

देशभित्र दिनानुदिन नागरिकहरू असुरक्षित हुँदै गएको र विभिन्न खाले आर्थिक उत्पीडनको शिकार हुनु परेको व्यहोरा यहाँलाई अवगत नै छ । गणतन्त्र र संघीयतालाई संस्थागत गर्न नागरिकहरूको भूमि, भावना र भविष्य अनिवार्यरूपमा सुरक्षित हुनुपर्छ ।

संविधानप्रति आदर र सरकारप्रति विश्वास कायम हुन सके मात्र गणतन्त्र साझा हुन सक्छ । प्रदेशभित्र देखिएका समस्याहरूमा प्रदेश सरकार गम्भीर नहुन् र पीडितहरू पनि प्रदेश सरकारमाथि अपनत्व महसुस गर्न नसक्नु चिन्ताको विषय हो ।

नागरिकहरूलाई आफ्नो समस्याको समाधान खोज्न संघीय राजधानी काठमाडौंमै धाउनुपर्ने, गुहार लगाउनुपर्ने बाध्यता अन्त्य गर्नका लागि पनि प्रदेश र स्थानीय तहको सरकारलाई गम्भीर हुन जरूरी छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन पनि प्रदेश र स्थानीय तहको सरकारलाई नागरिकप्रति विशेष गम्भीर भई समस्या समाधान हेतु सक्रिय भूमिका निर्वाह गर्न सके पीडितहरू आ९आफ्नै थातथलोमा न्यायको अनुभूति गर्न पाउँछन् ।

मिटरब्याजपीडित नागरिकहरूको समस्या यथाशीघ्र सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण गराइदिन अनसनस्थलकाठमाडौं बाटै सम्माननीय राष्ट्रपतिज्यूलाई आग्रह गर्दछु ।