२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले पटक-पटक संवैधानिक दायरा नाघिसक्नुभयो : वरिष्ठ अधिवक्ता खरेल



अ+ अ-

काठमाडौं । वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले प्रतिनिधिसभा पुनर्स्थापना गरेर मात्र नपुग्ने भन्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश दिनुपर्ने बताएका छन् ।  

आइतबार प्रतिनिधिसभा विघटन सम्बन्धी रिटमाथिको बहसमा भाग लिँदै उनले देउवाले बहुमत सांसदको हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष दावी गरेकाले उनलाई प्रधानमन्त्री नियुक्तिको आदेश हुनुपर्ने बताएका हुन् ।

रिटमाथिको बहसमा भाग लिँदै उनले भने  ‘‍आदेश जारी गर्दा प्रतिनिधि सभा पुनर्स्थापना गरेर बाँकी संसदमै हुन्छ भनेर हुदैन । अहिलेसम्म बहुमत कायम राखेका देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश हुनुपर्छ र यो अनिवार्य छ । किनभने ओलीले पटक पटक सम्वैधानिक दायरा नाघिसक्नुभएको छ’  ।

वरिष्ठ अधिवक्ता खरेलले अघि भने ‘राष्ट्रपति र प्रधानमन्त्रीको व्यवहारका कारण पनि देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश अनिवार्य छ ।’

प्रधानमन्त्री नियुक्तिका लागि दलले नभई सांसदले व्यक्तिगत रुपमा मत दिनुपर्ने वरिष्ठ अधिवक्ता खरेलले बताए । ‘मत भनेको सांसदले दिने हो । ७६(२) होस् कि अरूमा । नत्र विश्वासको मतमा किन मत विभाजन गरिन्छ दलको नेताले विश्वास दिए भइहाल्थ्यो नि’ उनले भने ।

सांसदहरुले ह्वीप उल्लंघन गरेर दिएका मतको पनि मान्यता हुने भन्दै उनले भने ‘ह्वीप उल्लंघन गरेर दिएको भोटको मान्यता हुँदैन भनेर विश्वका कुनै पनि संविधानले भनेको छैन ।  

यस्तै अधिवक्ता खरेलले राष्ट्रपति संस्थाले निरपेक्ष भएर काम गर्न नसकेको बताएका छन् । 

“कसैले संसद्को विशेष अधिवेशन आह्वानको निवेदन लैजाँदा घण्टौँ दर्ता नै नगरिदिने अनि केपी ओलीका निवेदन रातको ९ बजे, ११ बजे पनि स्वीकार गर्दै प्रतिनिधिसभा नै विघटन गरिदिने ?, पुत्र मोहमा फसेका धृतराष्ट्र र उहाँमा के फरक भयो ?” उनले प्रश्न गरे ।