७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

‘मिसन ग्रासरुट’ ले सम्झायो अष्टलक्ष्मीकी छोरीकी ‘भूमिगत आमा’

‘मिसन ग्रासरुट’ ले सम्झायो अष्टलक्ष्मीकी छोरीकी ‘भूमिगत आमा’
अ+ अ-

झापा । नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भूमिगत राजनीतिक जीवनको तीन दशकअघिका घटना सुनाउँदा झापाको मेचीनगर–११ की लता प्रसाईंको आँखामा आँसु थामिएनन् ।

प्रसाईं त्यस्तो ‘भूमिगत आमा’ हुनुहुन्थ्यो, जसले नेत्री शाक्य पञ्चायती शासनविरुद्ध भूमिगत राजनीतिक काममा हुँदा वर्षौंसम्म उहाँकी छोरी आस्थालाई आफ्नै छोरीसरह पालनपोषण गरेर हुर्काउनुभएको थियो । केही दिनअघि शाक्य ‘मिसन ग्रासरुट’ अभियानको सन्दर्भमा तिनै ‘भूमिगत आमा’को घरमा आउनुभएको थियो । महिला कार्यकर्ताको बाक्लो उपस्थितिमा उहाँले २०४६ सालअघि प्रसाईंको घरसँग जोडिएको भूमिगत राजनीतिको नाताप्रति भावुक हुँदै सुनाउनुभयो, “मैले काखकी छोरी आस्थालाई पालनपोषण गर्ने गरी यहीँ घरमा छाडेर पार्टी काममा गएको थिएँ ।”

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शाक्य र एमाले नेता अमृतकुमार बोहोराबीच भूमिगत कालमै २०३७ सालमा विवाह भएको थियो । पञ्चायती निरङ्कुश शासनको चर्को दमनका बीच शाक्य धनकुटाको पिस्कर र झापामा तत्कालीन नेकपा मालेको सङ्गठन विस्तार र आन्दोलनमा खटिनुभएको थियो ।

छोरी आस्था र छोरा विश्वासको जन्म भएपछि दुवै सन्तानलाई उहाँहरूले पार्टीका कार्यकर्ताको घरमा छाडेर भूमिगत राजनीतिमा सक्रिय हुनुपरेको थियो । यही क्रममा छोरी आस्था मेचीनगरका विष्णु प्रसाईं र लता प्रसाईंको घरमा हुर्किनुभयो भने छोरा विश्वास गौरादहको छविलाल श्रेष्ठको घरमा ।

वर्षौंसम्म भूमिगत सेल्टरमा अरुकै परिवारमा बिताएका शाक्यका छोराछोरीले २०४६ सालको जनान्दोलनको सफलतापछि मात्र जन्मदाता आमाबुबासँग बस्न पाएका थिए । लामो अवधिपछि भेट्दा छोरीले आफूलाई आमा भनेर नचिनेर टाढिन खोजेको प्रसङ्ग शाक्यले सुनाउँदा ‘भूमिगत आमा’ प्रसाईंले आँसु लुकाउन सक्नुभएन ।

“मैले कहिले पनि आस्थालाई उनकी आमा जीवनमरणको भूमिगत राजनीतिक सङ्घर्षमा होमिँदै छोरीलाई अर्काको घरमा छाडेर गएकी छन् भनेर महसुस हुन दिइनँ”, प्रसाईंले तीन दशकअघिका दिन सम्झिँदै भन्नुभयो, “आस्थाले मलाई वास्तविक आमा नै मान्थिन् । मेरो अर्की उस्तै उमेरकी छोरीलाई एउटा हातमा र आस्थालाई अर्को हातमा च्यापेर हुर्काएँ । विसं २०४६ मा बहुदल स्थापनापछि अष्ट कमरेड छोरी लिन आउँदा आस्थाले मलाई वास्तविक आमा ठान्दै मसँगै बस्छु भनेर धेरै जिद्दी गरेकी थिइन् ।”

प्रसाईंको घर एकान्त गाउँमा भए तापनि उहाँका पति विष्णु प्रसाईं तत्कालीन नेकपा मालेको जिल्लाकै मुख्य नेता भएकाले प्रहरी प्रशासनको कर्के नजर परिरहन्थ्यो । पतिको राजनीतिक जीवन र शाक्यकी छोरीको भूमिगत बाल्यकाललाई सतर्कतापूर्वक जोगाउनु निकै कठिन थियो ।

भूमिगत नेताकी छोरी भनेर गाउँलेले समेत सुइँको नपाउने गरी प्रसाईं परिवारले आस्थाको पालनपोषण राम्ररी गर्दै आएको थियो । “छिमेकीले कसको नानी भनेर सोध्दा मेरी मितिनीको छोरी हुन्, गरिब भएर हुर्काउन नसकेकाले ल्याएर पालेकी छु भनिदिन्थेँ”, उहाँले भन्नुभयो ।

भूमिगत नेताका छोरीलाई प्रसाईं परिवारले वर्षौंसम्म ममतापूर्ण आश्रयसहित शिक्षादीक्षासमेत प्रदान गरेको थियो । बागमती प्रदेशका पूर्वप्रमुख विष्णु प्रसाईंका अनुसार उसबेला पार्टीको काम इमानदारी, गोपनीयता र बलिदानको भावनाले गरिन्थ्यो ।

“मैले मेरा र अष्ट कमरेडका छोरीहरूलाई एउटै विद्यालयमा पठनपाठन गराएको थिएँ, आस्थाले मलाई बुबा भनेर बोलाउने गर्थिन्”, प्रसाईंले सुनाउनुभयो, “विद्यालयमा उनको बुबा बनेर थर पनि प्रसाईं नै लेखिदिएको थिएँ । विद्यालयका शिक्षकले छोरी भनेर मलाई अभिभावक ठानेका थिए ।”

एमालेले फागुन ५ गतेदेखि सुरु गरेको दुई महिने ‘मिसन ग्रासरुट’ अभियानको प्रदेश नं १ को संयोजक बनेर आउनुभएकी नेत्री शाक्यले आफूले भूमिगत सेल्टरका रूपमा प्रयोग गरेका घर र परिवारसँग भेटघाट गरिरहनुभएको छ । यही क्रममा उहाँले आफ्ना छोराछोरीलाई पालनपोषणका लागि भूमिगत राखेको प्रसाईं र श्रेष्ठ परिवारसँग भलाकुसारी गर्नुभएको हो ।

के हो ‘मिसन ग्रासरुट’ ?

एमालेले फागुन ५ गते दुई महिने ‘मिसन ग्रासरुट’ अभियानको घोषणा गरेको छ । सातै प्रदेशका ७७ जिल्ला र सात सय ५३ पालिकामा पार्टी सुदृढीकरण तथा विस्तारका लागि अभियान सञ्चालन भइरहेको छ ।

“पछिल्ला दिनमा पार्टीको काम भनेको चुनावदेखि चुनावसम्म मात्र जस्तो भइरहेको छ”, एमाले स्थायी कमिटी सदस्य शाक्य भन्नुहुन्छ, “लामो सङ्घर्षको इतिहास बोकेको हाम्रो पार्टीमा सयौँ भूमिगत सेल्टरदाता हुनुहुन्थ्यो । हिजो व्यक्तिगत सम्पत्ति, पद र प्रतिष्ठालाई तिलाञ्जली दिएर देश, जनता र पार्टीका लागि बलिदान दिन तयार हुने कार्यकर्ताको हजारौँ पङ्क्ति थियो तर आज पार्टीभित्र स्वार्थी, लोभी र अराजकतावादीहरू हावी हुँदै गएका छन् । इमान्दार कार्यकर्ता र समर्थक निराश बनिरहेका छन् ।”

पार्टी जीवनमा हुर्किरहेको यही विकृति र विसङ्गतिलाई चिरफार गरेर सङ्गठनलाई पुनर्ताजगी गर्न पार्टीले गाउँ, टोल र कार्यकर्ताको घरसम्मै पुग्न ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको उहाँले बताउनुभयो ।

एमालेले सातै प्रदेश र पालिकामा केन्द्रीय तहका नेतालाई ‘मिसन ग्रासरुट’ अभियानमा परिचालन गरेको छ । जिल्ला, निर्वाचन क्षेत्र, पालिका, वडा र टोलका सङ्गठनले यतिबेला योजनाबद्धरूपमा पुराना कार्यकर्ता, पूर्वजनप्रतिनिधि र उपेक्षाबाट गुज्रिरहेका श्रमिक वर्गका समर्थकको घरआँगनसम्म ‘मिसन ग्रासरुट’ अभियानका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

मुलुक बनाउन हिँडेका नेता कार्यकर्तामा असल संस्कार र उच्च नैतिकतायुक्त राजनीतिक भावना हुनुपर्ने बताउँदै उहाँले आफूले टिकट पाए चुनाव जित्छु भन्ने र अरुले टिकट पाए अन्तरघात गरेर हराउने तहसम्मको अराजकता पार्टीमा हावी भएको बताउनुभयो । पार्टीभित्रको सङ्गठनात्मक पद्धति बलियो बनाउन, त्याग र सङ्घर्ष गरेका कार्यकर्तासँगको सम्बन्ध आत्मीय बनाउन, सेवा र समर्पणको भावना विकास गराउन, नैतिक र राजनीतिकरूपमा कार्यकर्ता पङ्क्तिलाई इस्पात जस्तै बलियो बनाउन अभियानले मद्दत पुर्‍याउने अपेक्षा गरिएको उहाँको धारणा छ ।

एक लाख घरमा अभियान पुर्‍याइने

झापा जिल्लालाई नेकपा एमालेले आफ्नो उर्वर र प्रादुर्भावस्थलका रूपमा मान्दै आएको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीदेखि धेरै शीर्ष तहका नेता झापाकै राजनीतिक सङ्घर्षका उपज हुनुहुन्छ ।

विसं २०२८ देखि सुरु भएको झापा विद्रोहको जगमा जन्मिएको नेकपा माले नै अहिलेको एमाले हो । झापा विद्रोहका क्रममा इलामको सीमा सुखानीमा पार्टीका पाँच योद्धा रामनाथ दाहाल, वीरेन राजवंशी, नेत्र घिमिरे, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई २०२९ फागुन २१ गते जेल सार्ने निहुँमा जङ्गलमा लगी पञ्चायती शासकले गोली हानी हत्या गरेका थिए । यिनै पाँच सहिदलाई एमाले कार्यकर्ता कम्युनिस्ट आन्दोलनलाई आजको उचाइमा पुर्‍याउने प्रेरक ठान्दछन् ।

‘मिसन ग्रासरुट’ अभियानका क्रममा झापामा एक लाख साधारण सदस्य थप गरिने एमाले झापाका अध्यक्ष दीपक कार्कीले बताउनुभयो । “झापा जिल्ला हाम्रो पार्टीको आधारभूमि भएकाले यहाँ हिजो जेलनेल भोगेका र कठिन दिनमा सङ्घर्षमा साथ दिएका हजारौँ पुराना कार्यकर्ता छन्”, झापामा ‘मिसन ग्रासरुट’ अभियानको लक्ष्य प्रष्ट्याउँदै उहाँले भन्नुभयो, “एक लाख साधारण सदस्य थप गर्ने हाम्रो लक्ष्य छ । पार्टीलाई आजको दिनसम्म ल्याउन योगदान पुर्‍याउनुहुने सबै पुराना कार्यकर्ताको घरआँगनमा पुगेर पार्टीले उहाँहरूको दु:खसुखको अवस्था बुझ्ने काम गर्नेछ ।”

पार्टी काम गर्दा विभिन्न कमजोरी गरेर कारबाहीको भागीदार भएका कार्यकर्तालाई समेत अभियानको क्रममा आत्मालोचित भएर सुध्रिने अवसर प्रदान गरिने उहाँले बताउनुभयो । झापाका १५ वटै पालिकामा रहेका एमालेका कार्यालयलाई डिजिटल प्रविधियुक्त बनाउने र पार्टीले सदस्यबाट उठाउने गरेको नियमित सहयोग (लेबी) अबदेखि बैंकिङ माध्यमबाट लिइनेसमेत एमाले झापाको बैठकले निर्णय गरेको छ ।