काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा जसपाका अध्यक्ष यादवसहित शीर्ष नेताहरूसँग प्रधानमन्त्री दाहालले छलफल गर्नुभएको हो । मुख्यत: राष्ट्रपति निर्वाचनको विषयलाई लिएर उहाँहरुबीच छलफल भएको बताइएको छ ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालको राष्ट्रपति निर्वाचन र सम्भावित राजनीतिक समीकरणका विषयमा दलहरूसँग छलफल जारी छ ।
भेटमा उपप्रधान एवम् भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ र माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेसमेत सहभागी हुनुहुन्थ्यो । आजै प्रधानमन्त्री दाहालले जसपाका नेताहरूसँग भेटवार्ता गर्नुअगाडि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटवार्ता गर्नुभएको थियो ।










