१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

बाँझो जमिनमा पशुपालन र खेती

बाँझो जमिनमा पशुपालन र खेती
फाईल फोटो
अ अ+ अ-

तनहुँ । घरपरिवारसँगै काम गरेर आम्दानी लिनुपर्छ भन्ने उद्देश्यले काठमाडौँको पढाइ सकिनासाथ तनहुँको भानु नगरपालिका–१२ घलेछापका ३२ वर्षीय कुशलचन्द्र अधिकारी गाउँ फर्किनुभयो ।

अधिकारीले जागिर गर्नु तथा अन्य व्यवसाय गर्नुभन्दा कृषि व्यवसायबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने लागेपछि २२ वर्षदेखि बाँझो रहेको जमिनको उपयोग गर्दै अहिले मिर्लुङ बहुउद्देश्यीय कृषि फार्म प्राली सञ्चालन गरिरहनुभएको छ । उहाँले पाँच बाख्रादेखि पशुपालन व्यवसाय सुरुआत गर्नुभएको हो ।

समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएका कुशलले रु ४८ हजारको लगानीमा पाँच बाख्राबाट व्यवसाय सुरुआत गर्नुभएको उहाँ बताउनुहुन्छ । थोरै सङ्ख्यामा बाँझो जमिनमा घाँस लगाएर व्यवसाय वृद्धि तथा विकास गर्दै हाल बाख्रा मात्रै ६५ रहेको उहाँ बताउनुहुन्छ ।

उहाँको कृषि व्यवसायले दुई सय रोपनी जमिन ओगटेको छ । आफ्नो जमिनसँगै जोडिएको डेढ सय रोपनी जग्गा भाडामा लिएर उहाँले फार्म सञ्चालन गर्नुभएको छ । खोर र गोठले करिब छ रोपनी जग्गा ओगटेको छ भने बाँकीमा भैँसी, गाई, बाख्राका लागि प्रोटिनयुक्त घाँस लगाउनुभएको छ ।

करिब ३० वर्ष वैदेशिक रोजगारीको शिलशिलामा बहराइन बस्नुभएका कुशलका बुवा राजेन्द्रको प्रेरणाले उहाँ कृषि व्यवसायमा लाग्नुभएको बताउनुहुन्छ । “विदेशमा गरिएको दुःख स्वदेशमा गर्नसके मनग्य आम्दानी गर्न सकिन्छ भनेर प्रोत्साहन गर्नुभएकाले यो व्यवसायमा सन्तुष्ट छु”, कुशल भन्नुहुन्छ ।

उहाँले बुवाले दिनुभएको प्रेरणाअनुसार नै गाउँ फर्केपछि गाउँमै कृषिसम्बन्धी व्यवसाय गर्नुभएको हो । “बहराइनबाट फर्केपछि बुवाले तनहुँमै बस्न रुचाउनुभयो”, उहाँले भन्नुभयो, “बुवाको रुचिअनुरुप नै मैले पनि गाउँमै व्यवसाय गरेँ, कृषि व्यवसायमा लागेको देखेर छिमेकीले पढेलेखेको शिक्षित युवा पनि बाख्रापालनमा लागेको भनेर भन्नुहुन्थ्यो । लगानीसँगै आम्दानी राम्रो हुँदै गएपछि भने छिमेकीले यहीँ आम्दानीको स्रोत रहेछ भन्ने गरेको उहाँ सुनाउनुहुन्छ ।

उहाँले पढाइ सँगसँगै काठमाडौँमा आफ्नै ‘ट्राभल्स एण्ड टुर्स’ व्यवसाय गर्नुभएको थियो । उहाँ नाफामा चलेको व्यवसाय छाडेर गाउँ फर्किएर कृषि फार्म सञ्चालन गर्दै आउनुभएको हो । विसं २०६५ मा उच्च शिक्षाका लागि काठमाडौँ जानुभएका कुशल १० वर्षपछि व्यवसाय गर्ने लक्ष्यसहित गाउँ फर्किनुभएको हो ।

उहाँले व्यवसाय सञ्चालन गर्ने समयमा समाजशास्त्र विषयमा स्नात्तकोत्तर तहको पढाइ सकाउनुभएको बताउनुभयो । उहाँले विद्यालयका शिक्षकले शिक्षण पेशासँगै केराखेती गरेको देखेर पनि कृषि व्यवसायमा प्रेरित भएको बताउनुभयो । कुशल भन्नुहुन्छ, “बाँझो भएको जमिनको पनि उपयोग भएको छ ।”

हाल उहाँले गोठमा बाख्रासँगै भैँसी, गाई, कडकनाथ कुखुरा, कालिज, मौरीपालन गरिरहनुभएको छ । विगतमा बाख्रा मात्रै पाल्नुभएका कुशलले अहिले भैँसी, गाई, कुखुरा, मौरी, कालिज थप्नुभएको हो । सङ्घर्ष धेरै भए पनि आम्दानी राम्रो हुँदै आएको उहाँ बताउनुहुन्छ । उहाँको गोठमा १२ भैँसी, एउटा ब्याडे राँगो, ६५ बाख्रा छन् ।

“बाख्रा नोक्सानी भएमा भैँसीबाट पूर्ति गर्न सकिन्छ, एकथरिमा नोक्सान भएमा अर्को व्यवसायबाट पूर्ति र आम्दानी लिइरहन सकिन्छ”, उहाँले भन्नुभयो । उहाँले आफैँले गाईभैँसीबाट उत्पादित दूध बिक्रीका लागि बजारसम्म पु¥याउने गरेको बताउनुभयो । दैनिक ७५ लिटर दूध उत्पादन गर्दै आएको र ३० लिटर बिक्री गरिन्छ भने बाँकी दूधबाट पनिर बनाएर बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ ।

दूधको बजार नपाउँदा घ्यू, नौनी बनाएर बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ । पनिर बनाउन थालेपछि स्थानीय बजारमा खपत हुने गरेको उहाँले बताउनुभयो । उहाँले फार्ममा उत्पादित पनिर प्रतिकिलो रु सात सयमा बिक्री गर्दै आएको बताउनुभयो । हालसम्म उहाँले भवनसहित करिब रु ७० लाख लगानी भएको बताउनुभयो ।

उहाँले विगतमा ४०/४५ घार मौरी पाल्नुभएको थियो । मौरीले उपयोग गर्ने फलफूलमा विषादी प्रयोग गर्दा ३५ घार मौरी मरेका थिए । काठमाडौँको घरमा उहाँका पत्नी र छोराछोरी बस्दै आउनुभएको छ । कुशलले बाख्रा अनुसन्धान केन्द्र बन्दीपुरमार्फत १० दिनको तालिम लिएर बाख्राको हेरचाह र दानापानीबारे सिक्नुभयो । उहाँले सिकाइलाई सहजरुपमा अहिले उपयोग गर्नुभएको छ । उहाँले उक्त तालिममा रोग र उपचारबारे जानकारी पाउनुभयो । तालिमले काममा ऊर्जा थपिएको उहाँ बताउनुहुन्छ ।

उहाँले बाख्राका लागि राम्रो घाँसको बीउ र बिरूवा खोजी गरी एक सय ५० रोपनी जमिनमा सुपर नेपियर, सियोथ्री, मुलाटो, रायोखनियालगायतका घाँस लगाउनुभएको छ । उहाँले कृषि पेसामा छिमेकीलाई पनि घाँस रोप्न प्रोत्साहत गर्दै आउनुभएको छ ।

कुशलका अनुसार उक्त जातका घाँसमा १७ प्रतिशतसम्म प्रोटिन हुन्छ । उहाँले डाले घाँसमा किम्बु, टाँकी, निवारो, खनिउँलगायत स्थानीय प्रजातिका घाँस रोप्नुभएको छ । खसीबाख्रा बेच्न कुनै कठिनाइ नभएको उहाँ बताउनुहुन्छ । मागप्रशस्त भएकाले ग्राहक फार्ममै आउने गरेको उहाँ बताउनुहुन्छ ।

“धेरै ठाउँबाट खसीबाख्राको माग बढेपछि काम गर्न र उत्पादनमा जाँगर चल्ने रहेछ”, उहाँले भन्नुभयो । उहाँले सुरूमा पाल्पाबाट १० घार र तनहुँकै विभिन्न ठाउँबाट मौरी ल्याएर ३५ घार मौरी आधुनिक घार बनाएर मौरीपालन पनि अगाडि बढाउनुभएको छ ।

मौरीपालनको पहिलो वर्षमा मौरी र मह गरी रु तीन लाख आम्दानी लिएको उहाँ बताउनुहुन्छ । उहाँले एक वर्षमा ३५ घार मौरी बेच्नुभयो । मौरी फस्टाउँदै गएको अवस्थामा एकाएक घारमा कीरा लाग्ने र मर्ने भयो । तनहुँभरि नै यस्तो समस्या देखिएको थियो । कुशलको फार्मका मौरी मासिएका थिए । उहाँले के कारणले मरे भनेर अध्ययन गरी फेरी नयाँ १५ घार हालेर व्यवसायलाई निरन्तरता दिनुभयो ।

“मौरी चराउने समस्या छैन, गाउँघरमा तोरीखेती हुन्छ, चिउरी र मौरी चर्ने अरू फूल पाइन्छन्, जेठ–असार र कात्तिक–मङ्सिर गरी वर्षमा दुई पटक मह काढ्न सकिन्छ”, उहाँले भन्नुभयो ।

यससँगै उहाँले रैथाने प्रजातिका कुखुरापालनलाई अगाडि बढाउनुभयो । उहाँ स्थानीय बजारमा कुखुराको माग राम्रो रहेको बताउनुहुन्छ । त्यसैले कुशलले रैथानेसँगै कडकनाथ खुकुरा पाल्न थाल्नुभयो । अन्यको तुलनात्मकरूपमा कडकनाथ अलि महँगो रहेको उहाँ बताउनुहुन्छ । हाल जिउँदो प्रतिकिलो रु एक हजार मूल्य पर्दछ । “यो जातको कुखुरा करिब छ महिनामै बेच्न योग्य हुन्छ”, उहाँले भन्नुभयो ।

अहिले उहाँको गोठमा २९ गाईभैँसी छन् भने १२ भैँसी र दुई गाई छन् । दैनिक सय लिटर दूध उत्पादन हुन्छ । सबै दूध स्थानीय बजारमै खपत हुने गरेको छ । धेरैजसो मिठाइ उत्पादकले दूध लिने गरेको उहाँ बताउनुहुन्छ ।

यसपछि गाउँमा उत्पादन हुने दूध पनि किनेर डेरी उद्योग सञ्चालन गर्ने लक्ष्य रहेको उहाँ बताउनुहुन्छ । डेरी उत्पादनमा आफ्नो ब्रान्ड बनाउने सपना उहाँको छ । अब माछा पाल्ने तयारी गरेको उहाँ बताउनुहुन्छ । लगानीअनुसार आम्दानीमा सन्तुष्ट रहेको उहाँ बताउनुहुन्छ ।

“हाल मासिक करिब रु सात लाख बराबरको कारोबार हुन्छ”, उहाँले भन्नुभयो । उहाँले परिवारका सदस्यबाहेक फार्ममा चार जना तलबमा नै कर्मचारी राख्नुभएको छ । व्यवसायबाट आम्दानी लिनुका साथै कुशल ‘राष्ट्रिय युवा प्रतिभाको सम्मान–२०७८’ बाट सम्मानित हुनुभएको छ । कृषि पेसाको सम्मानले काममा ऊर्जा थपिएको उहाँको भनाइ छ ।

उहाँले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँबाट अनुदान एकपटक अनुदान लिएको र फार्मलाई विस्तारमा सहयोग पुगेको बताउनुभयो । कृषि क्षेत्रमा लाग्ने युवालाई सरकारले व्यवसायमा टिकाउन अनुदानभन्दा सीप सिकाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

उहाँका अनुसार आधुनिक प्रविधिका सामग्री चलाउन, पशुपंक्षीको सामान्य प्राविधिक ज्ञानलाई प्राथमिकता दिन सके किसान नै आत्मनिर्भर हुने हुँदा व्यवसायिक रुपमा सञ्चालित कृषि फार्मका कृषकले प्राविधिक नपुग्दै सामान्य उपचार गर्न सक्नेछन् । व्यवसायमा धेरै नोक्सानी व्यहोर्नुपर्ने अवस्था न्यूनीकरण गर्न सकिने उहाँले बताउनुभयो । नेपाल व्यवसायी बाख्रापालन महासंघ, तनहुँको उहाँ अध्यक्ष हुनुहुन्छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले पशुपालक कृषकले पशुपालनका सामान्य खालका प्राविधिक ज्ञान आफैँले सिक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सामान्य प्राविधिक ज्ञानले किसानले पालेका पशुपक्षी बिरामी हुँदा उपचारमा सहयोग पुग्छ, प्राविधिकको अभाव रहेकाले पनि तोकिएका समयमा प्राविधिक नपुग्दा पशुपक्षी मर्न सक्छन्, यस्तो अवस्थामा सहयोग पुग्नेछ ।”

जिल्लामा अहिले युवा पशुपालनतर्फ आकर्षित भएको उहाँ बताउनुहुन्छ । सामान्य खालका प्राविधिक ज्ञानको भने आवश्यकता रहेको पाइएको श्रेष्ठ बताउनुहुन्छ ।रासस