११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

कैदीबन्दीका बालबच्चा हुर्काउने राना अब उपसभामुखको जिम्मेवारीमा

कैदीबन्दीका बालबच्चा हुर्काउने राना अब उपसभामुखको जिम्मेवारीमा
अ अ+ अ-

झापा । कैदीबन्दीका बालबच्चाहरूकी ‘आमा’ इन्दिरा रानामगर जनप्रतिनिधिहरूको सर्वोच्च थलो प्रतिनिधिसभाको उपसभामुख बन्नुभएको छ ।

झापाको अर्जुनधारा–११ सालबाडी निवासी उहाँको अभिभावकत्वमा दुईवटा विद्यालय र १० वटा बाल संरक्षणगृह सञ्चालनमा छन् । जहाँ झापाबाट पाल्पासम्मका कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दीका दुई हजार असहाय छोराछोरीले आश्रय मात्र होइन, शिक्षादीक्षा पनि पाइसकेका छन् ।

जीवनका ५२ वर्षे उकाली–ओराली बिताइसक्नुभएको उहाँलाई आज प्रतिनिधिसभाको बैठकले उपसभामुख पदमा निर्वाचित ग-यो । अब उहाँ कैदीबन्दीका छोराछोरीहरूको मात्र नभएर ‘संसद्कै नेतृत्व’ गर्ने महत्वपूर्ण जिम्मेवारीमा पुग्नुभएको छ ।

बुवा स्व प्रताप रानामगर र आमा स्व मनमाया रानामगरको कान्छी सुपुत्रीका रूपमा विसं २०२७ मा झापाको अर्जुनधारामा जन्मनुभएकी उहाँले २२ वर्षअघि दुईवटा कोठा भाडामा लिएर काठमाडौँमा कैदीबन्दीका असहाय छोराछोरीलाई आफ्नै संरक्षणमा लालनपालन गर्न थाल्नुभएको थियो । उहाँलाई यसका लागि प्रसिद्ध साहित्यकार पारिजातले प्रेरणा दिनुभएको थियो ।

घर छाडेर काठमाडौँमा पढ्न जाँदा उहाँलाई पारिजातले नै संरक्षण प्रदान गर्नुभएको थियो । अर्जुनधाराको महारानीगञ्ज प्राथमिक विद्यालयको कक्षा ४ मा १२ वर्षको उमेरमा भर्ना भएर उहाँले औपचारिक शिक्षा प्रारम्भ गर्नुभएको उहाँका दाजु जगत् रानामगरले बताउनुभयो । उहाँले समाजशास्त्रमा स्नातकोत्तर तहको शिक्षा प्राप्त गरिसक्नुभएको छ । उहाँकी एउटी छोरी सुविना राना हुनुहुन्छ ।

पारिजातले सञ्चालन गरेको मानवअधिकारवादी संस्थामा उहाँले स्वयंसेवक बनेर मानवीय सेवाको थालनी गर्नुभएको थियो । पारिजातसँगै कारागार जाँदा उहाँले कैदीबन्दीका दुःख र पीडामात्र नभएर तिनका सन्तानको अलपत्र अवस्थाको समेत जानकारी पाउनुभएको थियो ।

उहाँले बन्दी सहायता नेपालमार्फत झापा, पाल्पा, काठमाडौँलगायत स्थानमा बाल संरक्षणगृह सञ्चालन गर्नुभयो । तिनीहरूलाई पढाउन दुईवटा प्राथमिक विद्यालय सञ्चालन गर्नुभएको उहाँले नै झापामा सञ्चालन गर्नुभएको जुनकिरी प्राथमिक विद्यालयका प्रधानाध्यापक रञ्जित परियारले जानकारी दिनुभयो ।

बन्दी सहायता नेपाल (पीए नेपाल)की अध्यक्ष इन्दिरा राना राजनीतिमा लागेको धेरै भएको छैन । उहाँ लगातार बालअधिकार र मानवीय सेवामा लाग्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को गठन हुँदासमेत उहाँ कुनै पार्टीमा हुनुहुन्थेन ।

रास्वपाका अध्यक्ष रवि लामिछानेले समाजसेवाबाट राजनीतिमा आउन आग्रह गर्दा उहाँ सुरुमा अलमलिनुभएको थियो । भुइँमान्छेको सेवामा लागिरहेको हुँदा राजनीतिमार्फत पनि समाजसेवा नै हुने कुरामा सहमत भएपछि उहाँ राजनीतिमा होमिनुभयो । छोटो अवधिमै रास्वपाले उहाँलाई समानुपातिक सिटबाट सांसद् निर्वाचित ग¥यो । अब उहाँको जिम्मेवारी सांसदबाट धेरै माथि उक्लिएर संसद्कै अभिभावक अर्थात् उपसभामुख तहमा पुगेको छ ।

उपसभामुख पदमा पुगेपछि दलगत राजनीतिमा सक्रिय हुने परम्परा छैन । उपसभामुख राना पनि छोटो अवधिमै राज्यको उपल्लो मध्येको पदमा पुग्न सफल हुनुभयो । उहाँ आफूलाई जहिल्यै भुइँमान्छेको रूपमा चिनाउनुहुन्छ ।

एक साताअघि झापास्थित बाल संरक्षणगृहमा सांसदको रूपमा आउँदा उहाँले आफू जुनसुकै ओहोदामा पुगे पनि कैदीबन्दीका बालबच्चाहरूको आमाका रूपमा आफ्नो भूमिका कहिल्यै नफेरिने भावुक अभिव्यक्ति दिनुभएको थियो । “हिजो भुइँमान्छे थिएँ, आज पनि उही भुइँमान्छे नै हुँ”, उहाँले भन्नुभएको थियो, “हिजो बालअधिकारका लागि सडकबाट कराउँथे, कसैले सुन्दैन थिए । अब त्यही आवाज संसद्भित्र गुञ्जाउँछु । मेरो आवाज अब सुनिनेछ भन्ने विश्वास लिएकी छु ।”

सन् २००० मा बन्दी सहायता नेपाल स्थापना गरेपछि उहाँको योगदानले चर्चा मात्र होइन, सम्मान पनि पाउन थाल्यो । सन् २००५ मा उहाँले प्रतिष्ठित ‘अशोका फेलो’ पाउनुभयो । विभिन्न दाता र शुभचिन्तकहरूले उहाँको सत्कर्मलाई साथ दिँदै आर्थिक सहयोग पनि गर्न थाले । पुरस्कार र सम्मानवापत पाएको सबै साधन स्रोत उहाँले व्यक्तिगत वा पारिवारिक स्वार्थमा कहिल्यै लगाउनु भएन । बाल संरक्षणको सञ्चालनमा सबै साधन र स्रोत खर्चिनुभयो ।

सन् २००९ मा उहाँले ‘एसिया जनसेवा’ अवार्ड पाउनुभयो । सन् २०१४ मा उहाँले नोबेल पुरस्कार विजेता पाकिस्तानकी युसुफ मलाला र अमेरिकी जोन उडसँगै प्रतिष्ठित ‘वल्र्ड चिल्ड्रेन अनररी अवार्ड’ पाउनुभयो । यी सम्मानहरूले उहाँको व्यक्तित्व अन्तर्राष्ट्रिय जगत्मा सुवासित भयो ।

सन् २०१७ मा बिबीसीले विश्वका सिर्जनशील महिलाहरूको सूचीमा नेपालकी इन्दिरा रानाको नाम समेट्यो । देशको ख्यातिलाई अन्तर्राष्ट्रिय मञ्चमा आलोकित बनाउनुहुने रानालाई उपसभामुखको पदमा पु-याउनु भनेको सदनकै गरिमा बढाउनु हो भनेर आजकै संसद्मा उहाँको नाम प्रस्ताव गर्नुहुने रास्वपाकी सांसद् सोविता गौतमले बताउनुभयो । रासस