११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

महोत्सवमार्फत संस्कृति र परम्परा संरक्षण गरिँदै

महोत्सवमार्फत संस्कृति र परम्परा संरक्षण गरिँदै
अ अ+ अ-

बेनी । बेनीबजारका १३ वर्षीय अप्रिम श्रेष्ठ हनुमान नाच नाचे । बेनीमा २२ वर्षयता नचाउन नसकिएको हनुमान नाच यस पटकको सातौँ म्याग्दी महोत्सवमा प्रदर्शन गरिएको थियो । दुई दशक बढी समयपछि प्रदर्शन गरिएको उक्त हनुमान नाचमा बालकदेखि युवासम्मले नाचेपछि यसले धेरैको ध्यान तान्न सफल भयो ।

नेवार समुदायको ऐतिहासिक सांस्कृतिक धरोहरको रुपमा चिनिने हनुमान नाच महोत्सवमा देखाउन नेपाल भाषा मंकाखलले नयाँ पुस्तालाई तालिम र प्रशिक्षण दिएको थियो । मंकाखलले महोत्सवमा देखाएको नागानागीनी नाचमा छ वर्षका आरभराज श्रेष्ठ र छ वर्षकै सालिन श्रेष्ठले नृत्य देखाएका थिए ।

अन्य संस्कृतिको प्रभाव बढ्दै जाँदा आफ्ना मौलिक संस्कृति हराएर जाने खतरा बढेपछि म्याग्दीका जातजाति आफ्नो मौलिक, कला, परम्परा, संस्कृति संरक्षणमा जागरुक बनेका छन् । कलाकारको अभाव र नयाँ पुस्तामा संस्कृति हस्तान्तरण हुन नसकेको अवस्थामा तालिम दिएर नयाँ कलाकार तयार गरी हनुमान नाच देखाइएको मंकाखलका सांस्कृतिक संयोजक सञ्जयकुमार श्रेष्ठले बताए ।

विसं २०५७ भदौमा बेनीको माई भगवती मन्दिर निर्माण गर्न आर्थिक सङ्कलनका लागि हनुमान नाच देखाइएको थियो । त्यसयता कलाकारको अभाव र नृत्य पुस्तान्तरण नहुँदा हराएर जाने अवस्थामा पुगेको नाचलाई मंकाखलले पुनर्जागरण गराएको हो । मृढंगना र झ्यालीको तालमा हनुमानको रुप धारण गरेका कलाकारले नृत्य देखाउने यस नाचमा सहभागी भएका थिए ।

अधिकतम ११ जोडीसम्मले यस नाचमा नृत्य गर्न सक्ने हनुमान नाचलाई संरक्षण गर्नका लागि नेपाल भाषा मंकाखल म्याग्दीले तालिम नै सञ्चालन गरेको छ । यस पटकको म्याग्दी महोत्सवमा क्षत्री समाजले आफ्नो परम्परागत सरुन नाच र गुरुङ समुदायले घाटु नाच देखाएका थिए । महोत्सवले आम समुदायलाई आफ्नो संस्कृति, वेशभूषा र परम्पराको संरक्षणमा जागरुक बनाएको जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवाल बताउँछन् ।

“यस पटक महोत्सवलाई व्यापार व्यवसायको प्रवद्र्धनसँगै कला संस्कृति र पर्यटन प्रवद्र्धनमा जोड दिएका छौँ, दैनिकरुपमा हरेक समुदायले आफ्नो मौलिक प्रस्तुति राखिरहनुभएको छ”, उनले भने । महोत्सव मगाउँघरको संस्कृतिलाई पनि सहरसम्म ल्याईपुर्याउने माध्यम बनेको छ । रघुगङ्गा गाउँपालिका–७ चिमखोलाबाट सुरु भएको थाली नाच महोत्सवको आकर्षण बनेको छ ।

हरेक दिनजसो नयाँ कलाकारले थाली नाचमा नृत्य प्रस्तुत गर्ने गरेको महोत्सवका सांस्कृतिक संयोजकसमेत रहेका म्याग्दी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले बताए । उनले महोत्सवमा स्थानीय कलाकारलाई प्राथमिकता दिइएको कारण पनि यस पटक महोत्सव जिल्लाभित्रका कला, संस्कृति देखाउने थलो बनेको बताए ।

धौलागिरि गाउँपालिका–७ ताकमको स्थानीय मौलिक संस्कृतिको रुपमा रहेको राधाकृष्ण नाच बेनीमा प्रदर्शन भएको थियो भने भने थकाली, मगर, छन्त्याल, परियारलगायतका जातजातिले आफ्नो संस्कृति, वेशभूषा र परम्परालाई महोत्सवमा प्रदर्शन गरेका छन् ।

महोत्सवमा नेपाली विवाहको महत्वपूर्ण पाटो मानिने रत्यौली प्रर्दशन थप अर्को आकर्षण बन्यो । ताकम र राक्सेका आमा समूहसँगै ब्राह्मण समाज र क्षेत्री समाजले मौलिकता देखिने गरी प्रस्तुत गरेको रत्यौलीले दर्शकमा विवाहकै झल्को दिएको थियो । महिला आफैँले बाजा बजाउने, जन्ती जाने, दुलहा, दुलहीसमेत बनेर विवाहको झल्को दिँदै रत्यौली गीत र नाचमा दर्शकसमेत छमछमी नाचेका थिए ।

देशभर आयोजना हुने महोत्सवमा आधुनिकताको प्रभाव बढिरहेको सन्दर्भमा म्याग्दी महोत्सवमा लोपोन्मुख र हराएर जाने अवस्थामा पुगेका संस्कृतिको पुनर्जागरण गराउनेमा जोड दिइएको म्याग्दी उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष राजेश शाक्यले बताए । उनका अनुसार, महोत्सवमा मौलिक संस्कृति जगेर्ना हुने गरी प्रतियोगिता समावेश भएका छन् । मगर, छन्त्याललगायतका जातजातिको पुख्र्यौली नाचसमेत महोत्सवमा आयोजना गरिएको छ । चार समूह सहभागी भएको पुख्र्यौली नाचमा अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाको पुख्र्यौली समूह विजयी बने ।

महोत्सवले लुकेर रहेका प्रतिभाको पहिचान र खोजी तथा मौलिक संस्कृतिको संरक्षणमा जोड दिएको प्रतियोगिताका संयोजकसमेत रहेका प्रथम उपाध्यक्ष शाक्य बताउँछन् । एकल लोकनृत्य प्रतियोगिता सम्पन्न भएको महोत्सवमा लोकदोहोरी गीत र गण्डकी लोकतारा प्रतियोगितासमेत समावेश गरिएको छ । स्थानीय कलाकारको प्रतिभा प्रस्फुटन गर्ने थलो बनेको महोत्सव कलाकारको प्रस्तुतिले सङ्गीतमय बनेको छ भने नौमती बाजादेखि कलाकारको साङ्गेतिक प्रस्तुतिले महोत्सवस्थल गुञ्जायमान बनेको छ । रासस