२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहान उठ्ने बित्तिकै नगर्नु यी काम



अ+ अ-

भनिन्छ, बिहानीको सुरुवात राम्रो हुनुपर्छ । तब दिनभरको पर्फमेन्स राम्रो हुन्छ । तर, हामी जानेर वा नजानेर यस्ता गल्ती गरिरहेका हुन्छौ, जसले हाम्रो दैनिकी खल्लो बनाइदिन्छ । त्यतीमात्र होइन, विहान गर्ने कतिपय गल्तीले शरीरलाई अस्वास्थ्य बनाउँछ । मनलाई दुषित तुल्याउँछ । ‘मर्निङ मिस्टेक्स’ले तपाईको दिनलाई मात्र प्रभावित पार्दैन, दीर्घकालिन स्वास्थ्य समस्या पनि निम्त्याउँछ । यसैले बिहानको समयलाई कसरी सदुपयोग गर्ने भन्ने बारेमा जानकारी लिइराख्नु पर्दछ । यहाँ हामीले बिहान उठ्नै बित्तिकै गर्न नहुने ७ वटा कुराहरुको सूचि बनाएका छौँ ।

१. हत्तपत्त उठेर काममा लाग्नु : दिनको आरम्भ बिस्तारै/बिस्तारै शान्तपूर्वक गर्नुपर्छ । आँखा खुलेपछि थोरै समय ओछ्यानमै आरम गर्नुपर्छ । केहिछिन पछि दाँयातर्फ फर्केर उठ्नुपर्छ । यसरी उठ्दा सुप्त अवस्थामा शिथिल रहेको उर्जा शरीरमा राम्ररी संचार हुनपुग्छ । यसले शरीरमा उर्जाको संचारलाई सन्तुलित गर्छ । आरामसाथ उठेर लामो एवं गहिरो सास लिने, मनतातो पानी पिउने । यसो गर्दा शरिर तङ्ग्रिन पाउँछ । रातभर आराममा भएको शरिरले वातावरणमा अनुकुलन हुने अवसर पाउँछ ।

२. स्ट्रेचिङ नगर्नु : सुतेको समयमा हाम्रो शरीरको मांशपेसी, खासगरी मेरुदण्डको हड्डी कठोर भएको हुन्छ, जसलाई सामन्य अवस्थामा फर्काउनका लागि शरीरलाई स्ट्रेच गर्नुपर्छ । तीनचार पटक शरीर स्ट्रेच गर्ने र बाँया फैलिएर सकारात्मक उर्जालाई स्वंम महसुष गर्ने । यसले दिनभर शरीर चुस्त र फूर्तिलो बन्छ । स्ट्रेचिङ गर्नका लागि विशेष साधनहरु केहि पनि पर्दैन । तपाई उभिएको ठाउँमा बसेर, दायाँ बायाँ हातहरु फैलाएर, उठबस गरेर नै स्ट्रेचिङ गर्न सक्नु हुन्छ ।

३. ब्रेकफास्ट नगर्नु : बिहान उठेर ब्रेकफास्ट नगर्नु भनेको मधुमेह, मोटापनलाई निमन्त्रणा गर्नु हो । यस किसिमको बानीले रोगप्रतिरोधात्मक क्षमतामा पनि ह्रास आउँछ । विहान उठेर ब्रेकफास्ट नलिदा हाम्रो शरीरमा अतिरिक्त तनाव पर्छ । रातीको खाना र बिहानको खानाबीच लामो ग्याप हुन्छ, जसले ब्लड सुगर लेभल कम हुन्छ । यदि सुतेर उठेको एक घण्टामा हामीले केहि खाएनौ भने, ब्लड सुगर लेभल अझ घट्छ । ब्रेकफास्ट हेल्दी र ताजा हुनुपर्छ । चिया, बिस्कुट जस्ता खानेकुराभन्दा भिजाएको बदाम, रोटी, फल सेवन गर्नुपर्छ ।

४. आँखा खोल्नसाथ मोबाइल चेक गर्नु : बिहान निन्द्रा खुल्नसाथ धेरै मानिसले मोबाइल खोज्छन् । आँखा माड्दै फोनमा इमेल, म्यासेज चेक गर्न थाल्छ । यसले तपाईलाई उठ्नुअघि नै तनाव पैदा गरिदिन्छ । त्यसैले उठ्नसाथ मोबाइल चेक गर्नु हुँदैन । यसले आँखामा तनाव बढाउँछ भने हाम्रो बिहानै उठेर गर्नु पर्ने कामहरुको तालिकालाई असर गर्छ । यसैले बिहान उठ्ने बित्तिकै मोबाइल चेक गर्ने बानी जति सक्दो चाँडो छोड्दा राम्रो हुन्छ ।

५. मुस्कुराउनमा कन्जुस्याँई : तपाईको मुश्कानले तपाईको स्वास्थ्यलाई निकै फाइदा गरिरहेको हुन्छ । त्यसैले बिहान उठेर मुस्कुराउने अभ्यास गर्नुपर्छ । यसले इम्युन सिस्टमलाई मजबुद बनाउँछ । मुटुको चाललाई सन्तुलित राख्छ र उच्च रक्तचाप नियन्त्रण गर्छ । यसले तपाईको अन्य व्यक्तिसँगको सम्बन्धमा पनि प्रभाव पार्छ । मुस्कुराएर कुरा गर्दा कुरा गरिरहेको मानिसलाई पक्कै पनि मन पर्छ । यसले तपाईको व्यक्तित्वलाई पनि राम्रो बनाउँछ । बिहानै मुस्कुराएर दिन सुरु गर्दा आफुमा सकारात्मक सोचको विकाश गर्न सक्छ ।

६. एक्सरसाइज नगर्नु : बिहानै उठेर एक्सरसाइज नगर्नु भनेको एकदमै गलत कुरा हो । मानिसहरुको स्वाभाव हुन्छ कि धेरैजसो मानिस बिहान उठ्नसाथ काममा लाग्छन् । त्यसअघि हल्का व्यायम गर्नैपर्छ । शारीरिक काम गर्नु र व्यायम गर्नुमा फरक छ । काम गर्दा शरीरको एक भागलाई मात्र असर परिरहेको हुन्छ । मानसिक तनाव हुन्छ । तर, प्रफुल्ला मुद्रामा गरिने व्यवस्थित व्यायमले शरीरको समग्र भागलाई लाभान्वित तुल्याउँछ । यसैले एकदमै कठिन नभएर सरल व्यायामहरु गर्दा राम्रो हुन्छ ।

७. उठ्नसाथ मलमुत्र त्याग नगर्नु : कतिपय उठेर शौचालय जान अल्छी मान्छन् वा जाने अभ्यास गर्दैनन् । तर, बिहान उठेर मनतातो पानी पिइसकेपछि मलमुत्र त्याग गर्नुपर्छ । किनभने यसो नगर्दा शरीरमा बिकार फैलन्छ । त्यसैले बिहान उठेपछि आरमपूर्वक मलमुत्र त्याग गर्नैपर्छ । यसलाई बिहान उठे पछि गर्ने पहिलो काममा राख्दा हुन्छ । प्रशस्त समय दिएर आरामसँग मलमुत्र त्याग गरे पछि दिनभरका लागि ढुक्क हुन्छ भने पाचन पनि राम्रो हुन्छ । अनि दिन त यसै पनि रामरो हुने भइहाल्यो ।