७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन

मानव–वन्यजन्तु द्वन्द्व बढ्दै

मानव–वन्यजन्तु द्वन्द्व बढ्दै
अ+ अ-

दमौली । तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा अघिल्लो मङ्गलबार साँझ चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भयो । घर नजिक रहेको गोठबाट चितुवाले आक्रमण गर्दा आठ वर्षीय अभिनव कुँवरको ज्यान गयो । उनको शव घरभन्दा दुई सय मिटर टाढा जङ्गलमा फेला परेको थियो ।

बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा गत कात्तिक ४ गते चितुवाको आक्रमणबाट ११ वर्षीय विना चेपाङको मृत्यु भयो । बिहान ६ः३० बजे घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा बालिका चितुवाको आक्रमणमा परेकी थिइन् ।

एकै महिनामा भएका यी दुई घटना प्रतिनिधिमूलक मात्र हुन् । तनहुँमा पछिल्लो केही वर्षयता चितुवाको आतङ्क बढ्दै जान थालेको छ । घरआँगनबाटै बालबालिका चितुवाको सिकार हुन थालेपछि सर्वसाधारण त्रसित छन् ।

व्यास–१२ छिर्कनेका विष्णु पाण्डे घरछेउमै आएर चितुवाले आक्रमण गर्न थालेपछि स्थानीयवासी आतङ्कित भएको बताउनुहुन्छ । पाण्डे भन्नुहुन्छ, “कतिबेला चितुवाले आक्रमण गर्ने हो भन्ने त्रास बढेसँगै साँझ पर्न थालेपछि मानिसहरुलाई घरबाहिर निस्कन डर हुन थाल्यो ।”

मङ्गलबार साँझ आठ वर्षीय बालकलाई चितुवाले आक्रमण गरेको थाहा पाउनेबित्तिकै स्थानीयवासी दौडिए पनि बालकलाई बचाउन नसकिएको उहाँले बताउनुभयो । “चितुवाले आक्रमण गरेको थाहा पाउनेबित्तिकै पछिपछि दौडिँदै गएका थियाँै, तर बालकलाई बचाउन सकिएन,” पाण्डेले भन्नुभयो ।

व्यास–१२ सँगै सीमा जोडिएको बन्दीपुर गाउँपालिकामा विगत चार महिनामा चितुवाको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । बन्दीपुरमा अझै पनि चितुवाको त्रास कायमै छ । बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठ भन्नुहुन्छ, “चितुवा नियन्त्रणका लागि चार÷पाँच ठाउँमा खोर राखेका छौँ, तर पनि चितुवा नियन्त्रणमा आउन सकेको छैन ।” बन्दीपुरमा चितुवाको त्रासले बिहान झिसमिसे उज्यालो र साँझ परेपछि सर्वसाधारणलाई बाहिर ननिस्कन सचेतना जगाउँदै आएको श्रेष्ठले बताउनुभयो ।

विगत चार महिनाको अवधिमा चितुवाको आक्रमणबाट बन्दीपुर–१ का पाँच वर्षीय बालक सुप्रिम बगाले मगरको मृत्यु भएको थियो । बन्दीपुर गाउँपालिका–४ की आठ वर्षीया रियाना थापा र बन्दीपुर गाउँपालिका–१ बाघदलेका ३५ वर्षीय भीमलाल गरञ्जा चितुवाको आक्रमणबाट घाइते भएका थिए ।

तनहुँमा पछिल्लो समय मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्ले बताउनुहुन्छ । “यहाँ चितुवा र मानवबीच द्वन्द्व बढिरहेको छ, चितुवाको आक्रमणबाट बालबालिका सिकार भइरहेका छन्,” काफ्लेले भन्नुभयो, “चितुवाबाट बच्ने प्रमुख उपाय भनेको सतर्कता हो ।”

चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न काफ्लेले आग्रह गर्नुभयो । “चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाऔं, झाडी सफा गरौँ, एक्लै नहिँडाँै,” काफ्लेले भन्नुभयो, “बच्चा तथा वृद्धहरुको विशेष ख्याल र रेखदेख गरौँ ।” सञ्चारमाध्यमले पनि चितुवाको आक्रमणबाट बच्न सर्वसाधारणलाई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न उहाँले आग्रह गर्नुभयो ।

मृग, वन कुखुरालगायत वन्यजन्तु मानिसले सिकार गरिदिँदा वनमा सिकारको अभाव भई चितुवाले मानिसको सिकार गर्न थालेको बताइन्छ । जङ्गल फँडानी गरेर बस्ती बसाल्ने, जङ्गली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको छ । “तनहुँमा विशेषगरी चितुवाको समस्या रहेकाले चितुवाको स्वभाव, यसले आक्रमण गर्न सक्ने समय लगायतका विषयमा उपभोक्तालाई बेला–बेलामा जानकारी गराउँदै आएपनि चितुवा आक्रमण न्यूनीकरण हुन सकिरहेको छैन,” डिभिजन वन प्रमुख काफ्लेले भन्नुभयो, “चितुवा सक्रिय हुने समय र आनीबानी बुझ्न सकिए यसबाट बच्न सकिन्छ ।”

जङ्गलमा पानीको अभावका कारण पनि पानी खोज्दै चितुवा बस्ती छेउछाउ आउने गरेको छ । “वन जङ्गलमा भएका पानीका स्रोत मासिँदै गएको छ, पानी खोज्दै बस्तीमा आउने चितुवाले घर नजिकै बालबालिका देखेपछि बच्चामाथि आक्रमण गर्न सक्छ,” उहाँ भन्नुहुन्छ, “त्यसका लागि जङ्गलमा पोखरी बनाएर पानीको स्रोत संरक्षण गर्न सकियो भने चितुवाबाट बच्न सकिन्छ ।”

काफ्लेका अनुसार जङ्गलमा पानीको व्यवस्थापन, घरवरपर झाडी व्यवस्थापन र जङ्गलमा घाँसे मैदान संरक्षण गर्न सकिए चितुवाले मानिसमाथि आक्रमण गर्ने स्थिति न्यूनीकरण हुँदै जानेछ । सानो बच्चा साथमा भएको अवस्थामा, बुढो वा घाइते भई शिकार खेल्न अशक्त भएको अवस्थामा, शिकार खाइरहेको वा बच्चालाई खुवाइरहेको अवस्थामा, अचानक जम्काभेट भएमा र भाग्ने ठाउँ वा मौका नपाएमा चितुवाले मानिसमाथि आक्रमण गर्ने गरेको बताइन्छ ।

कार्यालयले चितुवा आक्रमणबाट बचाउन विभिन्न ठाउँमा चेतनामूलक कार्यक्रम पनि गरेको थियो । तर पनि चितुवाको आक्रमण रोकिन सकेको छैन । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रममा जोड दिँदै आएको वन कार्यालयले जनाएको छ ।

चौध बालबालिकाले ज्यान गुमाए

चितुवाको आक्रमणबाट पछिल्लो पाँच वर्षको अवधिमा १४ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन् ।

चितुवाको आक्रमणबाट २०७४ फागुन १ गते भानु नगरपालिका–३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठ, २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका चार वर्षीया रन्जिता लम्साल, मङ्सिर १५ गते भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङ, २०७६ जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी नौ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु नगरपालिका–१ जामुनेगैह्राका चार वर्षीय आशिष बानियाँ र भानु नगरपालिका–२ फुस्रेटारमा सात वर्षीय ऋतिक रोकाको मृत्यु भएको थियो ।

त्यस्तै २०७६ पुस १४ गते शुक्लागण्डकी नगरपालिका–३ रातमाटाका २२ महिनाका बालक रविन नेपाली, पुस २० गते आँबुखैरेनी गाउँपालिका–१ रानागाउँका ८ वर्षीय पुजन सिंजाली, माघ १३ गते बन्दीपुर गाउँपालिका–४ लोहीपाखाका दश वर्षीय इशक सुनार, विसं २०७७ साउन २२ गते शुक्लागण्डकी नगरपालिका–२ का डेढ वर्षीय नारायण रानाको चितुवाको आक्रमण मृत्यु भएको थियो ।

यसैगरी २०७९ जेठ ३१ गते बन्दीपुर गाउँपालिका–१ बोडीस्वाँराका पाँच वर्षीय सुप्रिम बगाले, कात्तिक ४ गते बन्दीपुर गाउँपालिका–३ का ११ वर्षीया विना चेपाङ, कात्तिक १५ गते व्यास नगरपालिका–१२ का आठ वर्षीय अभिनव कुँवरको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो ।

एक सामुदायिक वन ः एक पोखरी निर्माण

डिभिजन वन कार्यालय तनहुँको अनुदान सहयोगमा जिल्लाका १७ सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । वनजङ्गमा हुने वन्यजन्तुका लागि लक्षित गरी कार्यालयको अनुदान सहयोगमा गत आर्थिक वर्षमा विभिन्न १७ सामुदायिक वनमा पोखरी निर्माण गरिएको हो ।

भानु नगरपालिकामा १२, देवघाट, ऋषिङ र बन्दिपुरमा एक÷एक, म्याग्दे गाउँपालिकामा दुई÷दुईवटा पोखरी निर्माण गरिएको सहायक वन अधिकृत काशिराज पण्डित बताउनुहुन्छ । वनमा पानीको स्रोत मासिँदै गएपछि घरछेउ पानी खोज्दै आउने वन्यजन्तुले मानिसलाई आक्रमण गर्न थालेपछि वन कार्यालयले पोखरी संरक्षण अभियान थालेको हो ।

नरभक्षी चितुवा मार्न प्रशासनको आदेश

पछिल्लो समय तनहुँका विभिन्न ठाउँमा आतङ्क मच्चाएको नरभक्षी चितुवा मार्न जिल्ला प्रशासन कार्यालय तनहुँले अनुमति दिएको छ । व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाको बुधबारको पत्र तथा स्थानीय व्यक्तिहरुको निवेदन समेतका आधारमा प्रशासन कार्यालयले नरभक्षी चितुवा मार्न अनुमति दिएको हो ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ९ ९४० बमोजिम नरभक्षी चितुवा मार्न अनुमति दिने निर्णय भएको जानकारी दिनुभयो । लामो समयसम्मको प्रयासबाट समेत चितुवालाई नियन्त्रणमा लिन नसकिएको र मानिस तथा घरेलु चौपायामाथि निरन्तर आक्रमण भइरहने स्थिति भएकाले चितुवा मार्न अनुमति दिने निर्णय भएको अर्यालले बताउनुभयो । “त्रासदीपूर्ण वातावरणको अन्त्य गरी स्थानीयवासीलाई जीउज्यानको सुरक्षाको अनुभूति दिलाउन हिंस्रक नरभक्षी चितुवा मारी मृत चितुवा डिभिजन वन कार्यालय तनहुँमा बुझाउन अनुमति दिने निर्णय भएको छ,” अर्यालले भन्नुभयो ।

चितुवाको आक्रमणबाट मङ्गलबार साँझ व्यास नगरपालिका–१२ छिर्कनेमा आठ वर्षीय अभिनव कुँवरको मृत्यु भएको थियो । साथै बन्दीपुर गाउँपालिका–१, ३, ४ र ५ तथा व्यास नगरपालिका–११ र १२ मा गरी चितुवाको आक्रमणबाट पाँचजना बालबालिकाको मृत्यु तथा आठजना घाइते भएका छन् । रासस