८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

वनमाराले ढाकेका जमिनमा चिया बगान

वनमाराले ढाकेका जमिनमा चिया बगान
अ+ अ-

ढोरपाटन । पाँच वर्ष पहिले काठेखोला गाउँपालिका–७ रेशमा बसाइँसराइका कारण पाखोबारी र खेतयोग्य जमिन बनमाराले ढाकेका थियो । तर, अहिले ती पाखाबारी चिया बगानमा परिणत भएका छन् । चिया खेतीले बनमाराले ढाकेका पाखोबारी ढाकिपछि किसानसमेत निकै उत्साहित भएका छन् । स्थानीयवासीले चार वर्ष अगाडि परीक्षणका लागि ताराखोलाको सिरुबारीबाट केहि बिरुवा ल्याएर लगाएका थिए । चियाको बिरुवा हुर्किदै गयो र परीक्षणसमेत सफल भएपछि किसान हर्षित भएका छन् ।

चियाको बोट राम्रो हुँदै गएपछि स्थानीयवासीले खाली भएका व्यक्तिगत तथा सार्वजनिक जग्गामा यसको खेती विस्तार गर्न थालेका छन् । मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँको रुपमा गाउँ छनोट भएपछि रेशको साना किसान सहकारी संस्थाले बौर र तिङरिङको ७२ रोपनी खाली जग्गामा चिया खेती विस्तार गरेको संस्थाका अध्यक्ष यामबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँले सुरुमा परीक्षणका थोरै क्षेत्रफलमा करिब १५ हजार बिरुवा लगाएकोभन्दै परीक्षण सफल भएपछि खेती विस्तार गरेको बताउनुभयो । हाल तिङरिङ र बौर गरी तीन स्थानमा ५६ हजार बिरुवा लगाए उहाँले जानकारी दिनुभयो । आफूहरुले गाउँलाई चिया बारीको गाउँ बनाउने उद्देश्यले अहिले तीन लाख बिरुवा नर्सरीमा उत्पादन गरिरहेको बताउनुभयो ।

कार्कीले हालसम्म करिब रु ४२ लाख खर्च भएको बताउनुभयो । मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ परियोजना र स्थानीयवासीको जनश्रमदानबाट चियाखेती विस्तार भएको उहाँको भनाइ छ । कार्कीले यो ठाउँ चियाखेतीका लागि निकै उपयुक्त रहेको र अब रहेक नागरिकलाई यस तर्फ लाग्न प्रेरित गर्ने बताउनुभयो । चार वर्ष अगाडि लगाएको बिरुवाले उत्पादन दिने समय आएको उहाँको भनाइ छ ।

“सुरुमा लगाएको बिरुवाले उत्पादन दिने समय आएको छ, अब वैशाख जेठ महिनातिर यसलाई टिप्ने छौँ”, उहाँले भन्नुभयो,“सुरुआती चरणमा छौँ, यसलाई हामीलाई थप हौसला बढाएको छ, गाउँका उत्पादन हुन लागेका तीन लाख बिरुवा गाउँभरी लगाउँछौँ ।”

स्थानीय भीमबहादुर थापाले सुरुमा बिरुवा हुर्काउन समस्या भए पनि अहिले सहज बन्दै गएको बताउनुभयो । उहाँले हावापानी राम्रो भएको हुँदा अहिले बिरुवा सप्रिँदै गएको भन्दै एक÷डेढवर्षमै आफूहरुले प्रतिफल प्राप्त गर्न सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सुरुमा बिरुवा हुर्काउन समस्या भयो, अहिले राम्रो हुँदै गएको छ, यहाँको हावापानीमा चिया खेती राम्रो हुने रहेछ, अब जताततै बिस्तार गर्ने योजना छ ।” थापाले चिया प्रशोधनका लागि मेसिनसमेत गाउँमा ल्याइएको बताउनुभयो । उहाँले खुल्ला पाखोबारीमा चियाका बिरुवा पशुचौपायाबाट जोगाउन गाह्रो भएको बताउनुभयो ।

सुरुमा धेरैले चासो नदिएपछि अहिले गाउँका किसान चिया खेती तर्फ चासो देखाउन थालेको उहाँ बताउनुहुन्छ । समुद्री सतहबाट एक हजार आठ सय मिटरदेखि दुई हजार तीन सय मिटरसम्मको उचाइमा चिया खेती राम्रो हुने हुन्छ । यहाँ खेती गरिएको क्षेत्र भन्ने दुई हजार एक सय मिटरको उचाइमा छन् । काठेखोला गाउँपालिका–७ का अध्यक्ष प्रेम लामिछानेले बसाइँसराइ रोक्न र रोजगार सिर्जनाका लागि यहाँ चिया खेती सुरु गरिएको बताउनुभयो । अध्यक्ष लामिछानेले गाउँको पाखोबारीको उपयोग गरी आयआर्जनका माध्यम बनाइ गाउँलाई आत्मनिर्भर बनाउने बताउनुभयो ।

अध्यक्ष लामिछानेले चार वर्ष अगाडि परीक्षणका लागि रोपेका बिरुवाले उत्पादन दिन थालेको भन्दै बजारका लागि विभिन्न ठाउँ र व्यक्तिसँग छलफल भइरहेको बताउनुभयो । “परीक्षणका रुपमा लगाएको बिरुवा निकै राम्रो भयो, यसले किसानलाई थप ऊर्जा मिलेको छ, अब उत्पादन हुने समय भएको हुँदा बजारका लागि पनि हामीले छलफल गरेका छौँ, अबको पाँच वर्षमा यहाँबाट जिल्लामै धेरै चिया उत्पादन गर्न सक्छौँ भन्ने लागेको छ”, उहाँले भन्नुभयो ।