३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा

चक्रिय धवलागिरि पदमार्गः सम्भावना अथाह, पूर्वाधार अभाव

चक्रिय धवलागिरि पदमार्गः सम्भावना अथाह, पूर्वाधार अभाव
अ+ अ-

बेनी । पथप्रदर्शक छिरी राईले सात वर्षपछि धवलागिरि चक्रिय पदमार्गमा पर्यटकलाई लिएर आफैँ पुगे । काठमाडौँमा आसाकी टेक्स एण्ड एक्सपीटिसनका सञ्चालकसमेत रहेका राईले दर्जनौँपटक धवलागिरि चक्रिय पदमार्गमा पर्यटक लिएर आए । पछिल्लोपटक भने सात वर्षपछि मात्रै असोज अन्तिम सातादेखि कात्तिक पहिलो सातासम्म धवलागिरि आधार शिविर पुग्ने पदमार्गमा पर्यटकलाई लिएर भ्रमण गराएका हुन् ।

धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ (आठ हजार एक सय ६७ मिटर) अग्लो धवलागिरि हिमालको आधार शिविर हुँदै मुस्ताङको लेते निस्कने चक्रिय धवलागिरि पदमार्ग साहसिक पदयात्राका लागि प्रख्यात मानिन्छ । धवलागिरि आधार शिविर क्षेत्रको भ्रमण र धवलागिरि आरोहणका लागि समेत पर्यटक यस पदमार्ग हुँदै ओहोरदोहोर गर्छन् । धवलागिरि पदमार्ग प्राकृतिकरूपमा मनोरम रहे पनि पर्यटन विकासको अवस्थामा भने सुधार र परिवर्तन नभएको पाइएको राईले बताए ।

“धेरै हिमालमा पर्यटक लिएर पुगेको छु, धवलागिरि पदमार्गको जस्तो सुन्दरता कमै भेटिन्छ, तर यहाँको पर्यटन पूर्वाधारको विकास भने अन्य क्षेत्रको तुलनामा निकै कम छ”, राईले भने ।

हङ्कङमा रहेका म्याग्देलीहरूको सामूहिक धवलागिरि पदमार्ग भ्रमणको नेतृत्व गर्नुभएका राईले विदेशी पर्यटकले साहसिक यात्राका रूपमा लिने यस क्षेत्रमा पदमार्ग, सञ्चार, होटललगायतका पूर्वाधार र सुविधाको पहुँच बढाउन सकेमा आन्तरिक पर्यटकसमेत ठूलो सङ्ख्यामा भित्र्याउन सकिने बताए । “धवलागिरि पदमार्ग पुरानो पदमार्ग हो, सुरु–सुरुमा भिर, पहाडमा जोखिम मोलेरै हिँड्नुपर्ने थियो, पछि सामान्य गोरेटो खनेपछि केही सहज भएको हो, तर पूर्णरूपमा पदमार्ग निर्माणकार्यले अझै मूर्तरुप लिएको छैन, ठाउँ–ठाउँमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता यथावत छ”, उनले थपे ।

म्याग्दी सदरमुकाम बेनीबाट मुदीगाउँसम्म सडकको ट्र्याक निर्माण भएकाले त्यहाँसम्म सवारीसाधनमा पुगेपछि एक दिनको यात्रामा बगरगाउँ पुग्न सकिन्छ । बगरबाट–दोभान, दोभानबाट सल्लाघारी–इटाली आधार शिविर हुँदै धवलागिरि आधार शिविर पुग्न करिब चार दिनको पैदलयात्रा गर्नुपर्छ । पछिल्ला वर्षहरूमा पदमार्गका लागि गाउँपालिका, पर्यटन मन्त्रालय र प्रदेश सरकारमार्फत समेत बजेट विनियोजन हुन थाले पनि पर्याप्त नहुँदा पदमार्ग निर्माणले तीव्रता पाएको छैन ।

अग्ला डाँडाकाँडा, पहाड, घना जङ्गल, झरना, खोलानाला र हिमालको मनोरम दृश्य लोभलाग्दो रहे पनि पर्यटन विकासका आधारभूत पूर्वाधार नहुँदा यात्रा कष्टकर र जोखिमपूर्ण हुने गरेको पहिलोपटक आधार शिविर पुगेका कर्णबहादुर पुनले बताए ।

“हाम्रो २३ जनाको टोली आधार शिविरसम्मको यात्रामा सफल भयौँ, चक्रिय पदमार्गकै यात्रा गर्ने लक्ष्य रहे पनि प्रतिकूल मौसम र उपयुक्त पूर्वाधार नहुँदा हिमालको आधार शिविरबाट फर्किनुपर्यो, यस पदमार्गमा जाने जो–कोहीलाई यहाँको सुन्दरताले लोभ्याउँछ, तर पर्याप्त पर्यटन पूर्वाधार र सुविधा नहुँदा फेरि भ्रमणमा जाने आँट हराउँछ”, पुनले भने ।

धवलागिरि पदमार्गले समेटिएका बस्तीमा पर्यटन संस्कृतिको समेत अभाव रहेको उल्लेख गर्दै पुनले स्थानीयवासीमा पर्यटन संस्कारको विकास गर्ने, पर्यटन पूर्वाधार निर्माण गर्ने र पदमार्गलाई व्यापक प्रचार–प्रसार गर्ने कार्यमा स्थानीय सरकारले ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

यस पदमार्गअन्तर्गत बगरगाउँमा घरबास (होमस्टे) रहे पनि त्यो प्रभावकारी र व्यवस्थित बन्न सकेको छैन भने दोभान, सल्लाघारी र इटाली बेसक्याम्पमा रहेका होटलको क्षमता पर्याप्त छैनन् । खानामा अग्र्यानिक र आतिथ्यतामा मौलिकतालाई जोड्दै स्थानीय कला र संस्कृतिलाई समेत यस क्षेत्रको पर्यटन विकासको अर्को आधार बनाउनुपर्ने अर्का पर्यटक इन्द्र एलजी थापामगरले बताए ।

“पदमार्ग हुँदै देखिने प्राकृतिक दृश्य र आधार शिविर पुगिसकेपछि देखिने अनौठो र विचित्रको दृश्यले एकपटक पुग्नैपर्ने ठाउँ रहेको कुरा महसुस भयो, तर यसलाई व्यापकता र विस्तार गर्न भने पूर्वाधार र सुविधाको पहुँच विस्तार गर्नैपर्छ”, उनले भने ।

यस पदमार्गको अधिकांश क्षेत्रमा सञ्चारको पहुँच नपुगेको कारण पर्यटक सञ्चार सम्पर्कको अभावले स्वास्थ्य समस्या र आपत्कालीन समयमा तत्काल उद्धार पाउनबाट बञ्चित हुनुपर्ने बाध्यता छ भने इटाली आधार शिविरदेखि माथिको पदमार्ग स्थायी नहुँदा हरेक वर्ष बाटो फेरिररहने समस्या छ । इटाली आधार शिविरबाट अघि बढेपछि म्याग्दी नदीको खोँचमा झोलुङ्गे पुलको अभाव छ । पुल नहुँदा हिउँ जमेर बनेको ग्लेसियरमाथि नै जोखिमपूर्ण तवरले आवतजावत गर्नुपर्ने बाध्यता छ ।

समुद्र सतहदेखि चार हजार सात सय ६० मिटर उचाइको आधार शिविर हुँदै मुस्ताङको लेते निस्कने चक्रिय धवलागिरि पदमार्ग साहसिक पदयात्राका लागि प्रख्यात रहे पनि पर्यटन पूर्वाधार तयार भएमा समुद्र सतहदेखि तीन हजार छ सय ६० मिटर उचाइको इटाली आधार शिविरसम्मको पदयात्रामा आन्तरिक पर्यटकको आगमन बढाउन सकिने सम्भावना रहेको स्थानीय होटल व्यवसायी हरिप्रसाद तिलिजा बताउँछन् ।