१९ आश्विन २०८१, शनिबार
,
Latest
‘सिन्धुपाल्चोकका विपद् प्रभावित अन्य पालिकालाई पनि सङ्कटग्रस्त सूचीमा समावेश गरौँ’ नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय अध्यक्ष ढकाललाई पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मान एभरेस्ट वुमन्स भलिबल लिगको उपाधि कर्णालीलाई ‘दसैँ आइसक्यो, न बस्ने, न त खानाको जोहो भएको छ’ भैरव पुरस्कार हास्य व्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुल्यो लिभरपुल विजयी गृह मन्त्रालय र अनशन बसेका दीपक सिलवालबीच पाँचबुँदे सहमति, अनशन तोडियो हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटकको रोजाइमा मेघौलीका थारु ‘होमस्टे’



अ+ अ-

भरतपुर । थारु घरबास ‘होमस्टे’ चितवनको गोलाघाट घुम्न आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ । राप्ती र नारायणी नदीको सङ्गम भरतपुर–२८ स्थित गोलाघाटमा आउने पर्यटकले परम्परागत संस्कृति, रहनसहन र मौलिक खानाका परिकारका कारण होमस्टेलाई पहिलो रोजाइ बनाउने गरेका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएकाले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले प्राकृतिक र मनमोहक सौन्दर्यको भरपुर आनन्द उठाउन सक्छन् । भरतपुर–२७ मा रहेको थारु होमस्टेममा पर्यटकले सस्तोमा पारिवारिक वातावरणमा बस्न र विशेष प्रकारको घरकै खाना खान पाउँछन् । यहाँ आउने पर्यटक बस्नका लागि आठ वटा होमस्टे सञ्चालन गरिएको छ । तीहोमस्टेको क्षमता ६० जनासम्म अटाउनसक्ने छ ।

पश्चिम चितवनको आकर्षक पर्यटकीय गन्तव्यस्थल गोलाघाटमा अहिले पर्यटकको चहलपहल कम छ तर होमस्टेमा फाट्टफुट्ट पर्यटक आइरहेका छन् । होमस्टे सञ्चालक देवी महतो भन्नुहुन्छ, “तीज र जितियामा खासै पर्यटक आएनन् । दसैँ लागेपछि पर्यटक आउन थालेका छन् । होमस्टे सञ्चालक सेमी महतो शुक्रबार र शनिबार यहाँ आउने पर्यटकको सङ्ख्या सन्तोषजनक रहेको बताउनुहुन्छ । यी दुई दिन धेरै पर्यटक बस्ने गरी आउने उहाँको भनाइ छ ।

मेघौली थारु होमस्टेका अध्यक्ष सोमबहादुर महतो पर्यटकका लागि यहाँको गन्तव्य चाडपर्व केन्द्रित हुने जानकारी दिनुहुन्छ । यस वर्ष पनि चाडपर्वमा हामेस्टेमा आउनेको सङ्ख्या बढ्ने अपेक्षा गरिएको उहाँको भनाइ छ ।

मेघौली पर्यटन विकास समितिका अध्यक्ष हरिश्चन्द्र महतो वर्षाका कारण केही पर्यटकीय गतिविधिमा रोक लागाइएकाले पर्यटक आगमनमा असर परेको बताउनहुन्छ । “अहिले पनि पानी परिरहेको छ । राष्ट्रिय निकुञ्जले डुङ्गा चलाउन दिएको छैन । जीप सफारी, हात्ती सफारीमा पनि रोक लगाइएको छ । जुन कुरा हेर्न र अनुभव गर्न पर्यटन यहाँ आउँछन् त्यो नै नभएपछि सङ्ख्या घट्ने नै भयो”, उहाँ भन्नुहुन्छ ।

अध्यक्ष महतो चाडपर्वसँगै पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा गर्नुहुन्छ । गोलाघाटमा विशेष गरेर वन्यजन्तु हेर्नका लागि पर्यटक आउने गर्छन् । निकुञ्जको जङ्ल र दुई नदीको सङ्म भएको अत्यन्त सुन्दर र रमणीय गोलाघाटमा नारायणी नदी र राप्तीखोला मिसिएर अगाडि बढ्छ । यहाँ सूर्यास्तको दृश्य नियाल्न स्थानीय तथा बाह्य पर्यटक आउने गर्दछन् । फराकिलो भएर बगेको नदी र परपरसम्म कुनै मानवीय बस्ती एवं भौतिक संरचना नभएका कारण यहाँबाट सूर्यास्त देखिन्छ । पश्चिम चितवनको अन्तिम बिन्दु रहेको हुनाले गोलाघाटभन्दा तल कुनै बस्ती छैन । सूर्यास्तसँगै बाघ, एकसिङ्गे गैँडा, मृग, चित्तल, गोही यहाँको आकर्षणको केन्द्रबिन्दु हुन् । एकान्तमा रमाउन चाहने पर्यटक पश्चिम चितवनमा केन्द्रित हुने गरेको यहाँका व्यवसायी बताउँछन् ।

मेघौलीमा थारू जातिको पुराना संस्कृतिलाई जोगाउने भन्दै सङ्ग्रहालय पनि बनाइएको छ । कुमाल सङ्ग्रहालय, कल्चर हाउस, पर्यटन सूचना केन्द्र, राइनो पार्कलगायत पर्यटकीय संरचना यस क्षेत्रमा बन्दै गरेका छन् । गोलाघाट स्थानीय संस्कृतिको पनि धनी क्षेत्र हो । यहाँ कुमाल, थारू, तामाङ समुदायको बहुल्यता छ । अहिले कुमाल र थारू समुदायका सांस्कृतिक टोलीले रातको समयमा आफ्नो समुदायको नृत्य तथा गीत प्रस्तुत गरी पर्यटकलाई मनोरञ्जन दिने गर्छन् । यहाँको स्थानीय परिकार चिचर, लोकल हास, कुखुरा, घुँगीले पनि पर्यटकलाई आकर्षण गरिरहेको छ । यस क्षेत्रमा सानाठूला गरेर २५ वटा होटल तथा रिसोर्ट सञ्चालनमा रहेका छन् । यहाँ स्तरीय होटलसँगै होमस्टेलाई पनि स्तरीकरण गरिएको छ । यहाँ कुमाल होमस्टे पनि सञ्चालनका क्रममा रहेको स्थानीय रामसिंह कुमाल बताउनुहुन्छ । रासस