५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

चौध दिन हिँडेर भेडा बेच्न बागलुङ बजार

चौध दिन हिँडेर भेडा बेच्न बागलुङ बजार
अ+ अ-

ढोरपाटन । अगाडि–अगाडि काला सेता रङका भेडाहरू । हातमा लौरो, शिरमा टालेको टोपी र शरीरमा केही पसिनाले भिजेका कपडा लगाएका दुई जना बागलुङ बजारको उपल्लाचौरमा भेटिए । उनीहरू थिए रोल्पाको सुनछहारी गाउँपालिका–३ का नन्दबहादुर बुढामगर र तीर्थबहादुर बुढामगर । दुवै जना काका भजित हुन् ।

चौध दिन अगाडि तिलाचन क्षेत्रबाट चार सय भेडा लिएर आएका उनीहरू मङ्गलबार दिउँसो बागलुङ बजार आइपुगेका छन् । दशैँका लागि खर्च जुटाउन भेडा बेच्न हिँडेका उनीहरू बागलुङको निसीखोला हुँदै मध्यपहाडी लोकमार्गमार्फत बागलुङ बजार आइपुगेका हुन् । बागलुङ बजारसम्म आइपुग्दा उनीहरूसँग ६० भेडा बाँकी थिए । साठी भेडा १५ गतेभित्र बेची सकेर गाउँ फर्कने विचारमा छन् दुवै जना ।

करिब डेढ सय किलोमिटर पश्चिमबाट हिँड्दै आएका उनीहरू दशैँका लागि सामान किनमेल गरेर जाने सुरमा छन् । नन्दबहादुर भन्नुहुन्छ, “आज १४ दिन भएछ भेडीगोठबाट हिँडेको, धेरैजसो भेडा विक्री भइसके । अब केही मात्र बाँकी छन्, यी सबै बेचेर दशैँका लागि खर्चपर्च लिएर जाने हो, अब तीन–चार दिनमा सबै बेचीसक्नुपर्छ ।”

नन्दबहादुरले एक हजार दुई सय भेडापालन गरेकामा अब गोठमा आठ सय भेडा बाँकी रहेको बताउनुभयो । ती भेडालाई गोठालो खोजेर हेरचार गर्न छाडेर आफूहरू बजार झरेको उहाँको भनाइ छ । उहाँले अर्को सालसम्म गोठमा भएका सबै बेचेर नयाँ पाठापाठी हुर्की सक्ने बताउनुहुन्छ । “मैले एक हजार दुई सय भेडा पालेको थिएँ, चार सय बेच्न लिएर आएको अब गोठमा अझै आठ सय छन्, गाउँको एक जनालाई गोठालो लगाएर हामी यता आएको हो, अर्को सालसम्म त गोठमा भएका पनि सकिएर नयाँ पाठा हुर्की सक्छन्, भेडापालन गर्न निकै दुःख छ, बजारतिर आउँदा कमाइ पनि राम्रै हुन्छ”, नन्दबहादुरले भन्नुभयो ।

नन्दबहादुरले सडक राम्रो भएको हुँदा भेडालाई सहजरूपमा बागलुङ बजारसम्म ल्याउन सकेको बताउनुभयो । यसपालि बाटोमा भेडा खासै बिरामी नभएको उहाँको भनाइ छ । बाटोमा पानी पर्दा आफूहरूले केही समस्या भने भोग्नुपरेको उहाँले सुनाउनुभयो । “यस वर्ष त बाटोमा भेडा बिरामी पनि भएनन्, मरेनन् पनि, अघिल्लोपटक आउँदा तीन भेडा गर्मीले बाटामै मरेका थिए, केही बिरामी भए, अहिले बाटो राम्रो बनेको रहेछ, अलिकति पानीले समस्या बनायो । सजिलैसँग आइयो बागलुङ बजार”, उहाँले भन्नुभयो ।

नन्दबहादुरका भतिज तीर्थबहादुरले यस वर्ष भेडाको मूल्य बढेको बताउनुभयो । आफूहरूले ल्याएको बथानमा न्यूनतम रु २० हजारदेखि अधिकतम रु ३५ हजारसम्मका भेडा रहेको उहाँको भनाइ छ । तीर्थबहादुरले हालसम्म तीन सय ४० भेडा बेच्दा सोचेअनुसारको आम्दानी गर्न सकेको बताउनुभयो । आफूहरूले ल्याएका भेडा उच्च लेकमा हुर्किएको हुँदा निरोगी रहेको तीर्थबहादुरको भनाइ छ ।

“अघिल्लो वर्षभन्दा यस वर्ष भेडाको मूल्य केही बढेको छ, हाम्रा भेडा निरोगी छन्, मासु खानका लागि निकै उपयुक्त छन्, अरु सामानको मूल्य बढेको हुँदा भेडाका मूल्य बढेको हो, हामीले यही भेडा बेचेर जीविका चलाउने हो”, तीर्थबहादुरले भन्नुभयो, “ग्राहकले खासै गुनासो गरेका छैनन्, व्यापार राम्रै भइराखेको छ ।”

तीर्थबहादुरले लेकबाट यहाँसम्म आउँदा निकै दुःख पाएको सुनाउँदै आफूहरूले ग्राहकलाई खुसी पारेको बताउनुभयो । दशैँको खर्च व्यवस्थापनका लागि आफूहरू भेडा बेच्न यति टाढा आएको उहाँको भनाइ छ । तीर्थबहादुर भेडा बेचिसकेर दशैँ मनाउन गाउँ जाने बताउनुहुन्छ ।

“भेडा त अरु बेला पनि बेच्न बजारतिर झर्ने गर्छौँ, यो बेला चाडपर्व पनि आयो, यसो परिवारलाई मीठो–मसिनो खुवाउनुप¥यो, एक सरो राम्रो कपडा किनिदिनुप¥यो”, उहाँले भन्नुभयो, “अरु खानेकुरा त अहिले गाउँतिरै पनि पसल खुलेका छन्, उतै किन्नुपर्ला, कपडा यही अलि सस्तोमा पाइएला यतैबाट लगेर जानु पर्ला ।”

बागलुङमा हरके वर्ष मुस्ताङ र म्याग्दीबाट च्याङ्ग्रा ल्याउने गरिएको छ । मुस्ताङबाट ल्याइने च्याङ्ग्राको तुलनामा बागलुङ, रोल्पा र रुकुम सिमानादेखि ल्याएका भेडाको मूल्य केही कम भएको पाइएको छ । बागलुङ बजारका ग्राहक कुलबहादुर थापाले मुस्ताङदेखि ल्याइएका च्याङ्ग्राको तुलनामा रोल्पाबाट ल्याइएका भेडाको मूल्य कम भएको बताउनुभयो । उहाँले भेडा व्यापारीले मनपरी मूल्य तोक्दा आम उपभोक्ता मर्कामा पर्ने गरेको गुनासो गर्नुभयो ।

थापाले बजारमा आउने भेडा च्याङ्ग्राको मूल्यका बारेमा सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने भए पनि यसप्रति खासै चासो नदेखाएको गुनासो गर्नुभयो । “मुस्ताङबाट ल्याइएका च्याङ्ग्राभन्दा रोल्पातिरबाट ल्याइएको भेडाको मूल्य धेरै कम भएको पाइयो, रोल्पातिरबाट भेडापालक आफैँले बेच्न आएका छन्, मुस्ताङका च्याङ्ग्रा कहाँ–कहाँबाट व्यापारी पुगेर खरिद गरेर ल्याएका छन्, उनीहरूले मनपरी मूल्य तोक्ने गरेका छन्”, उहाँले भन्नुभयो । रासस