३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा

म्याग्दीको खयर भारानी धार्मिक पर्यटकको केन्द्र बन्दै

म्याग्दीको खयर भारानी धार्मिक पर्यटकको केन्द्र बन्दै
अ+ अ-

बेनी । अन्नपूर्ण हिमाल र बराह शिखर हिमालको काखमा अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको प्रसिद्ध धार्मिकस्थल खयर भारानी क्षेत्र धार्मिक पर्यटकको केन्द्र बन्न थालेको छ । जनैपूर्णिमाको अवसरमा विशेष पूजाआजा हुने यस क्षेत्रमा अहिलेसम्मकै धेरै धार्मिक पर्यटक सहभागी भएका छन् ।

जिल्ला सदरमुकाम बेनी बजारदेखि तीन दिनको यात्रामा पुग्न सकिने यस धार्मिक स्थलमा पूजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । समुद्री सतहदेखि करिब चार हजार ७०० मिटर उचाइमा अवस्थित खयर भारानी थान र खयर तालमा पूजा र भाकल गर्नका लागि यस पटकको जनैपूर्णिमामा मात्रै ७०० भन्दा बढी भक्तजन सहभागी भएको खयर भारानी थान तथा क्षेत्र संरक्षण कोषका अध्यक्ष भीमबहादुर तिलिजा पुनले बताउनुभयो । उहाँका अनुसार यसवर्ष म्याग्दी, पर्वत, बागलुङ, कास्की, चितवन, नवलपरासी, काठमाडौँलगायत ठाउँबाटसमेत भक्तजनको यस स्थलमा उल्लेख्य सहभागिता थियो ।

खासगरी सन्तान प्राप्ति, रोकिएका काम अघि बढाउन र सु–स्वास्थ्यलगायजस्ता भाकल गर्नेहरु यहाँ आइपुग्ने गर्छन् । खयर भारानी थानमा पूजा र खयर तालमा भाकल गरेर बर मागेकाहरुले आफ्नो मनोकांक्षा पूरा भएपछि पनि भाकल गरेर बर मागे बमोजिमको पुनः पूजा गरी बर फिर्ता गर्ने चलन रहेको स्थानीय समाजसेवी राजु पुनले बताउनुभयो ।‘‘ सन्तान नभएका धेरैले यहाँ भाकल गरेपछि सन्तान पाउनुभएको छ, रोकिएका काम समाधान भएको भनेर धेरैले खुसी व्यक्त गर्नुभएको छ, त्यसैले हरेक वर्ष यहाँ आउने भक्तजनको सङ्ख्या बढ्दै गएको छ,’’ उहाँले भन्नुभयो ।

यहाँ वर्षौ पहिले भाकल गरेकाले आफ्नो मनोकांक्षा पूरा भएपछि पुनः पूजा र भाकल फिर्ताको लागि समेत आइपुग्ने गरेका थिए । खयर भारानीमा पुगेर भाकल गरेपछि मनोकांक्षा पूरा भएको तर पनि विविध कारणले २० वर्षपछि पुनः खयर भारानीमा पूजा गर्न आएको रघुगङ्गा गाउँपालिका–२ की निर्मला भण्डारीले बताउनुभयो । पोखरा फूलबारीबाट चार दिन लगाएर खयर भारानी पुग्नुभएका हितबहादुर गर्वुजाले आफ्नो छोराको लाहुरेमा भर्ती हुने सपना साकार होस् भनेर भाकल गरेको बताउनुभयो ।

‘‘धेरैलाई खयर भारानीले पु¥याउने गरेको कुरा सुने, छोराको सपना पूरा होस् भनेर यहाँ आएर भाकल गरेको छु, यहाँ आएका धेरैले आफ्नो मनोकांक्षा पूरा भएको अनुभव सुनाउनुभएको छ, भाकल पूरा भएपछि फेरि आउँछु’’–गर्वुजाले भन्नुभयो । विगतका दुई वर्षमा कोरोना महामारीका कारण भाकल गर्न र भाकल पूरा भएपछि बर फिर्ता गर्न नपाएका कारण यसवर्ष उल्लेख्य रुपमा भक्तजनको आगमन भएको कोषले जनाएको छ ।

पहाड र जङ्गलको बाटो हुँदै हिमालको फेदीमा रहेको खयर भारानी थान र खयर तालमा पुग्न पछिल्लो समय पाउद्धारदेखि खोप्रा–खयरखोला हुँदै खयरलेकसम्म नै पदमार्ग, चौतारा र खानेपानीको धारा निर्माण गरिएकाले भक्तजनलाई सहज भएको छ । पाउद्वार–खोप्रा–खयरखोला हुँदै खयरलेकसम्मको करिब तीन दिनको पदयात्राको बाटोमा समुदायकै अग्रसरता र लगानीमा पदमार्ग, चौतारा र खानेपानीको धारालगायत पूर्वाधार निर्माण गरिएको छ । भक्तजनको सुविधाका लागि खयर भारानी थान तथा क्षेत्र संरक्षण कोषले खोप्रा र खयरखोलामा अस्थायी आवासगृहसहित खाना र खाजाकोसमेत बन्दोबस्त मिलाएको कोषका व्यवस्थापन संयोजक मीनबहादुर तिलिजा पुनले बताउनुभयो ।

‘‘हिमालको काखमा रहेको थानमा पुग्न हिजोका दिनमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो, अहिले अधिकांश जोखिमयुक्त ठाउँमा पदमार्ग बनिसकेको छ, बाँकी ठाउँमा पनि पदमार्ग बनाउने योजना अघि बढिरहेको छ, जनैपूर्णिमामा मात्रै नभएर अन्य समयमा समेत भक्तजन र पर्यटक यस क्षेत्रमा आउने प्रचलन बढिरहेको छ, खयरलाई धार्मिक पर्यटनको केन्द्र बनाउने अभियानले सार्थकता पाउँदै गएको छ’’–उहाँले भन्नुभयो । आँखै अगाडि देखिने हिमाल, डाँडाकाँडा र हिमाली भू–बनोट खयर पदमार्गको थप आकर्षण हो ।

यस पदमार्गबाट अन्नपूर्ण, धौलागिरि, निलगिरि, बराह शिखर, गुर्जा, चुरेनलगायत हिमाललाई नजिकबाट अवलोकन गर्न सकिन्छ । मनोकांक्षा पूरा हुने र रमणीय प्राकृतिक सौन्दर्यमा घुमफिर र रमाउनका लागि हरेक वर्ष खयरक्षेत्र पुग्नेको सङ्ख्या बढ्दै गएको छ । रासस