२२ मंसिर २०८२, सोमबार
,
Latest
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै: अर्थविद् नरबहादुर थापा स्वास्थ्य बिमाः अब काभ्रेका आठ अस्पतालबाट सेवा एनपीएलमा आज खेल नहुने, भोलि पहिलो क्वालिफायर ओमानको कला प्रदर्शनी मस्कटमा सम्पन्न मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो तोरीबारीबीच चम्किने हिमशृंखला-फोटो फिचर वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘तथ्याङ्क विधेयक, २०७८’ पारित



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘तथ्याङ्क विधेयक, २०७८’ बहुमतले पारित गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट गृहमन्त्री बालकृष्ण खाडले राष्ट्रियसभाको सन्देश सहितको सो विधेयक आजको बैठकमा निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।

गृहमन्त्री बालकृष्ण खाडले ऐनलाई समय सान्दर्भिक बनाउन र तथ्याङ्कसम्बन्धी आवश्यकता पूरा गर्न विधेयक अघि बढाइएको बताउनुभयो । तथ्याङ्क सङ्कलन गर्नु सरकारको दायित्व रहेको र देशभरका हरेक विषयको तथ्याङ्क सङ्कलन र उपयोग गर्न पनि यसले सहयोग गर्ने उहाँको भनाइ छ ।

सरकारले नागरिकले खोजी गरेको विवरण उपलब्ध गराउनुपर्ने उहाँले बताउनुभयो । तथ्याङ्कको विद्युतीय अभिलेख राखिनुपर्ने अहिलेको आवश्यकता भएको पनि उहाँको भनाइ छ । तथ्याङ्क विभागको कार्यालय ३३ जिल्लामा रहेको र ७७ जिल्ला हेर्नुपर्ने हुँदा सबै जिल्लामा कार्यालय विस्तार गर्ने र कर्मचारीको क्षमता अभिवृद्धि गराउन आवश्यक हुने उहाँले औँल्याउनुभयो । उहाँले भन्नुभयो, “अहिले छलफलका क्रममा आएका संशोधनका विषय नियमावलीमा समेटिनेछ ।”

संशोधनकर्ता सांसद प्रेम सुवालले नेपालको इन्जिनियरिङ कलेजलाई सफ्टवेयर विकास गर्न दिनुपर्ने र स्थानीय जनता र पालिकालाई तथ्याङ्क सङ्कलनमा जिम्मेवार बनाउँदा कति बेरोजगार छन्, उद्योग र कृषिको अवस्था के छ भनी थाहा हुने उल्लेख गर्नुभयो । संशोधनकर्ता सांसद विद्या भट्टराईले बहुपक्षीय संस्थाले सरकारसँग नेपालमा थाहा नदिई वा स्वीकृति नलिइ तथ्याङ्क लिइरहेको र त्यसो गर्दा स्वाधीनता कमजोर हुने हुँदा स्वीकृति लिनुपर्ने व्यवस्था गर्नुपर्ने औँल्याउनुभयो ।

छलफलमा सहभागी हुँदै सांसद कुमारी तुल्सी थापाले सही लेखाजोखा राख्न सकिएन भने सही मूल्याङ्कन हुन नसक्ने हुँदा कसरी राख्ने भनी ध्यान दिनुपर्ने बताउनुभयो । सांसद खगराज अधिकारीले विधेयकले तथ्याङ्कको विश्वस्तरको मान्यता, शुद्धता, गोपनीयताको विषयलाई समेत ध्यान दिनुपर्ने बताउनुभयो ।

सांसद नवराज सिलवालले देशको सामाजिक, आर्थिकलगायतको विकास कसरी गर्ने भन्ने कुरा तथ्याङ्कबिना सम्भव नरहेकाले तथ्याङ्कलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो । सांसद चाँदतारा कुमारीले अल्पङ्ख्यक समुदायका लागि कानुन बनाउन वा पैरवी गर्नका लागि तथ्याङ्क आवश्यक रहेको बताउनुभयो । सांसद दिव्यमणि राजभण्डारीले विधेयकमा परिषद्को कल्पना गरेको र त्यसले आफैँले निर्णय गर्नसक्ने हुँदा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति बनाउन सक्ने बताउनुभयो ।